०१ असार २०८३, सोमबार

सवारी दुर्घटनामा एकैदिन पाँच जनाको मृत्यु

सवारी दुर्घटनामा एकैदिन पाँच जनाको मृत्यु

भक्तपुर, उदयपुर, चितवन, मोरङ र महोत्तरीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । 

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-४, चारदोबाटोस्थित सडकमा काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा ९३ प ९६५२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

रेलिङमा मोटरसाइकल ठोक्किँदा बिहीवार साँझ चालक संखुवासभा चैनपुर घर भई सिन्धुपाल्चोक बाह्रबीसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

उदयपुर, ताप्ली गाउँपालिका-५ डुढेस्थित भित्री सडकमा कटारीबाट रुपाटारतर्फ जाँदै गरेको प्र २-०१-००-१ च-००५० नम्बरको बोलेरो गाडीबाट ओर्लने क्रममा गाडीले किच्दा यात्रु सोही गाउँपालिका-५ बस्ने २५ वर्षीय रमेश नेपालीको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

चितवन, भरतपुर महानगरपालिका-३, पुल्चोकस्थित सडकमा गैंडाकोटबाट चौबीसकोठीतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकले ना ५९ प ३५०४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार सोही ठाउँ बस्ने ३० वर्षीया बिणु दवाडीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । 

मोरङ, बूढीगंगा गाउँपालिका-३ स्थित सडकमा हाल नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने २० वर्षीय रामकुमार राजवंशीको बिहीवार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको  क्रममा मृत्यु भएको हो । 

शंकास्पद ८ वटा सवारीसाधनहरूलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ । 

महोत्तरी, शम्सी गाउँपालिका-१ पर्सास्थित सडकमा गौशालाबाट शम्सीतर्फ जाँदै गरेको ज १० प २१५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई बिहीवार राति दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषा बेंगाडावर बस्ने २९ वर्षीय विवेककुमार स्याङ्वोको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जलेश्वर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्