१४ असार २०८३, आइतबार

विश्वविद्यालय सभा विनै चल्दैछ कृषि तथा वन विज्ञान विश्वविद्यालय

असार २८, २०७८
विश्वविद्यालय सभा विनै चल्दैछ कृषि तथा वन विज्ञान विश्वविद्यालय

कृषि र वनको अध्ययन, अनुसन्धान र प्रसार गर्ने मुख्य उद्देश्यसाथ ११ वर्षअघि स्थापना भएको चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको यस आर्थिक वर्षमा विश्वविद्यालय सभा हुन सकेन ।  

नीतिगत नयाँ निर्णयसँगै बजेट अनुमोदन गर्नुपर्ने महत्त्वपूर्ण मानिने विश्वविद्यालय सभा नहुनुलाई अर्थपूर्ण रूपमा लिने गरिन्छ ।

राजनीतिक खिचातानीका कारण अस्तव्यस्त बन्दै गएको विश्वविद्यालयमा लामो समयको रिक्तता पछि गत वर्ष उपकूलपति, रजिस्ट्रार, डिन र निर्देशकको नियुक्त भए पनि आन्तरिक खिचातानीका कारण सहमति हुन नसकेपछि वर्षभर नै विश्वविद्यालय सभा नभइ बितेको हो ।
 
विश्वविद्यालयका रजिस्ट्रार प्रा।डा। शारदा थपलियाले सभा हुन नसकेपछि कार्यकारीको बैठकबाट अनुमोदन गरेर खर्च गरिएको बताइन् । गत वैशाख २७ गते विश्वविद्यालय सभाको मिति तय भए पनि सरेको भन्दै उनले त्यसपछि हालसम्म हुन नसकेको बताइन् । कोरोना बढेर निषेधाज्ञा भएकाले पनि सभा हुन नसकेको उनको भनाइ छ ।
 
विश्वविद्यालय स्थापनापछि सभा हुन नसकेको यो पहिलो भएको भन्दै उनले सभाले अघिल्लो वर्षको खर्च अनुमोदन र आउँदो वर्षको बजेट तथा कार्यक्रम स्वीकृत गर्ने बताइन् । विश्वविद्यालयमा वार्षिक बजेट ६९ करोड रुपैयाँको हाराहारीमा हुने गर्दछ ।

विश्वविद्यालयका उपकूलपति प्रा।डा। पुण्य रेग्मीपछि सभाले स्वीकृत गर्ने गरी कार्यकारीले निर्णय गरेर बजेट खर्च गरिएको बताउँछन् । विश्वविद्यालय सभाको मुख्य जिम्मेवारी रजिस्ट्रारको हुने भए पनि उनको स्वास्थ्य र पारिवारिक कारणले केही समय रोकिएकोमा पछि कूलपतिको समय मिलाउन नसक्दा सभा हुन नसकेको रेग्मीको भनाइ छ ।

आउँदो साउनमा सभा गरेर २ वर्षको बजेट तथा कार्यक्रम एकैपटक स्वीकृत गर्ने उनले जानकारी दिए । विश्वविद्यालयको सभामा २५ जना सदस्य रहेका छन् । उपकूलपति र रजिस्ट्रारबीचको आन्तरिक टकरावका कारण समयमा सभा हुन नसकेको विश्वविद्यालयका अन्य पदाधिकारीको भनाइ छ । 

विश्वविद्यालय भित्रको राजनीतिक गुटबन्दी र व्यक्तिगत स्वार्थका कारण सभा हुन नसकेको वन विज्ञान संकायका डिन प्रा।डा। बलराम भट्ट बताउँछन् । विश्वविद्यालयका संस्थापक रजिस्ट्रार प्रा।डा। सूर्यकान्त घिमिरे वर्षभर नै सभा हुन नसक्नु लाजमर्दो विषय भएको भन्दै सरकारले यस विश्वविद्यालयप्रति समयमै ध्यान दिन नसकेमा ठूलो नोक्सान हुनसक्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्