
नेकपा एमालेको निर्देशनविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका पूर्वमन्त्री प्रेम आलेले आफूले फ्लोर क्रश गर्नुको कारणबारे पछि खुलस्त पार्ने बताएका छन् ।
लोकान्तरलाई संक्षिप्त प्रतिक्रिया दिँदै आलेले पार्टी एकताको प्रयास चलिरहेका बेला धेरै बोल्दा कुरा बिग्रिने बताए ।
'म अहिले बोल्न मिल्दैन । पछि खुलस्तसँग भन्छु,' आलेले भने, 'अहिले पार्टी एकताको प्रयास भइरहेका बेला धेरै बोल्यो भने कुरा बिग्रिन्छ ।'
जनतालाई के जवाफ दिनुहुन्छ ? उनीहरूलाई पनि कारण थाहा हुनुपर्यो नि भन्ने प्रश्नमा केही खुलेका आलेले आफूलाई अपमानजनक ढंगले मन्त्रीबाट हटाएकोमा आक्रोश पोखेको संकेत गरे ।
'एउटा मन्त्रीलाई आफ्नो पद गुमेको आफैंलाई थाहा हुँदैन भने त्यस्तो लोकतन्त्र के काम ? यो त राणा शासन जस्तो भैहाल्यो नि,' आलेले आक्रोशित हुँदै भने ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार प्रतिनिधि सभामा विश्वासको मत लिँदा एमालेका २२ सांसदले फ्लोर क्रश गरेर देउवालाई मत दिएका थिए ।
यसरी मत दिनेमध्ये १४ जना माधव नेपाल पक्षका थिए भने ८ जना ओलीपक्षीय भनिएका सांसद नै थिए ।
ओली सरकारमा वनमन्त्री रहेका आले आफ्नो कार्यकालमा विभिन्न अभिव्यक्तिका कारण चर्चा र विवादमा आएका थिए ।
झण्डै ५ महिना सरकारमा रहेका आलेलाई प्रतिनिधि सभा विघटनपछि हटाइएको थियो ।