०७ असार २०८३, आइतबार

खीर खाएर साउने १५ पर्व मनाइँदै

साउन १५, २०७८
खीर खाएर साउने १५ पर्व मनाइँदै

महोत्तरी जिल्लाका गाउँ, नगर बस्तीमा शुक्रवार साउने १५ पर्व मनाइँदैछ ।

खासगरी पर्वते मूलका हिन्दूहरूले मनाउने यस पर्वमा खीर खाने परम्पराअनुसार जिल्लाका उत्तरवर्ती क्षेत्रमा दूधको जोहोमा सर्वसाधारण जुटेका छन् ।

जिल्लाका बर्दिवास, गौशाला, भङ्गाहा र औरही नगरपालिका क्षेत्रमा पर्वते मूलका हिन्दू धर्मावलम्बीको सघन बसोबास छ ।

सामान्यतया असार र साउन मासको धान रोपाइँमा हिलोमा धसिएर काम गर्दा चिसाले गर्ने असर कम गर्न मध्य साउनमा खीर खाने परम्परा बसेको बूढापाकाको भनाइ छ । यद्यपि यसपालि असार मध्यपछिको मुसलधारे बर्खासँगैको भेलले रोपेको रोपो बगाएको, गलाएको र त्यसयताका बीउको अभाव एवं डुबान समस्याले अपेक्षित रोपाइँ नभएको यहाँका किसान बताउँछन् ।

वर्षभरि गुजारा चलाउने मुख्यबाली धान रोपाइँ राम्रो नभएपछि खुशीले भन्दा परम्परा थेग्न मात्रै साउने १५ पर्व मनाइँदै गरिएको सर्वसाधारण किसानको भनाइ छ । पर्वमा खीर खाने परम्परा थेग्न बिहानैदेखि दूधको जोहोमा भौंतारिनुपरेको धेरैजसोले बताएका छन् । 

पर्वको अवसरमा दूधको एक्कासि अभाव भएको र मूल्य पनि आकासिएको सर्वसाधारणको गुनासो छ । बस्तीमा पछिल्लो १ वर्षयता ६० प्रतिलिटर पाइँदै आएको दूध आजचाहिँ ८० रुपैयाँमा पनि नपाइएको भङ्गाहा–४ रामनगरकी दीपमाया श्रेष्ठ बताउँछिन् ।

जिल्लाका बर्दिवास, गौशाला र औरहीका बजार क्षेत्रमा पनि दुग्ध पसलमा शुक्रवार दूध लिनेको भीड छ ।

साउने १५ पर्वमा विवाह भएर गएका छोरीचेली र ज्वाइँचेलालाई निम्ता गरेर खीर ख्वाउने पुरानो परम्परा रहेको बूढापाका बताउँछन् । जिल्लाका बर्दिवास, भङ्गाहा, गौशाला र औरही नगर क्षेत्रका बजारमा दूधको माग निकै बढेको यस भेगका दूध व्यापारीले बताएका छन् ।

कमेन्ट गर्नुहोस्