

राज्यमन्त्री ज्वारचनले पछिल्लो अपमान मुलुकको प्रमुख प्रशासनिक केन्द्रको मुख्यद्वारमा खेप्नुप—यो जब उनी चढेको निजी कारलाई सिंहदरबार प्रवेशमा अवरोध गरियो ।
सोमवार बिहान १०ः३० बजे राज्यमन्त्री चढेको झण्डाविहीन निजी कारलाई त्यहाँ तैनाथ नेपाली सेना र प्रहरीको संयुक्त सुरक्षा टोलीले सिंहदरबार प्रवेशमा रोक लगायो । मन्त्रीसँगै रहेका अंगरक्षकले घटना विवरण सुनाएपछि मात्र उनी चढेको कारलाई सिंहदरबारमा प्रवेशका लागि अनुमति दिइएको थियो ।
यस्तो छ कथा
गुल्मी गृहजिल्ला भएकी सुवर्ण ज्वारचन सामाजिक कामका कारण उक्त जिल्लाका स्थानीय बासिन्दामाझ चर्चित र लोकप्रिय मानिन्छिन् । २०४९ सालमा जिल्ला विकास समितिको उपसभापतिमा निर्वाचित उनी दोस्रो संविधानसभा निर्वाचनपछि नेपाली कांग्रेसको तर्फबाट समानुपातिक कोटामा सांसद भइन् । लामो राजनीतिक यात्रापछि एक हप्ताअघि उनले उच्च पद पाइन् – राज्यमन्त्री ।
त्यस दिन उनी खुशी हुनुपर्ने हो तर दुःख पनि सँगै आयो । राज्यमन्त्री त भइन् तर उनलाई दिएको भनिएको मन्त्रालयमा अर्को व्यक्तिलाई पनि राज्यमन्त्री नियुक्त गरिएछ । राज्यमन्त्रीका रूपमा शपथ लिएपछि उनी आदेश अनुसार शुरूमा शहरी विकास मन्त्रालयमा पुगिन् । सचिवले पदबहाली पनि गराए । तर एकैछिनमा त्यहाँ अर्का राज्यमन्त्री पनि आए । दुवैले आफू शहरी विकास राजयमन्त्री भएको दाबी र जिकिर त लिए तर समस्याको हल निस्केन ।

ज्वारचन भोलिपल्ट बिहानै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगिन् । देउवासँग आक्रोश पोखिन् । एउटै मन्त्रालयमा किन दुईजना राज्यमन्त्री नियुक्त गरेको भनेर प्रश्न गरिन् । देउवाले थामथुम पार्दै गल्ती भएको तर त्यसलाई बिर्सेर वाणिज्य राज्यमन्त्रीका रूपमा काम गर्न आग्रह गरे । उक्त आग्रह स्वीकार गर्दै उनी वाणिज्य राज्यमन्त्री पद लिन तयार भइन् र पदभार पनि ग्रहण गरिन् ।
राज्यमन्त्रीबारेको विवाद त मिल्यो तर सरकारले उपलब्ध गराएको थोत्रो गाडीले उनलाई अर्को सास्ती दियो । थोत्रो सरकारी गाडीको पीडाले उनी आजित छिन् । पदभार ग्रहण गरेकै दिन उनलाई एउटा सरकारी सुबिधाको गाडी दिइयो । उक्त गाडी चढेको केहीबेरमै सवारीमा समस्या आयो । गाडी हल्लिन थाल्यो । आवाज आउन थाल्यो । सवारी चालकले गाडी थोत्रो भएको र कुनै पनि बेला समस्या दिन सक्ने जानकारी तत्कालै राज्यमन्त्री ज्वारचनलाई गराए ।
गाडी चढेर राज्यमन्त्री ज्वारचन बालाजु माछापोखरी नजिकैको वसन्तगरस्थित निवासमा जाँदै थिइन् । बाटोमै गाडी बिग्रियो । चालकले गाडी सामान्य मर्मत गरेर जसोतसो घरसम्म पु—याए ।
घर पु—याएपछि चालकले अलि समय दिएर गाडी मर्मत गरे । र, राज्यमन्त्री त्यहीँ गाडीमा आवतजावत गर्न थालिन् । राज्यमन्त्रीमा नियुक्त भएको ६ दिन बितिसकेको छ, तर प्रत्येक दिन गाडीले केही न केही समस्या दिइरहेको छ । ‘कहिले बाटोमा आधाघण्टा मन्त्रीलाई रोकेर गाडी सामान्य मर्मत गरेर हिँडाउनुपरेको छ त कहिले नयाँ गाडी मगाएर मन्त्रीलाई लैजानुपरेको छ,’ मन्त्रीका एक सहयोगीले भने, ‘थोत्रो सरकारी गाडीका कारण सबैभन्दा ठूलो समस्या आइतवार आइप—यो ।’
