२७ असार २०८३, शनिबार
एमाले विवाद

बिथोलियो एमाले एकता प्रयास : माधव नेपाल पक्ष भन्छ, ‘ओलीले विभाजनको बाटो रोजे’

साउन २६, २०७८
बिथोलियो एमाले एकता प्रयास : माधव नेपाल पक्ष भन्छ, ‘ओलीले विभाजनको बाटो रोजे’

नेकपा एमालेको संस्थापन पक्ष मात्र सम्मिलित केन्द्रीय कमिटी बैठकले पार्टीको संरचना फेरबदल गर्ने र सबैजसो अधिकार अध्यक्षमा केन्द्रित गर्ने गरी तयार गरेको विधान संशोधन प्रस्ताव स्वीकृत गरेपछि एमालेको आन्तरिक एकता प्रयास बिथोलिएको छ ।

आफूहरूको सहभागिता विनाको बैठकले गरेको निर्णयलाई माधव नेपाल पक्षले एकलौटी रूपमा पार्टी कब्जा गर्ने अध्यक्ष केपी शर्मा ओलीको रणनीतिका रूपमा व्याख्या गरेको छ ।

साउन २५ मा ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले संघीय संरचना अनुरूप पार्टी संरचना बनाउने र अध्यक्ष तथा केन्द्रीय सदस्य मात्रै महाधिवेशनबाट निर्वाचित गर्ने गरी तयार गरिएको विधान संशोधनको प्रस्ताव अनुमोदन गरेको हो ।

अब यो प्रस्ताव तल्लो तहका कमिटीमा लगेर देशव्यापी छलफल चलाउने र आएका सुझावसहित भदौको २७ र २८ गतेको विधान अधिवेशनमा प्रस्तुत गरिने पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताए । 

पार्टीका पदाधिकारी भने केन्द्रीय कमिटीले चयन गर्ने विधि प्रस्तावमा समेटिएको छ ।

एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला केन्द्रीय कमिटीले अनुमोदन गरेको यो प्रस्तावले पार्टीभित्रको विवाद थप चर्काएको नेपाल पक्षका नेताहरूले बताएका छन् । 

एमाले उपाध्यक्ष एवं माधव नेपालनिकट नेता युवराज ज्ञवाली ओली पक्षका पछिल्ला गतिविधिले पार्टी एकता प्रयास खल्बलिएको बताउँछन् । 

‘स्थायी कमिटी र केन्द्रीय कमिटीमा लामो छलफल गरेर एकतालाई प्रभावित गर्ने कुनै क्रियाकलाप नगर्ने र विवाद समाधानलाई निष्कर्षमा पुर्‍याउने संस्थागत निर्णय गरेर प्रयास भइरहेका बेला उहाँहरूले जानीबुझी अवरोध सिर्जना गर्नुभयो । यसले पार्टी विभाजनलाई सहयोग गर्छ’, ज्ञवालीले भने, ‘तर, अहिल्यै ढोका बन्द भयो, सम्भावना टुट्यो भन्ने अवस्थामा पुगिसकेका छैनौं । पार्टी एकतामा गम्भीर छौं ।’

ओली पक्षको गतिविधि हेर्दा पेलेरै जाने नीति लिएको देखिएको ज्ञवाली बताउँछन् । भावी रणनीति तय गर्ने विषयमा अनौपचारिक छलफल भइरहेको र चाँडै बैठक बसेर निर्णयमा पुगिने उनले बताए ।

एमाले उपाध्यक्ष एवं नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले ओली पक्षको एकलौटी निर्णयका कारण पार्टी एकताको बाटो तत्कालका लागि बन्द भएको बताइन् ।

‘पार्टी विवाद समाधानका लागि बैठक र गतिविधि रोक्न हामीले भनेका थियौं । उहाँहरूले एकलौटी बैठक राखेर त्यस्तो निर्णय गर्नुहुँदैनथ्यो । यसले एकताको वातावरण बिग्रियो । पार्टी एकताको बाटो बन्द भयो’, शाक्यले भनिन् ।

नेतृत्वलाई एकलौटी निर्णय गर्ने अधिकार दिँदा अलोकतान्त्रिक हुने भएकाले पार्टीले बहुपदीय प्रणाली अवलम्बन गरेको स्मरण गर्दै उनले अहिले फेरि सबै अधिकार अध्यक्षमै केन्द्रित गर्न खोज्नुले ओली कसरी अगाडि बढ्न चाहन्छन् भन्ने पुष्टि भएको उनको विश्लेषण छ ।

