२४ असार २०८३, बुधबार
नउठ्ने गरी थलिँदै साना व्यवसायी

कोरोनाको झट्का : केहीले भाडाबापत घरबेटीलाई होटल नै बुझाए, केही कौडीको भाउमा बिक्री !

असार १४, २०७८
कोरोनाको झट्का : केहीले भाडाबापत घरबेटीलाई होटल नै बुझाए, केही कौडीको भाउमा बिक्री !

काठमाडौंका राकेश ढकाल होटल व्यवसायी हुन् ।

उनले २०७६ माघ महिनामा ४० लाख भन्दा बढी लगानी गरी काठमाडौंको शंखमुलमा ‘बज्यैको सेकुवा कर्नर’ सञ्चालनमा ल्याए ।

शुरूआतमा १६ जना ‘स्टाफ’ राखेर सञ्चालनमा ल्याइएको सो सेकुवा कर्नरमा मजदुरहरू थप्दै लैजाने सोचमा थिए, उनी । तर उनलाई ‘पहिलो गाँसमै ढुंगा’ भनेजस्तो भइदियो कोरोना महामारी छ ।

कोरोना महामारी न्यूनीकरण तथा रोकथामका लागि सरकारले २०७६ चैतदेखि अर्थात् उनले रेस्टुरेन्ट खोलेको २ महिनापछि मुलुकभर लकडाउन जारी गर्‍यो ।

त्यसपछि सो रेस्टुरेन्ट चल्ने कुरै भएन । बीचबीचमा निषेधाज्ञा खुकुलो भएपनि राम्रोसँग रेस्टुरेन्ट चलाउन नपाउँदा कारोबार शून्यप्रायः नै रह्यो । 

अन्ततः रेस्टुरेन्ट नै बेच्ने निर्णयमा पुगे उनी । उनले गत वैशाखमा सो रेस्टुरेन्ट बेचेका छन् । 

उनी भन्छन्, ‘बाजेको सेकुवामा करीब ८/९ वर्ष काम गरेको अनुभवले यहाँ लगानी गरेको थिएँ, कोरोनाले चौपट बनायो ।’ 

४० लाखभन्दा बढी लगानी परेको रेस्टुरेन्ट १७ लाखमा बेचेको उनले सुनाए । 

‘घर भाडा पनि महंगो थियो, महिनैपिच्छे घरबेटीले कचकच गर्न थाले । पछि मैले रेस्टुरेन्ट नै बेचेर घरभाडा तिरें ।’

उनले आफू अहिले खाली भएको सुनाए । ‘के गरौं, के नगरौं भएको छ, अहिले घरमा खाली बसेको छु, अब लगानी गर्न सकिन्छ, सकिँदैन ठेगान छैन,’ उनले थपे, ‘लगानीको वातावरण नै बने पनि २/३ वर्ष पर्खनुपर्ने हुन्छ ।’
***

काठमाडौंमा झण्डै २७ वर्ष अगाडिदेखि होटल व्यवसाय गर्दै आइरहेका व्यवसायी सागर बुढा मगरको कथा पनि उस्तै छ । 

२०५१ सालदेखि काठमाडौंमा होटल व्यवसाय गर्दै आइरहेका बुढाले पछिल्लो समय नयाँ बसपार्कमा होटल छहारी एन्ड गेस्ट हाउस चलाउँदै आएका थिए । 

होटल चल्दै थियो, सबै राम्रै थियो । ​त्यत्तिकैमा विश्वभर फैलिएको कोरोनाभाइरसको महामारी नेपालमा पनि शुरू भयो । 

महामारी नियन्त्रण तथा न्यूनीकरणका लागि भन्दै सरकारले २०७६ चैत ११ गतेदेखि मुलुकभर बन्दाबन्दी घोषणा गरेसँगै अर्थतन्त्र समेत ठप्प भयो । 

यसबीचमा कतिपय होटल व्यवसायीले भने निकै संकटको सामना गर्नुपर्‍यो । बन्दाबन्दीको समयमा होटल बन्द हुँदा निकै ठूलो आर्थिक संकट खेप्नुपरेको व्यवसायीहरूले बताउँदै आएका छन् । 

जसको प्रत्यक्ष शिकार बने, होटल व्यवसायी बुढा मगर । सरकारले बन्दाबन्दी घोषणा गरेपछि उनी होटल बन्द गरेर घरमै बसे । पछि साउन हुँदै भदौसम्ममा बन्दाबन्दी केही खुकुलो भयो ।

‘यसबीचमा घरबेटीलाई भाडा तिर्नुपर्ने थियो, महिनाको सवा १ लाख भन्दा बढी भाडा तिर्नुपर्थ्यो,’ उनले थपे, ‘होटल बन्द भएपछि मैले तिर्न सकिनँ ।’

भाडा नै तिर्न धौधौ भएपछि उनले होटल चलाइरहने आँट गर्नै सकेनन् । ‘भाडा थुप्रिएको थुप्रियै हुन्छ, कसरी तिर्ने ? होटलै बन्द हुँदा त निकै गाह्रो हुने रहेछ,’ उनले सुनाए ।

