०३ असार २०८३, बुधबार

गण्डकी प्रदेश सभा अपडेट : 'हराएका' जनमोर्चा सांसद अस्पतालको वार्डमा भेटिएपछि...

पोजेटिभ भएको रिपोर्ट लिएर आएपछि भर्ना गरेका हौं– अस्पतालका प्रबन्ध निर्देशक पोखरेल
बैशाख १५, २०७८
गण्डकी प्रदेश सभा अपडेट : 'हराएका' जनमोर्चा सांसद अस्पतालको वार्डमा भेटिएपछि...

गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमा मतविभाजन हुने दिन हराएका भनिएका जनमोर्चाका सांसद खिमविक्रम शाहीको चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको पुष्टि भएको छ ।

अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले सांसद शाहीको कोभिड वार्डमा उपचार भइरहेको पुष्टि गरे । 

उनले भने, ‘उहाँ (सांसद शाही) आज बिहान ८ बजे कोभिड पोजेटिभ भएको रिपोर्ट लिएर अस्पताल आउनुभएको थियो । त्यसैले हामीहरुले कोभिड वार्डमा भर्ना गरेका राखेका हौं । बिरामी आएपछि हाम्रो धर्म उपचार गर्नु हो ।’

पोखरेलका अनुसार शाहीले पोखरा न्यूरोडस्थित लाइफ केयर डाइग्नोस्टिकमा पीसीआर चेक गरेको र पोजेटिभ केस देखिएको रिपोर्ट लिएर आएका थिए ।

सांसद शाहीलाई उनका भाइले रेखदेख गरिराखेका छन् । स्वास्थ्य अवस्था सामान्य छ । 

चरकमै कांग्रेस सांसद मनकुमारी गुरुङको पनि उपचार भइरहेको छ । 

अस्पतालमा हाल २ सांसद सहित सर्वसाधारण गरी ३२ जना कोरोना संक्रमितको उपचार भइरहेको पोखरेलले बताए ।

अब कम्तीमा १४ दिनसम्म कोभिड वार्डमा राखेर उपचार गर्नुपर्ने अस्पतालले जनाएको छ । चरक अस्पताल पोखरा ८, नागढुंगा (पोखरा एयरपोर्ट नजिकै) मा पर्दछ । 

शाही गत उपनिर्वाचनमा बागलुङ जिल्लाबाट निर्वाचित भएका थिए । 

जनमोर्चाले आफ्ना सांसदको अवस्था अज्ञात रहेको र अवस्था ज्ञात नहुँदासम्म संसदको कारबाही संचालन गर्न नहुने व्यहोरा सहित प्रदेशसभा सचिवालयमा निवेदन दिएपछि आजको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्