१५ असार २०८३, सोमबार

कोरोना फैलिन नदिन नेपालगञ्जका विद्यालय १ हप्ता बन्द

बैशाख २, २०७८
कोरोना फैलिन नदिन नेपालगञ्जका विद्यालय १ हप्ता बन्द

कोरोना भाइरस संक्रमण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकामा शुक्रवारदेखि शैक्षिक संस्था बन्द हुने भएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बिहीवार बसेको बैठकले नेपालगञ्जमा पछिल्लो समय कोभिड संक्रमण उच्चगतिमा बढेपछि उपमहानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था १ हप्ताका लागि बन्द गर्ने निर्णय गरेको उपप्रमुख उमा थापामगरले जानकारी दिइन् ।

नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्दका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ । बैठकले भारतबाट आउनेहरूको सीमानाका जमुनाहमा स्वास्थ्य परीक्षण तथा एन्टिजेन परीक्षणका लागि थप कडाइ गर्ने निर्णय गरेको छ ।

मास्क अनिवार्य लगाउनेलगायत स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्दै बैठकले बजार अनुगमनलाई पनि कडाइ गर्ने निर्णय भएको छ । मास्क नलगाई कारोबार गर्ने पसल व्यवसाय कम्तीमा १ हप्ताका लागि बन्द गर्ने निर्णय समितिको छ । घरबाहिर मास्क नलगाई आवागमन गर्नेलाई कारवाही गर्न बैठकले माग गरेको छ ।

कोरोना भाइरस संक्रमण तीव्रगतिमा फैलिएपछि मास्क नलगाई सडकमा निस्कनेलाई मास्क अनिवार्य प्रयोग गर्न लगाउन आग्रह गरिएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । छिमेकी मुलुक भारतमा तीव्ररूपमा संक्रमण बढेकाले त्यसको प्रत्यक्ष असर बाँकेमा परेको छ ।

कोरोना संक्रमणदर अस्वाभाविकरूपमा बढे पनि स्वास्थ्यका मापदण्ड कार्यान्वयनमा बेवास्थाका कारण विगतमा जस्तै फेरि बाँके कोरोना संक्रमणको केन्द्रविन्दु बनेको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सरोकारवाला सबैसँग बैठक गरी कोरोना संक्रमणविरुद्ध सबै एक भएर अभियान सञ्चालन गरिने बताए । ‘म आज मात्रै जिल्लामा आएको छु, आजै नेपालगञ्ज उपमहानगरपालिका संक्रमण रोकथामका लागि आवश्यक छलफल गर्न बैठक गर्दैछौं,’ प्रमुख जिल्ला अधिकारी गेलालले भने, ‘भोलिसम्म सबै स्थानीय तहसँग आवश्यक छलफल गरी आइसोलेसन र क्वारेन्टीन सञ्चालनका विषयमा निर्णय हुनेछ ।’

salt training

कमेन्ट गर्नुहोस्