
त्रिभुवन विश्वविद्यालयअन्तर्गतको एमबीएस र एपीए तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले आफ्नो नजिकको परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने भएका छन् ।
व्यवस्थापन संकाय डीन कार्यालयले सूचना जारी गर्दै महामारीका कारण आफू पढ्ने क्याम्पस, कलेज, विभाग, स्कुल वा तोकिएको परीक्षा केन्द्रमा उपस्थित हुन नसकिने अवस्थामा आफू बसेको जिल्ला वा नजिकको जिल्लामा रहेको परीक्षा केन्द्रबाट परीक्षा दिन सकिने जनाएको हो ।
सूचनामा भनिएअनुसार परीक्षार्थीले प्रवेश पत्रको फोटोकपीसहित विस्तृत विवरण उल्लेख भएको निवेदन दिई केन्द्राध्यक्षको पूर्वस्वीकृतिपछि प्रवेश पत्र रुजु गराएर परीक्षा दिन सक्ने डीनको कार्यालयले जनाएको छ।
यसरी परीक्षा दिने विद्यार्थीको उत्तरपुस्तिका भने छुट्टै शिल गरेर डीनको कार्यालयमा पठाउनु पर्नेछ । तर, काठमाडौं उपत्यकाको हकमा भने यो व्यवस्था लागू नहुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
एमबीएस र एमपीए तेस्रो सेमेस्टरको परीक्षा साउन १२ गतेदेखि सञ्चालन हुँदैछ ।