३१ जेठ २०८३, आइतबार
कोरोना कहर

कोरोनाको मार : मर्नुभन्दा बहुलाउनु निको !

असार १२, २०७८
कोरोनाको मार : मर्नुभन्दा बहुलाउनु निको !

पोखराको लेकसाइडको स्ट्रिट नम्बर ९ दरबारमार्ग छिरेपछि होटल ड्रीम इन भेटिन्छ । होटल सञ्चालक तिलक क्षेत्रीलाई अहिले पहिलेजस्तो भ्याइँ–नभ्याइँ छैन ।

किनकि गेस्ट छैनन् । ग्राहकलाई सेवा दिनु परेको छैन । आम्दानी पनि छैन । ३ वर्षअघि होटलमा परेको करोड बराबरको लगानी किस्ता र व्याज भने खप्टिएको खप्टियै छ । 

तिलक सुनाउँछन्, ‘मर्नुभन्दा बहुलाउनु निको भन्थे हो रैछ ! कोरोनाकालले ११ जना कर्मचारी कटौती गरेर सफाइका लागि २ जनामा झारेको छु । पर्खि हेरौं के हुन्छ ?’ 

होटल ड्रीम इनले यस्तो कहालीलाग्दो अवस्था व्यहोरेको अघिल्लो वर्षदेखि नै हो । विश्वभर फैलिएको कोरोना महामारीले पर्यटन क्षेत्रमा नराम्ररी प्रभाव पार्‍यो । त्यसैको शिकार तालनगरीका ७०० जति पर्यटकीयस्तरका होटलमा यो पनि पर्दछ । 

‘पहिलो लहरको कोरोना प्रभावले ७ महिनासम्म पूर्ण रूपमा बन्दै भयो । कात्तिकपछि अलिअलि आन्तरिक पर्यटकले चलायमान हुन लागेको थियो,’ उनले लोकान्तरसँगको कुराकानीमा दुखेसो सुनाउँदै भने, ‘अहिले नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना भाइरस प्रभावले फेरि पहिलेकै अवस्थामा पुर्‍यायो । मलाई लाग्छ यसको असर पर्यटन क्षेत्रमा कम्तीमा ५ वर्षसम्म पर्छ ।’ 

तिलकका अनुसार विदेशी पर्यटक लेकसाइडमा नहुँदा बाह्य पर्यटन प्रवद्र्धन हुने कुरै भएन । कोरोना प्रभावसँगै कास्कीमा २ महिना बढी समयदेखिको निषेधाज्ञा (लकडाउन) भयो । हाल जिल्ला प्रशासन कार्यालय कास्कीले असार ८ गतेदेखि निषेधाज्ञा केही खुकुलो पारे पनि विभिन्न सेवामा जस्तै होटल तथा रेस्टुरेन्ट बन्द छन् । माकुराले जालो लगाउन थालिसक्यो ।

कास्कीमा गत वैशाख १५ गतेदेखि निषेधाज्ञा आदेश जारी गरिएको हो । कोरोना प्रभाव कहिलेसम्म रहने भन्ने यकिन नहुँदा अनिश्चयको बादल मडारिरहेको छ । 

‘शून्य रहेको अकुपेन्सी दोस्रो लहर शुरू नहुँदासम्म बुकिङ अलिअलि थियो । ग्रूपहरू आउने गरेका थिए । अहिले चाहिँ हिँड्दाहिँड्दै गाडी ब्रेक लगाएजस्तो भएको छ,’ सञ्चालक क्षेत्रीले भने, ‘स्टाफ राखेर मात्र पनि भएन तलब दिन नसकेपछि । ११ जना कर्मचारीमा हाल सफाइका लागि २ जना मात्र बोलाएको छु । बाँकी सम्पर्कमा हुनुहुन्छ । भोलिका दिनमा आवश्यक परे क्रमशः बोलाउने छु ।’

होटलमा कूल १८ रुम छन् । तीमध्ये डिलक्स ८ वटा छन् । 

पर्यटकीय शहर पोखरा कोरोना प्रभावका कारण नराम्ररी थला परेको पर्यटन व्यवसायी बताउँछन् । उनीहरूका अनुसार पोखराको पर्यटनमा करीब ५ खर्ब जतिको लगानी छ । कोरोना भाइरस महामारीका कारण संवेदनशील क्षेत्र मानिने पर्यटन क्षेत्रको यति ठूलो लगानी डुब्ने खतरामा छ ।

