
नेपाली सेनाले कर्णाली करिडोरअन्तर्गतको खुलालु–लैफु–सलीसल्ला सडक हस्तान्तरण गरेको छ ।
नेपाली सेनाका कर्णाली करिडोर सडक कार्यदलका प्रमुख प्राविधिक सेनानी मिलन कार्कीले उत्तर दक्षिण व्यापारिक मार्ग हिल्सा–सिमिकोट आयोजना प्रमुख विष्णुदास लामालाई सडक हस्तान्तरण गरेका हुन् ।
२०७१ चैत ९ गतेबाट निर्माण शुरू गरिएको कुल १२२.७५ किलोमिटर लम्बाइ र औसत ६ मिटर चौडाइ रहेको उक्त सडक खण्डले कालीकोट, बाजुरा र हुम्लालाई जोडेको छ ।
सडक निर्माणसँगै राष्ट्रिय सञ्जालमा जोडिन बाँकी रहेको अन्तिम जिल्ला हुम्लाको ताँजाकोट, अदानचुली, चंखेली र सर्केगार्ड गाउँपालिका उक्त सडक सञ्जालमा जोडिएको नेपाली सेनाले जनाएको छ ।
भौगोलिक विकटता, मौसमी प्रतिकूलता, कडा चट्टानयुक्त भू–बनोटका कारण यस सडक खण्डलाई विशेष परिस्थितिको सडकको रुपमा परिभाषित गर्दै २०७१ चैत ५ गते मन्त्रिपरिषद्को बैठकले नेपाली सेनालाई निर्माणको जिम्मा दिएको थियो ।