३२ असार २०८३, बिहीबार
संकटमा एकता प्रयास

माधव नेपालको जवाफले संस्थापन पक्ष खिन्न, एमाले एकता जोगिन अब कति सम्भव ?

एकताका लागि प्रयास भने दुवै पक्षले अन्तिमसम्म जारी राख्ने
माधव नेपालको जवाफले संस्थापन पक्ष खिन्न, एमाले एकता जोगिन अब कति सम्भव ?

पार्टी एकता जोगाउन ‘एमालेलाई जेठ ३ पूर्वको अवस्थाबाट अगाडि बढाउन’ भन्दै प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले जेठ २३ गते राति ६ बुँदे प्रस्ताव अगाडि सारे ।

यसअघि जेठ २ मा फर्किने माधव नेपाल पक्षको शर्त अस्वीकार गर्दै आएका ओलीले पहिलोपटक ‘जेठ ३ पूर्वको अवस्था’मा फर्किन तयार रहेको जनाउ दिए ।

टुट्न लागेको एमालेको कडी ओलीको यो आह्वानपछि जोडिने धेरैको अपेक्षा र विश्लेषण थियो । 

तर, माधव नेपाल पक्षले ओलीको सो प्रस्तावालाई छलछाम र तिकडमको संज्ञा दिँदै उल्टै प्रश्नसहितको जवाफ पठायो ।

पार्टीलाई जेठ ३ पूर्वको अवस्था (तत्कालीन माओवादी केन्द्रसँगको एकता हुनुपूर्व २०७५ जेठ २ गते)मा फर्काउन कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता गर्नुपर्ने ओलीको शर्तलाई नेपाल पक्षले ठाडै अस्वीकार गर्‍यो । 

हस्ताक्षर फिर्ताका लागि अस्वीकार मात्र होइन, बरु ओलीले प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता गर्नुपर्ने लगायतका अरू शर्त थप्यो । 

‘असंवैधानिक ढंगले प्रतिनिधि सभा विघटन गरिएपछि त्यो रोक्नका लागि सर्वोच्चमा जानुपरेको हो, प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिए अदालतमा गरेको हस्ताक्षर फिर्ता गर्न आपत्ति छैन,’ नेपाल पक्षका स्थायी कमिटी सदस्य बेदुराम भुसालले लोकान्तरसँग भने । 

हस्ताक्षर फिर्ता नलिने स्पष्ट अडानसहित खनाल–नेपाल पक्षले हिजो जवाफ पठाएको थियो । 

सोमवार राति खनाल–नेपाल पक्षले पठाएको जवाफपछि एमाले एकता जोगाउन लागिपरेकाहरू निराश देखिएका छन् । 

एकताका लागि गरिएको आह्वानका सम्बन्धमा माधव नेपाल पक्षले पठाएको जवाफले संस्थापन पक्षलाई खिन्न बनाएको एक नेताले लोकान्तरलाई बताए । 

‘पार्टी एकता जोगाउन भइरहेका प्रयासमा खनाल–नेपाल पक्षको जवाफले हामीलाई खिन्न बनाएको छ, तर हामीले अन्तिमसम्म प्रयत्न गर्छौं,’ संस्थापन पक्षका एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने । 

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले त नेता नेपाल समूहप्रति कटाक्षयुक्त टिप्पणी गर्दै असम्भव कोशिश छाड्नुपर्ने टिप्पणी गरेका छन् । 

‘अब जेठ २ को रटानको अध्याय सकिएको छ, माधव कुमार नेपालका शर्त स्वीकारेर त एकता हुँदैन । यी शर्तमा नेपाल गुटसँग होइन, देउवाको काँग्रेससँग बरू एकता होला । तेल निकाल्न बालुवा होइन तोरी पेल्नुपर्छ ।

ल्याङल्याङ अति भयो ! अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं, असम्भव कोशिश छाडौं,’ थापाले ट्वीटरमा लेखेका छन् । 

