
सामाजिक सञ्जाल आधुनिक समयमा युवा पुस्ताको जीवनको अभिन्न अंग बनेको छ । अझ भनौं यो नशा नै बनिसकेको छ ।
भारतको गुजरातमा रहेको सूरतमा १३ वर्षका एक किशोरले सामाजिक सञ्जालमा भिडियो अप्लोड गर्न नपाएपछि आत्महत्या गरेको खबर छ ।
ती किशोर स्टन्ट र डान्स भिडियो बनाएर यूट्युब लगायत भिडियो वेबसाइटमा अप्लोड गर्ने गर्थे । तर किशोरकी आमाले फोन खोसेपछि रिसाएर उनी घरमै डोरीमा झुण्डिए ।
एक कारखानाका मालिक अश्विनका छोरा मीतको शव उनकै कोठामा फेला परेको छ । मीत आठ कक्षामा पढ्थे र नाच, बक्सिङ तथा स्टन्टका भिडियोहरू अप्लोड गर्ने गर्थे ।
उनका भिडियो भाइरल हुने गरेका थिए ।
मंगलवार बेलुका मीत आफ्नो कोठाबाट लामो समय बाहिर निस्केनन् । उनकी बहिनी कोठामा हेर्न जाँदा उनी पाँच फीटमाथि रहेको ठूलो कीलामा कपडाको डोरी बाँधेर झुण्डेको अवस्थामा फेला पारिन् ।
उनलाई तत्कालै डायमन्ड अस्पताल लगियो । त्यहाँ उपस्थित चिकित्सकहरूले उनलाई मृत घोषित गरे ।
लकडाउनका बेलामा अन्लाइन क्लास लिनका लागि उनलाई नयाँ मोबाइल किनेर आमाबुवाले दिएका थिए । तर उनी पढ्नुको साटो भिडियो बनाइबस्थे । त्यसैले आमाले मोबाइल खोसेकी थिइन् ।