
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षक पेशाप्रति मानिसहरूको अरुचिका कारण नेपालको शिक्षामा सुधार हुन नसकेको बताएका छन् ।
बुधवार काठमाडौंमा आयोजित सिकाइ आदानप्रदान तथा आगामी कार्यदिशा सम्बन्धी राष्ट्रिय परामर्शशालालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले शिक्षक पेशाप्रतिको अरुचिका कारण सरकारी विद्यालयको पढाइ कमजोर भएको बताए ।
कुनै पनि व्यक्तिले आफ्नो पढाइ सकिएपछि अन्त कतै रोजगारी नपाए मात्रै शिक्षक पेशा रोज्ने प्रवृत्तिका कारण गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिएको उनले बताए । उनले शिक्षक पेशामा आउनेहरू पनि अन्यत्र जागिर पाउने वित्तिकै जाने प्रवृत्तिले बालबालिकाको भविष्यमाथि चिन्ता लिने शिक्षक पाउनै नसकिएको बताए ।
‘हामीहरू राम्रो पढेर पास भएपछि राम्रो जागिर खोज्ने, कहीँकतै जागिर नपाइसकेपछि अनि शिक्षण पेशामा आउने । शिक्षण पेशामा आएर पनि एउटा खुट्टा स्कूलमा र अर्को खुट्टाले जागिरको खोजीमा, जुन दिन जागिर प्राप्त हुन्छ फुत्तै छोडेर हिँडिदिने, त्यो स्कूलको बच्चाको भविष्यको बारेमा चिन्ता नलिइदिने, त्यो स्कूलको बच्चाहरू मुलुकका भविष्यका कर्णधार जसको भविष्यसँग मुलुकको भविष्य गासिँएको छ, त्यसबारे हामी कति गम्भीर बन्छौं र चिन्तित बन्छौैं ?’ उनले भने ।
विकसित मुलुकका नागरिकको आकर्षण सरकारी विद्यालयमा हुने तर नेपालमा सरकारी विद्यालयमा आर्थिक रूपमा विपन्न, निम्न आयस्रोत भएका, असहाय, अनाथ, आर्थिक रूपमा विपन्न, दलित वर्गले मात्रै पढ्न आउने गरेको उनले बताए । सरकार बेरोजगार उत्पादन गर्ने शिक्षा नहोस् भन्नेतर्फ सचेत रहेको पनि मन्त्री श्रेष्ठले बताए ।