तर, खनाल–नेपाल पक्षबाट अध्यक्ष ओलीको आह्वान स्वीकारेर केही नेता एकतामा आउने संस्थापन पक्षको विश्वास छ । 

सुदूरपश्चिम प्रकरणपछि झनै अविश्वास

एमालेमा सहमातिका लागि भइरहेका प्रयासमा सुदूरपश्चिम प्रदेश सभामा मंगलवार माधव नेपाल पक्षले पार्टी केन्द्रको निर्देशनविपरीत माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि विश्वासको वातावरण झनै धमिल्लिएको छ ।

एमालेको विवाद उत्कर्षमा पुग्नुमा कर्णाली प्रदेशमा भएको फ्लोर क्रस एउटा कारण थियो ।

माओवादी नेतृत्वको सरकार जोगाउन कर्णालीका चार सांसदले फ्लोर क्रस गरेपछि एमालेको संस्थापन पक्ष झनै चिढिएको थियो । 

कर्णालीको फ्लोर क्रस बिर्साउने गरी मंगलवार सुदूरपश्चिममा एमाले सांसदले मुख्यमन्त्री त्रिलोचन भट्टको सरकार जोगाइदिएका छन् । 

प्रधानमन्त्री ओलीनिकट मानिने नेता गोकुल बाँस्कोटाले सुदूरपश्चिममा भएको घटनालाई माओवादी केन्द्रमा बिलय हुने छलाङकारी यात्रा भएको भन्दै टिप्पणी गरेका छन् । 

‘विधि, पद्दति, अनुशासन, संघीयता, पार्टी एकता, समाजवाद, लोकतन्त्र के के हो के के जोगाउने एमालेको खरानी समूहले आज पनि पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई । माकेमा विलय हुने र कांग्रेस प्रवेश गर्ने उहाँहरूको छलाङकारी यात्रामा आज उपरान्त कसैले अवरोध नगरोस्, अग्रिम शुभकामना !’ बाँस्कोटाले लेखेका छन् । 

जेठ २० र २१ गते भर्चुअल माध्यमबाट भएको खनाल–नेपाल पक्षका केन्द्रीय सदस्यहरूको छलफलमा नेताहरूले ओलीको शर्त स्वीकार नगर्न दबाब दिएका थिए ।

त्यसैले ओलीले जेठ ३ पूर्वको अवस्थामा फर्किन आग्रह गर्दा पनि नेपाल पक्ष अझै कडा शर्तसहित बसिरहेको छ । 

अन्तिमसम्म प्रयास भने जारी राख्ने !

एमालेको दुवै पक्ष एकले अर्काको अस्तित्व स्वीकार नगरिरहेको अवस्थामा दुवै पक्षले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास भने जारी राख्ने बताउँदै आएका छन् ।

सोमवार नेता नेपालले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘फेरि पनि जोड दिएर भन्न चाहन्छौं कि हामी सार्थक वार्ता, सिद्धान्तनिष्ठ एकता र मेलपिमलापको पक्षमा रहँदै आएका छौं र अन्तिम घडीसम्म यस सम्बन्धमा हाम्रो सकारात्मक प्रयास जारी नै रहने छ ।’

माधव नेपाल समूहले ओलीको प्रस्तावलाई अस्वीकार गरेपनि पार्टीमा सहमति र एकताको प्रयास जारी राख्ने प्रभावशाली नेता सुवास नेम्वाङ बताउँछन् । 

‘हामी पार्टी एकताको पक्षमा लागिरहेका छौं र लागिरहन्छौं, कसले के भन्नुभयो भन्ने कुराको पछि लागेर एकताको अभियान रोकिँदैन,’ सहमति खोज्न गठित कार्यदलका संयोजक समेत रहेका नेम्वाङले मंगलवार लोकान्तरसँग भने । 

एकअर्कालाई आरोप लगाउँदै दुवै पक्ष टाढाटाढा पुगे पनि एमालेमा एउटा पंक्ति नयाँ चमत्कार हुने आशामा छ । 

पढ्नुहोस्, यो पनि :


 

salt training

कमेन्ट गर्नुहोस्