
धरहराको उद्घाटनसँगै २०७२ सालमा गएको विनाशकारी भूकम्पले गरेका क्षतिको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
राजधानी काठमाडौं उपत्यकाको ‘शान’को प्रतीकका रूपमा रहेको नवनिर्मित धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार उद्घाटन गरे ।
प्रधानमन्त्री ओलीको शब्दमा पुरानो सभ्यता झल्किने र आधुनिकता टल्किने धरहरा निर्माणले एक प्रकारको उत्साह पैदा गरेको छ ।
आमसर्वसाधारणले धरहराको दृष्यावलोकन गर्न अरू केही समय कुर्नुपर्नेछ । तर काठमाडौंको बीचमा ठडिएको धरहराले राजधानीको सुन्दरता त अवश्य नै बढाएको छ ।
धरहरा, रानीपोखरी, सिंहदरबार र मठ मन्दिर काठमाडौं उपत्यकामा भूकम्पले क्षति गरेका मुख्य संरचना हुन् ।
पुनर्निर्माण भएको रानीपोखरी यसअघि नै उद्घाटन भइसकेको छ भने प्रमुख प्रशासनिक निकाय सिंहदरबार सबलीकरणमार्फत सञ्चालनमा आइसकेको छ ।
भूकम्पपछि भत्किएका निजी आवास निर्माणको काम ९३ प्रतिशत पूरा भएको छ ।
प्राधिकरणको कार्यकारी अधिकृतमा सुशील ज्ञवालीको पुनर्नियुक्तिपछि पुनर्निर्माणको कामले गति लियो । सरकारका नियमित र महत्त्वपूर्ण आयोजना बन्न दशकौं लाग्ने गरेको हामीले देख्दै आएका छौं ।
सशस्त्र द्वन्द्वको समयमा क्षति भएका कतिपय संरचना डेढ दशक बित्न लाग्दा समेत बनिसकेका छैनन् । त्यो बेथितिलाई चिर्दै पुनर्निर्माणको काम समयमै सम्पन्न हुनु खुशीको कुरा हो । भूकम्पपछिको पुनर्निर्माणमा भएको प्रगति नेपालका विकास साझेदार र दातृ निकायका लागि पनि एउटा सुखद् सन्देश हो ।
पुनर्निर्माण प्राधिकरणमा शुरूमा ज्ञवालीलाई नियुक्त गरिएपनि सरकार फेरबदल भएपछि कार्यकारी अधिकृत फेरिए । प्राधिकरणमा राजनीति नभएको भए पुनर्निर्माणको काम दुई वर्षअगाडि नै सम्पन्न हुने थियो ।
भत्किएका संरचना यसअघि नै सम्पन्न भइसकेका हुन्थे । जेहोस्, ढिलै भएपनि पुनर्निर्माणको काम एकप्रकारले सम्पन्न भएको छ ।
एक जना कुशल व्यक्तिलाई सही ठाउँमा नियुक्त गर्दा त्यसले कति प्रभाव पार्छ भन्ने ज्वलन्त उदाहरण कुलमान घिसिङ पनि हुन् ।
भएको बिजुली र स्रोत साधनलाई सदुपयोग गरेर कुलमानले नेपालको लोडसेडिङ अन्त्य गराएर आफूलाई अब्बल साबित गरेका थिए ।
अहिले ज्ञवालीले पुनर्निर्माणको काम समयमै फत्ते गरेर देशलाई गुन लगाएका छन् । पुनर्निर्माणमा खटिने बाहिर देखिएका र बाहिर नदेखिएका सबै नायक धन्यवादको पात्र छन् । भत्किएका संरचनाको पुनर्निर्माणका लागि चासो र अग्रसरता दिने एवं सही व्यक्तिलाई प्राधिकरणको नेतृत्वमा लैजाने प्रधानमन्त्री अोली धन्यवादका विशेष पात्र छन् ।