मन्त्रालयबाट निवास फर्कंदै गर्दा महाराजगञ्ज चोकबाट अलिकति पर सामाखुसीतिर पुग्नै लाग्दा आइतवार साँझ ७ बजे गाडी नराम्ररी बिग्रियो । पहिला स्टार्ट बन्द भयो र एकैछिनमा टायर पङ्चर भयो । गाडी व्यस्त सडकमा ग्राउन्डेड भयो । राज्यमन्त्री जस्तो व्यक्ति, सुरक्षाका कारण हिँड्दै जाने कुरा भएन । गाडी बिग्रेपछि मन्त्रीसँग रहेका उनका अंगरक्षक र सहयोगीले हत्तपत्त गाडीलाई सडकको छेउमा राख्न लगाए र मन्त्रीलाई सुरक्षा दिए । रात परिसकेको थियो । सरकारी अधिकारीलाई गाडी बिग्रेको बारेमा जानकारी त गराइयो तर कुनै सुनुवाई भएन ।
सुनुवाई नभएपछि मन्त्रीका सहयोगी र सुरक्षा अधिकारी मन्त्रीकै निवासमा रहेको निजी गाडी ल्याउने तयारीमा जुटे । राज्यमन्त्रीको निवासमा रहेको निजी गाडी ल्याएर मन्त्रीलाई निवाससम्म पु—याउन दुई घण्टा लाग्यो । ‘दुई घण्टा राज्यमन्त्रीज्यू गाडीमै निदाउनुभयो,’ मन्त्रीका एक सहयोगीले लोकान्तरसँग भने । मन्त्रीको निजी कार आइपुगेपछि बिग्रेको सरकारी गाडीलाई सामाखुसीस्थित स्थानीय प्रहरी बिटमा राखेर मन्त्रीलाई उनको निवास पु—याइएको उनका सहयोगीहरूले लोकान्तरलाई बताए ।
सिंहदरबार प्रवेशमा अवरोध
सोमवार बिहान राज्यमन्त्री आफ्नै सानो कारमा चढेर कार्यस्थल सिंहदरबार प्रवेश गर्दै थिइन् । निजी तर पुरानो कार थियो त्यो । त्यसमा झण्डा राख्न सम्भव थिएन । पछिल्लो सिटमा राज्यमन्त्री बसेकी थिइन् भने अघिल्लो सिटमा नेपाली सेनाका एक अधिकारी बसेका थिए सैनिक पोशाकमै । उच्चपदस्थ व्यक्ति र सरकारी कर्मचारीलाई मात्र प्रवेश गर्न दिइने सिंहदरबारको मुख्य प्रवेशद्वारमा पुगेपछि सुरक्षार्थ त्यहाँ तैनाथ सैनिक अधिकारीले राज्यमन्त्रीको गाडी रोके । कारण थियो – गाडी मन्त्रीको जस्तो नदेखिनु । न त गाडी मन्त्रीले चढ्ने जस्तो थियो, न उक्त गाडीमा झण्डा नै थियो ।

शायद असामान्य परिस्थिति देखेर हुनसक्छ, सिंहदरबारको मुख्य प्रवेशद्वारमा रहेका सुरक्षा अधिकारीले मन्त्रीको गाडी रोके । उक्त गाडीलाई त्यहाँबाट प्रवेश गर्न नदिने बताए । हत्तपत्त मन्त्रीसँगै रहेका अंगरक्षक (नेपाली सेनाका अधिकारी) गाडीबाट ओर्ले र झण्डाविना निजी कारमा आउनुको कारण बताए । एकछिनपछि मन्त्रीको गाडीलाई सिंहदरबार प्रवेश गर्न दिइयो ।
गाडी व्यस्थापनका लागि दौडधुप, तर हात लाग्यो शून्य
राज्यमन्त्री ज्वारचनका निजी सचिव हरिवंश राना गाडीको व्यस्थापनका लागि सोमवार दिनभर सिंहदरबारमा दौडधुप गरे । उनले वाणिज्य मन्त्रालयका उच्च अधिकारीलाई केही दिन पहिलेदेखि नै थोत्रो गाडीले दिएको दुःखबारे जानकारी गराएका रहेछन् । आइतवारको घटना समेत सुनाउँदै उनले सोमवार दिनभरजसो मन्त्रालयका अधिकारीलाई राम्रो गाडीको प्रबन्ध गर्न आग्रह गरे । तर सुनुवाई भएन ।
लोकान्तर संवाददाता मन्त्रालय पुग्दा जे देखियो
सोमवार बेलुका ४ः३० बजेको समय । कार्यालय समय सकिन आधाघण्टा मात्र बाँकी छ । राज्यमन्त्री ज्वारचनका निजी सचिव राना वाणिज्य मन्त्रालयका केही उच्चपदस्थ अधिकारीसँग गम्भीर छलफल गर्दै गरेको भेटिए । उनले आइतवारको घटनाबारे मन्त्रालयका अधिकारीलाई जानकारी गराए । मन्त्रालयका अधिकारीले गाडीको समस्याबारे गृह मन्त्रालयसँग कुराकानी भइरहेको तर नयाँ गाडी आइनसकेको जवाफ मन्त्रीका सहयोगीलाई दिए । अधिकारीको कुरा सुनेर मन्त्रीका सहयोगी खिन्न मुख लगाइरहेका थिए । मन्त्रीका सहयोगी मन्त्रालयका अधिकारीको कार्यकक्षबाट निस्किए । लोकान्तरले उनलाई पछ्याइरह्यो ।
