०२ असार २०८३, मंगलबार
कोरोना कहर

कोरोनासँग लड्न मैदानमा होमिएकी यी २२ वर्षीया अनिशा, अहिले डरलाई जितिसकिन्

जेठ ८, २०७८
कोरोनासँग लड्न मैदानमा होमिएकी यी २२ वर्षीया अनिशा, अहिले डरलाई जितिसकिन्

अघिल्लो हप्ता मंगलवार अनिशा अस्पतालको चौरमै एक्कासि ढलिन् । कोभिड वार्डको आइसोलेसनमा उपचाररत बिरामीको रगत लिइसकेपछि जब पीपीई खोलेकी थिइन्, उनी बेहोस बनिन् ।

सहकर्मीहरूले तत्कालै पानी खुवाएर शीतल ठाउँमा लगे । केही समयमै उनको होस खुल्यो । 

कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलनमा दिनहुँ व्यस्त हुने तिनै अनिशा हुन्, जो आफैं तेस्रो पटक स्वाब दिएर बसेकी छन् । भन्छिन्, ‘सँगै काम गर्ने साथीको रिपोर्ट पोजेटिभ आएपछि मैले पनि स्वाब दिएकी छु, रिपोर्ट नेगेटिभ आएपछि काममै फर्किने हो ।’ 

पोखरा ड्यामसाइडकी अनिशा पौडेल भर्खरै मात्र २२ वर्ष टेकिन् । उनी ल्याब टेक्निसियन हुन् । कोरोना संक्रमितसँग प्रत्यक्ष ‘टच’ भई सेवामा निरन्तर खटिने गरेकी छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोरोना ल्याबमा कोरोना परीक्षण गर्न आउनेहरूको दिनहुँ स्वाब संकलन गर्ने गर्छिन् उनी । उनले काम थालेको बल्ल ६ महिना भयो । अस्पतालमा दिनहुँ झण्डै १०० जनाको स्वाब संकलन गर्नुपर्छ ।

उनीसहित २ जनाले पीपीईको भरमा स्वाब संकलन गर्छन् । उनको भागमा आधाजसो पर्छ । शनिवार एवं सार्वजनिक बिदामा पनि उनको बिदा हुन्न । सानै उमेरमा पनि यसरी दिनहुँमा ४०–५० जनाको हाराहारीमा स्वाब संकलन गर्ने अनिशाले हालसम्म करीब ७ हजार जनाको स्वाब लिइसकेको बताइन् । 

लोकान्तरसँगको कुराकानीमा उनले भनिन्, ‘मैले मात्रै दैनिक ४०–५० हाराहारीमा स्वाब लिनुपर्छ । अहिलेसम्म लिइए होला नि ७ हजार जना जतिको ।’ 

त्यति मात्र होइन, आइसोलेसन वार्डमा उपचार गराइरहेका बिरामीको दैनिक रगत लिने काम पनि उनकै हो । पीपीई लगाएर घण्टौंसम्म आइसोलेसनमा छिर्दा असिन–पसिन हुने गरेको उनको तीतो अनुभव छ ।

आइसोलेसनबाट फर्केर पीपीई फुकाल्ने बेलामा उनी गत हप्ता ढलेकी रहेछन् । घण्टौंसम्म पीपीई लगाएर ड्युटीमा खटिनुपर्दा शरीर असिन–पसिन हुन्छ ।

विश्वभर महामारीको रूप लिएको कोरोना भाइरसको जोखिमबीच काम गर्दा डर लाग्दैन भन्ने जिज्ञासामा पौडेल सहजै उत्तर दिन्छिन्, ‘जोखिम त छ नि ! हाम्रो समस्याभन्दा पनि बिरामीको समस्या ठूलो लाग्छ । कसैको जीवन बचाउने काम आफैंमा कल्याणकारी हो ।’  

उनको ड्यूटी बिहान १० बजेदेखि शुरू हुन्छ । बिहान १०–११ बजेसम्म कोरोनाको स्वाब दिन आउनेहरूको नामावली उतारेपछि उनी पीपीईसहित आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर सहकर्मीसँग स्वाब संकलनमा जुट्छिन् । स्वाब दिन आउने कोही–कोहीले त कति फुच्ची नानी रैछिन् भन्दा रहेछन् । उमेरले सानै भए पनि पढाइमा अब्बल उनले आफूलाई बिस्तारै परिपक्व बनाउँदै लगेकी छन् । १–२ घण्टामा स्वाब संकलन कार्य सकिँदो रहेछ ।

