
केन्द्रीय अखिल फोर्सले स्यानेटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको छ ।
सोमवार शंकरदेव क्याम्पसमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय कमिटीको समन्वयमा केन्द्रीय अखिल फोर्सले स्यानेटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको हो ।
फोर्सले देशभरका विद्यार्थीका मागहरूलाई सम्बोधन गर्ने र मागहरूलाई उठाउने, शैक्षिक मुद्दाहरूमा केन्द्रित हुने र रचनात्मक काम गर्नेमा अखिल फोर्स लागिपर्ने योजनाअनुरुप काम गरिरहेको अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले बताए । उनले देशभरका आंगिक क्याम्पसहरूमा स्यानेटरी प्याड भेन्डिङ मेसिन वितरण गर्ने बताए ।
त्यसैगरी शंकरदेव क्याम्पसकी उपप्रमुख मिखा श्रेष्ठले आंगिक कलेजहरूमा धेरै कुराहरू आवश्यक रहेकाले यस्ता कामहरू गर्दै जान सुझाए ।
उनले महिलाहरूको लागि गरेको यो काम उल्लेखनीय भएको भन्दै आंगिक कलेजका शौचालयमा यस्ता धेरै समस्याहरू रहेको उल्लेख गरे ।
अखिल फोर्सले कलेजमा महिलाहरूलाई पर्ने समस्याहरूलाई कलेज प्रशासनसहित कसैले पनि त्यति ध्यान नदिएको भन्दै त्यसलाई मध्यनजर गरेर यो अभियान शुरू गरेको उल्लेख गरेको छ ।