कविता: युगको आह्वान

  • रामचन्द्र अधिकारी 

Advertisement

ए वीर दाजुभाइहरु हो !
वीराङ्गना दिदी बहिनीहरू हो !
भोलि यो धर्ती नब्युँझदै उठेर त्यो अन्धकार
पूर्व क्षितिजमा पोत्नुपर्छ चेतनाको लाली,
समयले पछि छोडेका दुर्गम बस्तीहरूमा
जलाउनुपर्छ प्रेम र समानताको दियो,
बाल्नुपर्छ एउटा अठोटको राँको,


Advertisement

अन्यायको सिरेटोले चिसिएका मनहरू एकाएक
सेकिनुपर्छ न्याय र सद्भावको न्यानोले,
निदाइरहेका पाखापखेरालाई अब
जगाउनुपर्छ राष्ट्रिय एकताका गीतहरूले,
बर्खा यामको पानीले मात्र हैन अब

यी सारा बाँझा खेतबारीहरू
सिँचिनुपर्छ तिम्रो हाम्रो पसिनाले,
धान, मकै, गहुँ र कोदो मात्र हैन
रोप्नुपर्छ आशा र भरोसाका बिउहरू,
पानीका मूल मात्र हैन यसपालीको झरीमा
विकासका मूल फुट्नुपर्छ गह्रागह्रामा,


Advertisement

चियाको मुनासँगै पलाउनुपर्छ जाँगरका मुना
अदुवा र यार्सागुम्बासँगै टुसाउनुपर्छ संभावना,
बाल्नुपर्छ लाखकरोड योगदानका बातीहरू

राष्ट्रनिर्माणको महायज्ञमा,
मिल्के र तीनजुरेसँग गुराँसको रङ 
लिनुपर्छ सापटी अनि रंगाउनुपर्छ
अब यी रंगहीन ओठहरूलाई,

बेलाबेलामा भुसको आगो झैँ सल्किएको
तराई र पहाडको असमझदारीको मुद्दालाई
हाम्रा हृदयका स्वच्छ न्यायलयबाट 
गराउनुपर्छ निस्पक्ष फैसला कसैको हार नहुने गरि,

सहकार्यका पुलहरू तरेर पार गर्नुपर्छ
अविश्वासका भेरी र कर्णालीहरू,
सहमतिका लाख सिँढीहरू चढेर धमाधम
नाघ्नुपर्छ अनिर्णयका पर्खालहरू,
तोड्नुपर्छ षड्यन्त्रका जालाहरू,
हटाउनुपर्छ भ्रमका रंगिन पर्दाहरू,
पन्छाउनुपर्छ आशंकाको कालो कुहिरो,
घन्काउनुपर्छ सम्वृद्धिका गगनभेदी नाराहरू,
फहराउनुपर्छ एकताका लालझण्डाहरू,
उभ्याउनुपर्छ संसारले नाप्न नसक्ने 
गौरवको अर्को सगरमाथा,

लेखाउनुपर्छ दुनियाँले पढेर नथाक्ने
स्वाभिमानको स्वर्णिम ईतिहास,
र छर्नुपर्छ पुन: बुद्धको शान्ति सन्देश ।

स्थापित गराउनुपर्छ विधिको शासन,
नामेट पार्नुपर्छ भ्रष्टाचारका दुष्ट काँडे लहराहरू,
मंसिरको धान र पराल जस्तै चुल्याउनुपर्छ
खलाखलामा विकास र सभ्यताका कुन्युहरू,
फुलाउनुपर्छ त्याग र समर्पणका सुगन्धित फूलहरू,
संसारलाई देखाउनुपर्छ परिवर्तनको ठूलो ऐना, र
जुट्नुपर्छ यो महाअभियान सफल पार्नको लागि सबै ।

एउटा कलम र कविले मात्र हैन 
सिङ्गो युगले यही आह्वान गरिरहेको छ ।

 

कमेन्ट गर्नुहोस्