कोरोनाभाइरस (कोभिड– १९) संक्रमण बढेसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । यतिबेला अत्यावश्यकबाहेक सबै काम ठप्प छन् । मानिसहरू घरभित्रै बस्न बाध्य छन् ।
निषेधाज्ञासँगै धेरैको रोजगारी गुमेको छ । रोजगारी गुमेसँगै दैनिक ज्याला मजदुरी गरेर खाने मजदुरहरू थप समस्यामा परेका छन् ।
यस्तैमा हामीले सडकमा झोला बोकेर हस्याङ्फस्याङ गर्दै हिँडिरहेका एक मजदुरलाई देख्यौं र थोरै कुराकानी पनि गर्यौं ।
निषेधाज्ञा जारी हुनअघि उनी गाडी चढेर काम गर्न जान्थे । निषेधाज्ञापछि हिँड्दै जाने–आउने गर्छन् । मजदुरी गर्नकै लागि उनलाई बिहान–साँझ चार घण्टा पैदल हिँड्नु पर्छ ।
उनले ज्याला मजदुरी गर्न लागेको ७ वर्ष भयो । यसरी नै ४ जनाको परिवार पाल्दै आएका छन् । उनको काम लामो समयसम्म निरन्तर चलिरहेको थियो ।
जब कोरोना संक्रमण फैलियो, तब उनको काम रोकिन थाल्यो । उनलाई अहिले काम चलेन भने जीवन कसरी चलाउने भन्ने पीर छ ।
गत वर्ष लकडाउन हुँदा पनि उनी ३ महिना घरभित्रै बसे । ऋण खोजेर परिवारको खर्च चलाए । तर, अहिलेको निषेधाज्ञामा भने उनी काम चलेसम्म घर नबस्ने बताउँछन् ।
उनलाई सरकारले सहयोग गर्ला भन्ने अलिकति पनि लाग्दैन । सरकारप्रति कुनै विश्वास पनि छैन । लाखौं मजदुरका प्रतिनिधि पात्र हुन्, उनी ।
कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेपनि मजदुरलगायत विपन्न परिवारका लागि सरकारले कुनै योजना ल्याएको छैन ।
यसतर्फ पनि सरकारको ध्यान जान जरुरी छ ।
हेर्नुहोस्, भिडियो :