
राष्ट्रिय पुनः निर्माण प्राधिकरणले ओखलढुङ्गा–रुम्जाटार सडक प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । सिद्धिचरण नगरपालिका–११ रमाइलो डाँडा जिरो प्वाइन्टदेखि रुम्जाटार एयरपोर्ट गेटसम्मको ११ दशमलव १ किलो मिटर लम्बाइ र ७ मिटर चौडा सडक कालोपत्रेको काम सकेर प्राधिकरणले प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो ।
प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बीरबाबु गुरुङको प्रमुख आतिथ्यतामारुम्जाटारमा आयोजित कार्यक्रमबीच प्राधिकरणका जिल्ला आयोजना कार्यान्वयन इकाईले प्रदेश सरकारलाई उक्त आयोजना जिम्मा लगाएको हो ।
गत ३० डिसेम्बर २०१८ मा तामाङ कुमार जेभीले कालोपत्रेको सम्पूर्ण काम ३० मे २०१९ सम्ममा काम सक्नेगरि ठेक्का लिएको थियो । पटक पटक म्याद थप र स्थानीयको दवावपछि ठेकेदार कम्पनीले काम सकेको थियो ।
भूकम्प प्रभावित जिल्लामा सञ्चालित आपतकालीन भूकम्पीय सहयोग परियोजनाअन्तर्गत ओखलढुंगा–रुम्जाटार सडक कालेपत्रे गरिएको थियो । उक्त परियोजना अन्तरगत ओखलढुंगा–रामपुर–लप्सेफेदी सडक आयोजनाको काम चलिरहेको छ ।