१४ असार २०८३, आइतबार

जानकी गाउँपालिका दोस्रो साक्षर पालिका घोषित

असार ३१, २०७८
जानकी गाउँपालिका दोस्रो साक्षर पालिका घोषित
प्रतिकात्मक तस्वीर

कैलालीको जानकी गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ ।

गाउँपालिकालाई एक कार्यक्रमबीच शिक्षा विकास तथा समन्वय एकाइ कैलालीका प्रमुख बैकुण्ठ सुवेदीले साक्षर पालिका घोषणा गरे ।

पालिकामा रहेका १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएपछि गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो । साक्षर पालिकाका लागि राष्ट्रभाषा वा मातृभाषाका अक्षरको पढाइ र लेखाइ गर्न सक्ने, राष्ट्रभाषा वा मातृभाषामा लेखिएको मूल्यसूची र बिलको पढाइ, आफ्ना परिवारका सदस्यको नाम, उमेर, मोबाइल र क्यालकुलेटरका अंक तथा अक्षर पहिचान र प्रयोग गर्न जान्ने, शून्यदेखि नौसम्मका अंकका अक्षर लेखाइ, एकदेखि १०० सम्म गणना, लेनदेनको हिसाब राख्ने लगायतका सूचक छन् । 

पालिकामा रहेका सबै निरक्षर नागरिकले यी सबै सूचक पूरा गरेपछि साक्षर घोषणा गरिएको शिक्षा अधिकृत धर्मानन्द कपाडीले बताए । सरकारले विक्रम संवत् २०७६ भित्र देशका सबै जिल्ला नै पूर्ण साक्षर घोषणा गरी नेपाललाई नै साक्षर देश घोषणा गर्ने लक्ष्य राखेको थियो तर नेपालमा कोरोना महामारी फैलिएपछि सबै सूचक पूरा गरे पनि घोषणा कार्यक्रममा केही ढिलाइ भएको बताइन्छ ।

कैलालीमा अझै पनि ३ प्रतिशत नागरिक निरक्षर रहेको तथ्यांक छ । एकाइका प्रमुख सुवेदीले गाउँपालिकाले साक्षर घोषणा कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । ‘घोषणापछि शैक्षिक गतिविधि निरन्तर गर्नुपर्छ, निरक्षर व्यक्ति कोही बचेका वा बसाइसराइँ गरी आएमा उनीहरूलाई निरक्षर बनाउने कार्यमा खट्नुपर्छ,’ सुवेदीले भने, ‘निरन्तरता दिन चुनौती छ, यसमा पालिकाले बजेट विनियोजन गरेरै काम गर्नुपर्छ, साक्षर मात्र होइन पूर्ण साक्षरतातिर लैजान गाउँपालिकाले ध्यान दिनुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्