
चालू आर्थिक वर्षको अन्तिममा सरकारले एकैदिन २९ अर्बभन्दा बढी बजेट खर्च गरेको छ ।
बुधवार मात्रै सरकारले २९ अर्बभन्दा बढी बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
विगतका वर्षहरूमा जस्तै यसवर्ष पनि सरकारले असार अन्तिममा ठूलो परिणाममा खर्च गरेको देखिएको हो ।
महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता एवं सह–महालेखा नियन्त्रक ज्ञानेन्द्र पौडेल विगतका वर्षहरूमा झैँ यसवर्ष पनि पछिल्ला दिनमा सरकारी खर्च बढेको बताउँछन् ।
लोकान्तरसँग उनले भने, ‘विविध कारणले गर्दा सरकारी खर्च बढेको देखिन्छ, हिजो एकैदिन २९ अर्बभन्दा बढी खर्च भएको छ ।’
उनका अनुसार, बिहीवार (आज) सरकारी खर्च भुक्तानी भएको छैन ।
‘आज हिसाब मिलानको काम गर्दैछौं, चालू आर्थिक वर्षका लागि खर्च गर्ने समय हिजो नै सकिएको हो,’ लोकान्तरसँग उनले भने ।
उनले हाल ९२ प्रतिशतभन्दा बढी रकम इलेक्ट्रोनिक्स माध्यमबाट भुक्तानी भएको बताए ।
उनले भने, ‘बाँकी करीब ८ प्रतिशत चेकको माध्यमबाट कारोबार गरिन्छ, त्यसको तथ्यांक संकलन भइसकेको छैन ।’
अन्तिम दिनमा पूँजीगत (विकास बजेट) खर्चको बाढी
सरकारले चालू आर्थिक वर्षको अन्तिम दिनहरूमा पूँजीगत (विकास बजेट) खर्चको बाढी नै लगाएको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को अन्तिम ५ दिनमा मात्र ३७ अर्ब ६७ करोड रुपैयाँ पूँजीगत खर्च भएको छ ।
आर्थिक वर्षको अन्तिम समयमा बजेटको खोलो बगाउने प्रवृत्तिलाई निरन्तरता दिँदै सरकारले पछिल्लो ५ दिनमा ३७ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ पूँजीगत खर्च गरेको हो ।
कार्यालयका अनुसार सरकारले बुधवार मात्रै १५ अर्ब ९७ करोड ७७ लाख रुपैयाँ पूँजीगत खर्च गरेको छ ।
चालू खर्च समेत जोड्दा यो तथ्यांक २९ अर्बभन्दा माथि पुग्छ ।
कार्यालयका अनुसार सरकारले पूँजीगत तर्फ मंगलवार ८ अर्ब १८ करोड ९२ लाख रुपैयाँ खर्च गरेको थियो ।
यस्तै सोमवार ६ अर्ब ५४ करोड १२ लाख रुपैयाँ खर्च भएको थियो भने आइतवार ३ अर्ब ५० करोड ६० लाख रुपैयाँ खर्च भएको थियो ।
गत शुक्रवार ३ अर्ब ४६ करोड ४१ लाख रुपैयाँ खर्च भएको कार्यालयको तथ्यांक छ ।
चालू आर्थिक वर्षमा सरकारले ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य लिएको थियो ।
जसमध्ये बुधवारसम्म सरकारले लक्ष्यको ६४.५३ प्रतिशत खर्च गरेको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले बुधवारसम्ममा २ खर्ब २७ अर्ब ७३ करोड ८४ लाख रुपैयाँ पूँजीगत खर्च गरेको छ । जुन लक्ष्यको ६४.५३ प्रतिशत हो ।
समग्रमा भने कुल ९१.१९ प्रतिशत बजेट खर्च गर्ने लक्ष्य राखिएकोमा ८०.०३ प्रतिशत खर्च भएको छ । यो पनि चालू खर्च धेरै भएकाले प्रतिशतमा माथि देखिएको हो ।
अर्थ मन्त्रालय भन्छ– कोरोना र परम्परागत कारणले खर्च कम
अर्थमन्त्रालयले चालू आर्थिक वर्षमा कोरोना महामारीका कारणले पनि सरकारी खर्चले लक्ष्य नभेटेको बताएको छ ।
अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता महेश आचार्यले कोरोना महामारीका कारण विकासका कामहरूमा केही बाधा सिर्जना भएको र सोही कारण सरकारी खर्च कम भएको बताए ।
‘कोरोना महामारीका कारण पनि सरकारी खर्च कम भयो, तर यो मात्र कारण हैन,’ उनले भने ।
प्रवक्ता आचार्यले परम्परागत कारणहरूले पनि सरकारी खर्च कम भएको पाइएको बताए ।
आर्थिक वर्षको शुरूदेखि नै खर्च नगरेकाले पनि खर्च हुन नसकेको उनको भनाइ छ ।