‘अध्यक्षले निरङ्कुश ढंगले आफ्नो अनुकूलता अनुसार पार्टी चलाउने होइन । अध्यक्षलाई एकलौटी निर्णय गर्ने अधिकार पनि हुँदैन । तर, उहाँले त्यही बाटो रोज्दै हुनुहुन्छ, जसमा हामी सहमत हुन सक्दैनौं’, शाक्यले भनिन् ‘उहाँहरूले गलत बाटो रोज्नुभयो भन्ने लागेको छ । स्थायी कमिटीमा छलफल गरेर थप निष्कर्षमा पुग्छौं ।’

पार्टी एकताको बाटो बन्द भएकाले समानान्तर गतिविधिलाई तीव्रता दिने उनले बताइन् । ‘समानान्तर गतिविधि निरन्तर छ, तर त्यति व्यवस्थित हुन सकेको छैन । अब यसलाई थप व्यवस्थित बनाउँछौं । सदस्यता वितरण र नवीकरणका कुरालाई थप प्रभावकारी बनाउँछौं’, शाक्यले भनिन् । 

एमाले विवाद समाधानका लागि गठित (अहिले विघटित) कार्यदलका सदस्य एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवाली भने कसैलाई अनन्तकालसम्म पर्खेर बस्न नसकिने बताउँछन् ।

‘छलफल चल्दै गर्छ, पार्टी काम तीव्रतासहित अघि बढाइरहन्छौं । विवादमा रहेको पक्ष जहिले पार्टी काममा फर्कन्छ, त्यहीबेलाबाट जिम्मेवारीमा रहेर काम गर्छन्’, ज्ञवालीले भने । 

समान हैसियतका दुई अध्यक्ष र निर्णय प्रक्रियामा दुवैको हस्ताक्षर हुनुपर्ने माधव नेपाल पक्षको प्रस्ताव स्वीकार्न नसकिने उनको भनाइ छ ।

‘पार्टीको महाधिवेशन समयमा भएन भने वैधानिकताको प्रश्न उठ्छ । एमाले अहिले कांग्रेस जसरी समस्यामा पर्न सक्दैन । महाधिवेशन समयमा सम्पन्न गर्नु हाम्रो दायित्व हो’, ज्ञवालीले भने, ‘यसै वर्ष स्थानीय चुनाव हुन्छ । कमिटीलाई यत्तिकै राख्न पनि भएन । त्यसकारण हामी कामलाई अघि बढाउँछौं । यसको मतलब आउने साथीहरूका लागि ढोका बन्द गर्छौं भनेको होइन ।’ 

पार्टी काम रोक्नु भन्ने कुरा पार्टीलाई विघटनमा लैजाने उद्देश्यबाट प्रेरित भएको ज्ञवालीको आरोप छ ।

माधव नेपाल पक्षले २०७५ जेठ २ मा फर्किएपछि सबै मिल्ने भनेकाले १० बुँदे सहमति भएको तर, उनीहरूले नै त्यसलाई अस्वीकार गरेको ज्ञवालीले बताए । 

‘केन्द्रीय कमिटीले १० बुँदेलाई अनुमोदन गरेर कार्यान्वयन गर्ने निर्णय गर्‍यो, तर उहाँहरू बैठकमा आउनुभएको छैन । बीचमा माधव कमरेडलाई दोस्रो अध्यक्ष बनायो भने समस्या समाधान हुन्छ भन्ने प्रस्ताव आयो । अध्यक्षले त्यसो हो भने ठिकै छ भन्नुभयो । तर, माधव कमरेडले मलाई पदलोलुप देखाउनका लागि ल्याइएको प्रस्ताव हो, मेरो त विधि र नीतिको कुरो हो, मलाई पद मञ्जुर छैन भनेपछि त्यसको औचित्य रहेन । अब गर्ने के ?’, ज्ञवालीले प्रतिप्रश्न गरे ।

ज्ञवालीले थपे, ‘जेठ २ मा फर्कने निर्णय भइसकेको छ । जो जहिले आउनुहुन्छ त्यही बेलाबाट काममा लाग्नुहुन्छ । जिल्ला कमिटी, जनसंगठनका अध्यक्षहरू फर्केर काममा लाग्छौं भन्नुहुन्छ भने तत्तत् हैसियतमा काममा लाग्नुहुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्