जिम्मेवारीपूर्वक स्वाब लिइसकेपछि केही समय नजिकैको कोभिड वार्डमा छिर्छिन् उनी । कोभिड वार्डमा हाल ५५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । संक्रमितमा रगतको मात्रा, के कस्तो छ भन्ने जान्न रगत जाँच गर्नुपर्छ उनले । स्वाब संकलनभन्दा पनि आइसोलेसन वार्डमा छिर्दा अलि डर लाग्छ ।

‘शुरूशुरूमा के हुने होला भन्ने लाथ्यो, अहिले त बानी परिसक्यो,’ उनले भनिन् । साँझ परेपछि उनको ड्युटी सकिन्छ । अनि घर फर्किन्छिन् ।

पहिले–पहिले छिमेकीले नराम्रो नजरले हेर्थे रे ! अहिले अलि बुझ्ने भएका उनको अनुभव छ । घरमा उनी आइसोलेसनमै रहन्छिन् । सूर्योदयसँगै उनको दिनचर्या फेरि शुरू हुन्छ ।

यसअघि दिएको स्वाब जाँचमा रिपोर्ट संयोगवश नेगेटिभ थियो । काम नियमित भयो ।  अहिले सहकर्मी नै पोजेटिभ देखिएपछि उनको पनि पोजेटिभ आउँछ कि भन्ने लागेको रहेछ । तैपनि लक्षण खासै नभएकाले उनी आशावादी छन् नियमित काममा फर्किनेमा ।  

पोखराको एलपी देवकोटा स्कूलबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्णपछि उनले प्लस टुमा विज्ञान संकाय पढिन् । आफूभन्दा ठूलाले बीएमएलटी (ब्याचलर अफ मेडिकल ल्याब्रोटरी टेक्नोलोजी) पढे राम्रो हुने सुझाएपछि ब्याचलरमा बीएमएलटी पढ्न पोखरा विश्वविद्यालय भर्ना भइन् । त्यहाँ पनि उनले प्रथम श्रेणीमा उत्तीर्ण भइन् । पढेर सकेपछि कामको खोजीमा थिइन् । त्यसैबेला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गत असोजमा ल्याब टेक्निसियनमा करार सेवामा १ जनाको भर्ना दरखास्त माग गर्‍यो । उनको नाम वैकल्पिकको पहिलो नम्बरमा पर्‍यो । प्रतिष्ठानले आवश्यकता बमोजिम वैकल्पिक पर्ने २ जनालाई बोलायो । अनिशासहित अर्की युवती अहिले यसरी कोरोना संक्रमणको महामारीबीच जोखिमपूर्ण काममै व्यस्त बनेका छन् । 

यतिधेरै जोखिमपूर्ण काम गर्दा पनि उनलाई सुख्खा तलबबाहेक अन्य कुनै पनि भत्ता सरकारले दिएको छैन । भन्छिन्, ‘काम रिस्क छ । तैपनि अहिलेसम्म हामीलाई कुनै भत्ता दिइएको छैन । भोलि बिहान कोरोना संक्रमण लागेर ज्यान तलमाथि भए कसैले हेर्दैन ।’  

घरका सदस्यले अहिलेको जोखिम देखेर काम छोड्न सल्लाह दिन्छन् रे ! तर उनी मान्दिनन् । भनिन्, ‘बुवाआमाले अब काम छोड्दा नि हुन्छ भन्नुहुन्छ । तर मलाई सेवामा खटिँदा खुशी लाग्छ ।’

परिवारमा उनका बुवाआमा र १ भाइ छन् । बुवा पूर्व शिक्षक हुन् । आमा गृहिणी । परिवारमा जेठो सन्तान भएकाले पनि उनलाई थोरबहुत घरपरिवारप्रति जिम्मेवारबोध छ । सानैमा नायिका बन्ने लक्ष्य थियो उनको ! मोडलिङसहित घुम्न, पढ्न रुचाउने अनिशाले हालै सम्पन्न एक व्यूटी पेजेन्टमा भाग लिएर ‘सबटाइटल’ समेत जितेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्