
मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतका केन्द्रीय क्याम्पसमा प्राध्यापक तथा विद्यार्थी सङ्गठनको जारी आन्दोलनका कारण परीक्षा अनिश्चित बनेको छ । विवाद समाधान नहुँदा एक साताका लागि साउन ११ गते स्थगित गरिएका परीक्षाका कार्यक्रम पुनः एक साता सारिएको छ ।
मध्यपश्चिम विश्वविद्यालय, परीक्षा व्यवस्थापन कार्यालयले आज सूचना जारी गर्दै पूर्वनिर्धारित परीक्षाका कार्यक्रम असामान्य परिस्थितिका कारण पुनःएक साताका लागि स्थगित गरिएको जनाएको छ । परीक्षा व्यवस्थापन कार्यालयले साउन १२ गतेदेखि सञ्चालन गर्ने गरी विज्ञान तथा प्रविधि सङ्कायको स्नातक र स्नातकोत्तर तहको सत्रान्त परीक्षाको समयतालिका सार्वजनिक गरेको थियो । विश्वविद्यालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत विद्यार्थी सङ्गठनबीच भइरहेको वार्ता निष्कर्षमा पुग्न सकेको छैन ।