होटल कसरी चलाउने वा के गरी खाने भन्ने चिन्ता तथा अन्यौलका बीचमा उनले होटल नै घरबेटीलाई सुम्पिने निर्णय गरे । 

‘घरबेटीले पनि पटक–पटक भाडा तिर्न नसक्ने भए मलाई होटल छाडिदिनु भनिरहनुभयो,’ उनले थपे, ‘होटलको भाडा पनि कसरी तिर्नु, चलाउनु पनि कसरी, मैले आँट गर्नै सकिनँ र तालाचाबी घरबेटीलाई नै सुम्पिदिएँ ।’

उनले भदौ महिनामा घरबेटीलाई होटल सुम्पिएर अहिले घरमै बसिरहेको समेत बताए । 

उनीमात्र हैनन्, मध्यम खाले होटल व्यवसाय गर्नेहरू कोरोना महामारीसँगै विस्थापन र पलायन हुँदै गइरहेका छन् ।

काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका मध्यम लगानीका होटलहरू धमाधम बिक्रीको चरणमा छन् । 

यस बीचमा सुन्धारा क्षेत्रमा पनि थुप्रै होटलहरू बिक्री भइसकेको एक होटल व्यवसायीले लोकान्तरलाई बताए ।

आफूले पनि होटल बेचेको बताउँदै उनले भने, ‘कतिपय डेढ वर्षदेखि भाडा तिर्न नसकेका होटलहरू पनि छन्, उनीहरू पनि बिक्री वा पलायनतर्फ जाने देखिन्छ ।

पर्यटकीय क्षेत्र सौराहा तथा पोखरामा पनि अवस्था उस्तै 

पर्यटकीय क्षेत्र सौराहा तथा पोखरामा पनि होटल बिक्री गर्नेहरू बढ्दै छन् । 

महामारीले सिर्जना गरेको आर्थिक संकट धान्न नसकेपछि कतिपय निर्माणाधीन होटलहरू नै बिक्री भइसकेको व्यवसायीहरू बताउँछन् । 

होटल एसोसिएसन चितवनका अध्यक्ष दीपक भट्टराईले सौराहाका होटलहरू समेत बिक्री हुन थालेको सुनाए । 

उनले भने, ‘साथीहरू निराश छन् । बैंकले पनि पेलेकोपेल्यै छन् । निर्माणाधीन होटल पनि बिक्री भइसकेको छ ।’

उनले कतिपय होटलहरू बिक्रीका लागि पाइपलाइनमा बसेको सुनाए । 

‘महामारीपछि कतिपय व्यवसायीहरू निकै आत्तिनुभएको र असहज भएको अवस्था छ । धेरै होटलहरू बिक्री हुने तयारीमा रहेको जानकारी आएको छ ।’

यता पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनको भनाइ पनि उस्तै छ ।

पोखरामा पनि केही व्यवसायीहरूले होटल बिक्री गरेको उनले जानकारी दिए । ‘साथीहरूले होटल बिक्री गर्नुभएको छ, यद्यपि ठूलै संख्या भने छैन जस्तो लागेको छ ।’ 

‘पहिलो लकडाउनमा घर भाडामा होटल चलाउनेहरूले बन्द नै गरेको अवस्था थियो । अहिले भने अवस्थाअनुसार कसैकसैले बिक्री गरिरहेको पाइएको छ,’ लोकान्तरसँग उनले भने ।

अब धान्न गाह्रो भयो : होटल व्यवसायी महासंघ

होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाहले कोरोना महामारीका कारण होटल व्यवसायी निकै मारमा परेको बताए । 

उनले अहिले कतिपय विवरण नआइसकेको भएपनि व्यवसायी पलायन नै हुनुपर्ने अवस्था आउनु दुःखद् भएको बताए । उनले भने, ‘एकपछि अर्को गर्दै होटल व्यवसायीहरू पलायन हुँदैछन्, कतिपयले बिक्री गरिरहेका छन्, यो निकै दुःखद् कुरा हो ।’ 

उनले मध्यम खाले होटलहरू पछिल्लो समय निकै मारमा परेको समेत बताए । 

‘ठूला होटलहरूलाई पनि केही असर त अवश्य नै छ, तर मध्यम होटलहरूको ब्याकअप कम हुने भएकाले समस्या छ,’ उनले बताए ।

हान भन्छ- ठ्याक्कै जानकारी छैन 

होटल एसोसिएसन नेपाल (हान)ले कतिपय होटलहरू बिक्री तथा पलायनको अवस्थामा गएको जनाएको छ  । यद्यपि यसको यकिन तथ्यांक भने हानसँग छैन ।

हानका प्रमुख कार्यकारी अधिकृत टेक महतले व्यवसायको प्रकृति र अवस्था हेरी कतिपय व्यवसायीहरू पलायन भइरहेको पाइएको जानकारी दिए । 

उनले भने, ‘अवस्था विकराल नै छ, कतिपय व्यवसायीहरूले होटलहरू बिक्री गरेको कुरा आएको छ, तर कुन–कुन होटल बेचिए भन्ने आधिकारिक जानकारी आइसकेको छैन ।’
 

salt training

कमेन्ट गर्नुहोस्