मलाई हेपेका हुन् : राज्यमन्त्री
लोकान्तर संवाददाता राज्यमन्त्रीको कार्यकक्षमा प्रवेश गरे र उनलाई सोधे – गाडीका कारण दुःख पाउनुभएछ, हैन ? प्रश्न सुनेपछि राज्यमन्त्री ज्वारचन केहीबेर मुस्कुराइन् मात्र । एकै छिनपछि भनिन् – ‘राज्यमन्त्री भएकै दिनदेखि मलाई अन्याय भइरहेको छ । शुरूमा शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएको बताए । पछि वाणिज्यमा पठाए । मलाई दिएको गाडी थोत्रो रहेछ । मलाई हेपेका हुन् । मलाई हेप्ने ? यस्तो अन्याय गर्न पाइन्छ ? राम्रो गाडी चाहिन्छ भनेकी छु । शायद व्यवस्था गर्दै होलान् ।
सहयोगी र महिला अंगरक्षक गाडीमा अटाएनन्
सरकारी गाडी बिग्रेपछि राज्यमन्त्री ज्वारचन आफ्नै सानो कारमा चढ्ने गरेकी छन् । सोमवार कार्यालय आउँदा र घर फर्कंदा उनको गाडीमा उनी र नेपाली सेनाका अंगरक्षक मात्र अटाए । नेपाली प्रहरीले उपलब्ध गराएको एकजना महिला अंगरक्षक र सहयोगी उक्त गाडीमा अटाएनन् । एउटै गाडीमा नअटेपछि नेपाल प्रहरीकी महिला अंगरक्षकले राज्यमन्त्री ज्वारचनलाई स्यालुट हानिन् र मन्त्रालयको गेटबाट बिदा गरिन् जुन लोकान्तरको भिडियोमा कैद भएको छ ।
अस्पताल जान पाइनन्
राज्यमन्त्रीका सहयोगीहरूका अनुसार सानो कारमा आवतजावत गर्नुपरेका कारण सोमवार बेलुका अस्पताल जाने राज्यमन्त्रीको कार्यक्रम प्रभावित भएको छ । सुरक्षा लगायतका कारणले झण्डाविहीन गाडीमा आवतजावत गर्न उचित नहुने राज्यमन्त्रीका सहयोगीले बताए ।
समाचार नबनाइदिनुस् प्लिज
थोत्रो गाडीका कारण राज्यमन्त्री ज्वारचनले खेप्नुपरेको अपमानबारे उच्च सरकारी अधिकारीले समाचार नबनाइदिन लोकान्तरसँग आग्रह गरेका छन् । प्रधानमन्त्री कार्यालय, वाणिज्य र गृह मन्त्रालयका अधिकारीलाई थोत्रो गाडीले दिएको समस्याका बारेमा सोधिएको प्रश्नमा औपचारिक प्रतिक्रिया दिन मानेनन् । ‘समस्याबारे थाहा पाएका छौं, अब जतिसक्दो छिटो गाडीको प्रबन्ध गर्छौं । कृपया समाचार वनाएर हाम्रो बेइज्जत नगरिदिनुहोस्,’ तिनै निकायका जिम्मेवार अधिकारीले लोकान्तरसँग भने ।
दर्जनौं महंगा गाडी अलपत्र
प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयको बीचमा रहेको पार्किङ स्थलमा महिनौंदेखि दर्जनौ नयाँ र महंगा गाडी अलपत्र छोडिएको छ । ती गाडी किनेपछि प्रयोग गरिएको छैन । मर्मत सम्भार नहुँदा ती गाडी धुलोले छोपिएका छन् । लोकान्तर समाचारदाताले ६ महिनादेखि ती गाडीलाई जस्ताको तस्तै राखेको देखेका छन् । प्रयोगमा ल्याइएका छैनन् । एकातिर महंगो मूल्यका गाडी यत्तिकै अलपत्र छोड्ने, अर्कोतर्फ मन्त्रीहरूलाई थोत्रा गाडी दिएर हैरान पार्ने ? यस्तो गर्न मिल्छ ? लोकान्तरको प्रश्नमा गृह मन्त्रालयका एक सहसचिवले भने, – ‘तपाईंको कुरा त सही हो तर के गर्ने ? कसैलाई चासो छैन ।’
यो पनि पढौं : ‘किसुनजीकी कान्छी दिदी’ राज्यमन्त्री बनेकी सुवर्ण को हुन ?