
समुदायमा निर्भर मेचीनगरको काँकडभिट्टा बहुमुखी क्याम्पस कोरोना महामारीले भएको छ ।
बन्दाबन्दीका सिर्जना गरेको चुनौतीलाई अवसरमा बदल्दै भर्चुअल कक्षाबाट पठनपाठन सञ्चालन गर्न सफल कारण घरभित्रै बसेका आफ्ना विद्यार्थीलाई अनलाइनबाट पढाउन क्याम्पसको भौतिक पूर्वाधार र शैक्षिक जनशक्तिलाई डिजिटल प्रविधियुक्त बनाइएको छ । शिक्षक तथा विद्यार्थी भर्चुअल पठनपाठनमा अभ्यस्त हुन थालेका छन् ।
मेचीनगर–६ काँकडभिट्टामा रहेको यस क्याम्पसमा हाल ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत् छन् । भौतिक कक्षा सम्भव नहुने भएपछि क्याम्पसले पठनपाठन कार्यलाई सम्पूर्णरूपमा डिजिटल प्रविधिमा रूपान्तरण गरेको क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले बताए ।
गत महिनादेखि अनलाइन कक्षा सञ्चालन गरिरहेको क्याम्पसले पहिलो चरणमा क्याम्पस र शिक्षक समूहलाई प्रविधिमैत्री बनाउन पहल गर्यो । यस क्रममा क्याम्पसमा ई–लाइब्रेरी, प्रोजेक्टर, इ–हाजिरी, इन्टरनेट, नेटवर्किङ, सीसी क्यामेरा, चेन्जिङ रूम र प्राथमिक स्वास्थ्य उपचार कक्षको व्यवस्थापन गरेको क्याम्पस प्रमुख उप्रेतीले बताए ।
‘कोरोना संक्रमणको जोखिमका कारण भौतिक कक्षा चलाउन सम्भव भएन, पढाइ पनि रोक्नु हुँदैनथ्यो,’ क्याम्पस प्रमुख उप्रेतीले भने, ‘त्यसकारण हामीले क्याम्पसलाई पूरै ‘डिजिटलाइज्ड’ स्वरुपमा लैजाने काम गर्र्यौं ।’
हाल शिक्षकहरूले क्याम्पस र घर दुवै स्थानबाट अनलाइन कक्षा चलाउन थालिसकेको र त्यसबाट विद्यार्थी लाभान्वित भएका उनको भनाइ छ ।
क्याम्पसले अनलाइन कक्षा सहजिकरणमा मद्दत पुर्याउन लागत साझेदारीमा १५ जना शिक्षकलाई ल्यापटप वितरण गरेको छ । ल्यापटप खरिदमा क्याम्पसले शिक्षकलाई जनही ३० हजार रुपैयाँ अनुदान दिएको छ । ल्यापटप किन्न अरु खर्च शिक्षक आफैंले व्यहोरेका छन् ।
ल्यापटप किनेका शिक्षकलाई भर्चुअल कक्षा सञ्चालनसम्बन्धी तालिम प्रदान गरेको छ भने जुमको अर्जिनल भर्सन पनि खरिद गरेको छ । प्रविधि प्रयोगमा सहजिकरणका लागि १ जना प्राविधिक विज्ञ समेत क्याम्पसले नियुक्त गरिसकेको छ ।
हाल हरेक बिहान ६ः३० बजेदेखि साढे १० बजेसम्म जुम प्रविधिबाट अनलाइन कक्षा सञ्चालन भइरहेको छ । विद्यार्थीले भौतिक कक्षामाभन्दा बढी सजिलो र लाभदायक अनुभूति गरेका बताएका छन् ।