पर्यटन क्षेत्रमा विशेषगरी होटल तथा रिसोर्ट, रेस्टुरेन्ट तथा बार, ट्रेकिङ एजेन्सी, ट्राभल्स एजेन्सी, प्याराग्लाइडिङ तथा अल्ट्रालाइट, ट्रेकिङ इक्प्युप्मेन्ट शप, इम्ब्रोइडरी एन्ड गार्मेन्ट शप, पर्यटक यातायात व्यवसाय लगायत यससँग प्रत्यक्ष वा अप्रत्यक्षरूपमा जोडिएका विभिन्न क्षेत्र पर्दछन् ।  

धराशायी अवस्थामा पुगेको मुलुकको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्काउन ४–५ वर्षसम्म लाग्ने अनुमान गर्छन् । 

पोखराको पर्यटन क्षेत्रमै ६० देखि ७० हजार मानिस प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आबद्ध छन् । कोरोना कहरले दैनिक १६ करोड घाटा रहेको पर्यटन व्यवसायीहरू बताउँछन् । पर्यटनको ठूलो हिस्सा ओगटेको क्षेत्र भने होटल व्यवसाय हो । पश्चिमाञ्चल होटल संघ अध्यक्ष विकल तुलाचनले पहिलो लहरको कोरोना महामारीले करीब २० प्रतिशत होटल खुल्दै नखोली दोस्रो लहरको प्रभावमा ठप्प रहेको बताए । झण्डै डेढ वर्षदेखि पोखराको पर्यटन क्षेत्रले कोरोना असर झेलिरहेको छ । 

पर्यटन परिषद् पोखराका अध्यक्ष गोपीबहादुर भट्टराई पर्यटन व्यवसाय चलायमान बनाउन पहिलो शर्त खोप रहेको बताउँछन् ।

‘खोप विना अब पर्यटन क्षेत्र अगाडि बढ्न सक्दैन । सबै व्यवसाय खोलिसकेपछि मात्र ढिलो गरी पर्यटन व्यवसाय चलायमान हुने गर्छ । किनकि यो संवेदनशील क्षेत्र हो,’ उनले भने, ‘प्रशासनले होटल, रेस्टुरेन्ट खोल्न स्वीकृति दिए पनि व्यवसायी, मजदुर र ग्राहक सुरक्षित राख्न र घुम्न आउने पर्यटकलाई पनि विश्वस्त बनाउन खोप अनिवार्य हो ।’

कास्कीमा हालसम्म करीब ५८ हजार जनाले मात्र कोरोना विरुद्धको खोप लगाएका छन् । बाँकीको लागि खोप कहिले आइपुग्ने निश्चित छैन । 

अघिल्लो वर्ष कोरोनाको पहिलो लहरले आक्रान्त बनेकोमा पछि करीब ३० प्रतिशत हाराहारीमा पर्यटन क्षेत्र चलायमान भयो । यस वर्षको शुरूआतमै दोस्रो लहरले फेरि बेचैन बनाएको भट्टराईले बताए । 

पर्यटन क्षेत्रमा आबद्ध व्यवसायी तथा मजदुरलाई पनि बचाउने हो भने सरकारले घोषणा गरेका राहत कार्यक्रम कार्यान्वयनमा ढिलाइ गर्न नहुने उनको तर्क छ । उनले भने, ‘चालू आवको लागि सरकारले विनियोजन गरेको सहुलित रकम साना, मझौला तथा ठूला सबै वर्गले समान रूपमा पाउन सकेका छैनन् । आगामी आवको लागि संघ तथा प्रदेश सरकारले घोषणा गरेका राहतका कार्यक्रमलाई विशेष सम्बोधन हुने गरी अघि बढाउनुपर्छ ।’ 

पर्यटन क्षेत्र व्यवसाय सञ्चालनका लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ताबन्दी बुझाउने अवधि निर्धारित समयभन्दा कम्तीमा २ वर्ष पछि धकेल्नुपर्ने पर्यटन परिषद्ले माग गर्दै आएको छ । सरकारले बैंक तथा वित्तीय संस्थालाई पर्यटन क्षेत्रमै लगानी गर्ने भनी निश्चित रकम छुट्याउनुपर्ने परिषद् अध्यक्ष भट्टराईको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्