
नशालु पदार्थ मिसिएको पेय पदार्थ खुवाएर सर्वसाधारणलाई बेहोस बनाई सुनका गरगहना, नगद र मोबाइल लुट्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अनुसन्धानका क्रममा उनीहरू काभ्रे र तनहुँमा भएका श्रृंखलाबद्ध लुटपाटका घटनामा समेत संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार असार १ गते बिहान करिब ३:४० बजे काभ्रेको बनेपा नगरपालिका–५ स्थित रविओपी बसपार्क अगाडि धुलिखेल नगरपालिका–१ निवासी ५२ वर्षीया निरकुमारी घोरासैने बेहोस अवस्थामा फेला परेकी थिइन् । स्थानीयले उनको उद्धार गरी शिर मेमोरियल अस्पताल पुर्याएपछि घटनाको अनुसन्धान शुरू गरिएको थियो ।
इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी नायब उपरीक्षक राकेश थापाको नेतृत्वमा खटिएको टोलीले घटनास्थल आसपासका सीसीटीभी फुटेज विश्लेषण गर्दा दुई जनाले मोटरसाइकल प्रयोग गरी पीडितलाई बैंक देखाइदिने बहानामा झुक्याएको, फ्रुटीमा नशालु पदार्थ मिसाएर खुवाएको र बेहोस भएपछि उनले लगाएका सुनका गरगहना, नगद तथा मोबाइल लुटपाट गरेको पाइएको हो ।
अनुसन्धानका क्रममा असार ७ गते बुद्धकुमार श्रेष्ठलाई घटनामा प्रयोग भएको बा ९१ प ६७५३ नम्बरको पल्सर मोटरसाइकलसहित बनेपाबाट पक्राउ गरिएको थियो । उनको बयानका आधारमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ निवासी ५३ वर्षीय केदार श्रेष्ठको संलग्नता खुलेपछि उनलाई असार ११ गते भक्तपुरको मध्यपुरठिमीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लुटिएका सुनका गरगहना भक्तपुरस्थित जय शिव शक्ति ज्वेलर्समा बिक्री गरेको खुलेपछि प्रहरीले पसलमा खानतलासी गर्दा गलाइसकिएको सुन बरामद गरेको छ । सोही आरोपमा दोलखाको बिगु गाउँपालिका–४ निवासी ४६ वर्षीय पसल सञ्चालक नवराज घिमिरे (विक) पनि पक्राउ परेका छन् ।
अनुसन्धानका क्रममा पक्राउ परेका बुद्धकुमार श्रेष्ठ र केदार श्रेष्ठ अन्य लुटपाट घटनामा पनि संलग्न रहेको खुलेको छ । वैशाख ७ गते बनेपामा ६९ वर्षीय उदयनारायण तिमल्सिनालाई बैंक देखाइदिने बहानामा नशालु पदार्थ मिसिएको फेन्टा खुवाएर ७० हजार रुपैयाँ र सुनको औँठी लुटिएको घटनामा उनीहरूको संलग्नता रहेको प्रहरीले जनाएको छ । उक्त औँठी गलाइसकिएको अवस्थामा नवराज घिमिरेको सुन पसलबाट बरामद गरिएको छ ।
यस्तै, जेठ २९ गते तनहुँको बन्दीपुर गाउँपालिकामा ७२ वर्षीया रेणुकादेवी कामी र जेठ ८ गते व्यास नगरपालिका–१ मा ५५ वर्षीया श्रीमाया आलेलाई नशालु पदार्थ मिसिएको पेय पदार्थ खुवाएर सुनका गरगहना लुटिएको घटनामा पनि उनीहरूको संलग्नता खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बुद्धकुमार श्रेष्ठ यसअघि पनि २०६५ सालमा पाल्पामा नशालु पदार्थ खुवाएर लुटपाट गरेको मुद्दामा दोषी ठहर भई पाँच वर्षभन्दा बढी कैद सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् ।
केदार श्रेष्ठ पनि अभद्र व्यवहार तथा जुवासम्बन्धी मुद्दामा यसअघि पक्राउ परिसकेका व्यक्ति रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
डीएसपी थापाका अनुसार पेय पदार्थमा नशालु पदार्थ मिसाएर लुट्ने यो गिरोह पक्राउ गर्न दर्जनबढी सीसीटीभी हेरिएको थियो ।
शंकास्पद दुई जना देखिएपछि उनीहरूलाई फलो गरेको थापाले बताए । उनले भने, ‘जब मोटरसाइकल र हुलिया खुल्यो, तब यो गिरोह पक्राउ गर्न प्रहरीलाई सजिलो भयो ।’
पक्राउ परेका तीनै जनाविरुद्ध जिल्ला अदालत काभ्रेबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हेर्नुहोस्, भिडियो: