
कविता: कविको बयान
जतिबेला मेरो कल्पनाको महासागरमा
उठे शब्दका लाखौं ज्वारभाटाहरु
हो त्यतिबेला मैले बदमासी गरेकै हो
अन्जानमा होइन जानीजानी हो
बिना छलकपट हो,लुकेर हैन खुलेआम हो
सत्उद्देश्यले हो सहिसलामत हो
चोरेकै हो मैले लुटेकै हो
मलाई माया गर्ने र सम्मान गर्ने
मेरा प्रिय पाठकहरूको
हजारौं घन्टा समय चोरेको हो
मैले निद्रा, तीर्खा र भोक लुटेकै हो
मैले लुट्नै पर्थ्यो, चोर्नै पर्थ्यो
नत्र म नरहन सक्ने कविको रुपमा जीवित
मैले चोरी गरें आफू बाँच्न
मैले लुटेकै हो डाका गरेकै हो
मेरो भावना दोषी छ
र मेरो कला र कलम दोषी छ।
बर्षे झरीमा तप्प-तप्प चुहिने छानाको पानी
कागजमा थापेर बनाएँ कविता
जाडोले कठाङ्ग्रिएका हजारौ देहको
बाध्यता नियालेर गीत लेखें
बसन्तमा कोइलीको भाका चोरेर
अर्को गीत बनाएँ
मरुभूमि जस्ता मनहरू सुटुक्क बन्धकी लिएर
प्रेम र भावनाको बिज रोपें,फुलाएँ र फलाएँ
सेतो हिमालको सौम्यता चोरेर
नानाभाँती शब्दहरुमा उतारें
र अनधिकृत कलाकारिता गरे
त्यसैले म कवि नभएर चोर भएँ।
मैले आफै जन्माएका सयौं पात्रहरु मध्ये
कतिलाई नायक त कतिलाई खलनायक बनाइदिएँ कतिको गरिदिएँ अल्पायुमै हत्या
कतिको मर्ममा शब्दका हथौडाले
निसन्देह प्रहार गरें
कतिको सुन्दर जवानी ध्वस्त पारिदिएँ
कतिको गराइदिएँ बाल विवाह र अनमेल विवाह
अलपत्र पारिदिएँ बीच जंगलमा कतिलाई
उडाइदिएँ बन्दुकको नालबाट
लडाइदिएँ भीरबाट र बनाइदिए सहिद
कति तिनै पात्रहरु प्रति बनें उदास
त्यसैले यही हो प्रमाण,
कति मसीको विषले त कति कलमको धारले
धेरै पात्रहरु नामेट भए यसै गरि
त्यसैले त म भन्दैछु म हत्यारा हो, म अपराधी हो।
लेकबेंसी गर्ने कति प्रेयसीहरूको मन चोरेर
लेखें सयौं पाना लामो कहानी
बाँझा सुक्खा गराहरु को दृश्य चोरेर
पोखें अधैर्य किसानका गाथा
डढेका बस्तीहरुका कहानी चोरेर
सजाएँ सृजनाका करेसाहरु
छितीजको इन्द्रेणीको सातै रङ्ग चोरेर
रंगाएँ आफ्नो हृदयको पहाड
रंगीचंगी फूलहरूको सौन्दर्य चोरेर
रंगाएँ मैलो कागजका पानाहरु
हो मैले बिगारेकै हो दुनियालाई
जो मेरो कविताको लागि हुरुक्क हुन्थे
पर्खन्थे दिन गनेर हप्तौंसम्म, महिनौंसम्म
तर के थाहा बिचरा हरु लाई !
कति सफेद कागजमाथि खेलें
शब्दको अश्लील खेल
म जेसुकै चोरेर लुटेर मात्र
पस्किन सक्छु उनीहरूको अगाडि
म वास्तवमा कंगाल हुँ आफ्नो केही नभएको।
आफ्नो भावनाको उर्लिएको बाढीलाई
मसीको तारले जाली बुन्छु र
छेक्छु सयौं पाना कागजको बाँध बाँधेर
हो,मैले दुनियाँका आँसु सापटी लिएँ
रमाएँ आफ्ना शव्दहरुको चमत्कार देखेर
तर त्यसले त झन् बनाएछ ठूलो आँसुको भेल
हरेकको दिमागमा मच्चाइदिएछ हलचल
र कतै ढलाइदिएछ आशाको धरहरा
लडाइदिएछ विश्वासको स्तम्भ
गराइदिएछ विछोड सयौं श्वप्निल मनहरुको।
हजारौं मुटुका व्यथाहरू चोरेर
सजाएँ आफ्ना कृतिका सयौं पानाहरु
यसरी नै हरेकथोक चोरेर आफू
धनी हुन खोज्दैछु,महान् बन्न खोज्दैछु
हजारौं शुभचिन्तकहरुको आयु चोरेर
सजाउँदै आफ्ना रचनाका सुन्दर कहानीहरु
आफू जीवन्त हुन खोज्दैछु,
यस्ता अरु पनि धेरै छन्
मेराअपराधका शृङ्खलाहरू
त्यसैले,मलाई पक्रनुहोस्,हतकडी लगाउनुहोस्
कठघरामा उभ्याएर फैसला गराउनुहोस् जन्मकैदको
र आजीवन पठाइदिनुहोस् कारावास ।
✍️रामचन्द्र अधिकारी, झापा