२९ जेठ २०८३, शुक्रबार
लोकान्तर सम्पादकीय

अफगानिस्तानमा रहेका नेपाली नागरिकको उद्धारमा कुनै विलम्ब नगर

अफगानिस्तानमा रहेका नेपाली नागरिकको उद्धारमा कुनै विलम्ब नगर

दक्षिण एसियाली सहयोग संगठन (सार्क)को सदस्य राष्ट्र समेत रहेको अफगानिस्तानमा तालिबानी विद्रोहीले कब्जा जमाएका छन् ।

तालिबानले राजधानी काबुल कब्जा गरेपछि बहालवाला राष्ट्रपति असरफ गानी देश छाडेर भागेका छन् ।

तालिबानी विद्रोही राजधानीतर्फ लम्केसँगै शक्ति राष्ट्रहरू अमेरिका, बेलायतलगायतका मुलुकले दूतावासमा रहेका कर्मचारीको उद्धार गरिरहेका छन् । 

राष्ट्रपति भवनमा समेत कब्जा जमाएपछि अफगानिस्तानमा तालिबानको सरकार बन्ने अब निश्चित जस्तै छ ।

समाचारहरूमा जनाइएअनुसार अन्तर्राष्ट्रिय विमानस्थल समेत सुरक्षाकर्मीको नियन्त्रणबाहिर गएको देखिएको छ । राष्ट्रपति गानी भागे पनि केही समय अफगानिस्तानमा तनाव उत्पन्न हुनसक्ने विश्लेषण भइरहेका छन् ।

पुरानो सरकार भत्किएको र नयाँ बनिनसकेका कारण अफगानिस्तानको अवस्था राज्यको नियन्त्रणबाहिर गएको देखिएको छ ।

त्यहाँ रहेका विदेशी नागरिक असुरक्षित महशुस गरेरै विदेशी मुलुकले आफ्ना नागरिकको उद्धार गरिरहेका छन् ।

नेपालले पनि शक्ति राष्ट्रको समन्वय र आफ्नै पहलमा नेपालीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काउन लाग्नु जरुरी छ । 

सरकारले अफगानिस्तानमा १५ सय नेपाली रहेको औपचारिक डाटा रहेको जनाएको छ । तर, त्यहाँ त्यो भन्दा बढी नेपाली रहेको आशंका गरिएको छ ।

रोजगारीको शिलशिलामा अनौपचारिक च्यानलबाट पनि त्यहाँ धेरै नेपालीहरू पुगेको अनुमान भइरहेको छ ।

काबुलमा नेपालको दूतावास नभएका कारण त्यहाँ रहेका नेपालीको संख्या र अवस्था यकिन गर्न सकिएको छैन । जसरी पुगेका भए पनि नेपालीहरूको उद्धार गर्नु राज्यको दायित्व एवं कर्तव्य हो । 

सेनासहित उपस्थित अमेरिका बेलायतजस्ता मुलुकले आफ्ना नागरिकको उद्धार गरिरहेको अवस्थामा नेपालले आफ्ना नागरिकको उद्धारमा विलम्ब गर्न मिल्दैन । नेपालीको उद्धारका विषयमा सरकारले अविलम्ब प्रक्रिया थालोस् र स्रोत साधनको कमी हुन नदेओस् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतवार निर्देशन गरिसकेको बताएका छन् । 

प्रधानमन्त्रीले उल्लेख गरेजस्तै सुरक्षा र उद्धारको प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व पक्कै पनि सरकारको दायित्व हो ।

सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउने प्रतिबद्धता देउवाले जनाएका छन् । यही स्पिरिटमा सरकारले काम गरोस् र तत्कालै उद्धार प्रयास थालोस् । 

salt training

कमेन्ट गर्नुहोस्