
कोरोना महामारीका कारण नेपालबाट बाहिरी मुलुकमा रोजगारीमा जानेको संख्यामा ठूलो गिरावट आएको झण्डै दुई वर्ष पुग्न लागेको छ ।
विशेष गरी श्रम गन्तव्यका रूपमा परिचित मुलुकहरूले कोरोना महामारीका कारण श्रमिक माग नगर्दा नेपाली श्रमिकहरू प्रभावित हुँदै आएका छन् ।
वैदेशिक रोजगारका लागि जान चाहनेहरूको संख्या धेरै भए पनि माग कम भएको वैदेशिक रोजगार व्यवसायीहरूले बताएका छन् ।
यस्तै विभिन्न प्रक्रियागत झञ्झट तथा समस्याका कारण पनि नेपालबाट श्रमिकहरू विदेशमा काम गर्न जान नपाएको व्यवसायीहरूको बुझाइ छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले कोरोना महामारी आएसँगै थलिएको वैदेशिक रोजगार व्यवसाय अझै माथि उठ्न नसकेको बताएका छन् ।
पछिल्लो समय कोरोना भाइरसविरुद्धको खोपको विषयले पनि नेपालीहरू वैदेशिक रोजगारीमा जानका लागि समस्या थपिएको उनको भनाइ छ ।
‘कोरोना खोपको विषयमा ठूलो इस्यु बनेको अवस्था छ, खोपको पर्याप्तता नभएको र जम्मा ४ वटा मात्रै खोपलाई स्वीकृति दिँदा यसले केही प्रभाव परेको देखिन्छ,’ महासचिव श्रेष्ठ बताउँछन् ।
अहिले विभिन्न मुलुकहरूले युरोपियन र अमेरिकन गरी विभिन्न ४ वटा खोपलाई मान्यता दिएका छन् । नेपालमा यी खोपहरूको पर्याप्तता नभएका कारण समस्या आएको महासचिव श्रेष्ठको बुझाइ छ ।
यसमाथि सरकारले खोपको बारेमा स्पष्ट निर्णय लिन नसक्दा पनि वैदेशिक रोजगार व्यवसाय प्रभावित भएको उनले बताए ।
कतिपयले अहिले खोप लगाउन नै पाएका छैनन् । खोप लगाएकाहरूले पनि प्रमाणीकरण गराउन सकेका छैनन् ।
‘खोप लगाएको प्रमाणपत्र लिन पनि निकै झञ्झट हुने गरेको अवस्था छ,’ महासचिव श्रेष्ठले भने ।
यस्तै अहिले विभिन्न मुलुकका दूतावासहरूले मागपत्र प्रमाणीकरणमा ढिलासुस्ती गरेर श्रमिकलाई दुःख दिने गरेको पाइएको उनले सुनाए ।
‘आएका मागपत्रहरूलाई प्रमाणीकरण गर्ने विषयमा ठूलो ‘करप्सन’ छ,’ महासचिव श्रेष्ठले भने, ‘उनीहरूले विभिन्न बहानामा मागपत्र प्रमाणीकरण नगरिदिने, एउटाको मागपत्र अर्कोमा सारिदिने जस्ता काम गरेर दुःख दिने गरेका छन् ।’
आकर्षक गन्तव्यमा नै छैन माग
वैदेशिक रोजगारका लागि नेपालबाट १ सय १० मुलुकहरूमा अनुमति छ । जसमध्ये आकर्षक गन्तव्यका रूपमा कतार, साउदी अरब लगायत, मलेसिया लगायतका ७ खाडी मुलुकमा बढी माग हुने गरेको छ । यस्तै जापान र दक्षिण कोरिया पनि वैदेशिक रोजगारीको आकर्षक गन्तव्य हो ।
यी मुलुकहरूमध्ये अहिले कतार र साउदी अरबबाहेक अन्य कुनै पनि मुलुकबाट मागपत्र आएका छैनन् ।
‘कोरोना महामारीका कारण कतिपय मुलुकले रोजगारी पुनः सञ्चालनमा ल्याउन सकेका छैनन् भने कतिपयले मागपत्र जारी गर्न सकेका छैनन्,’ महासचिव श्रेष्ठले भने ।
अहिले कतारबाट सबैभन्दा धेरै मागपत्र आइरहेका छन् । महासचिव श्रेष्ठका अनुसार साउन १ देखि भदौ १ गतेसम्मको अवधिमा करीब ५० हजार मागपत्र कतारबाट आएको छ ।
अहिले कतारले मागपत्र जारी गरेकै कारण नेपालको वैदेशिक रोजगार व्यवसाय बामे सर्न थालेको उनी सुनाउँछन् ।
उनका अनुसार कतारबाट यस आर्थिक वर्ष २०७८/७९ मा ठूलो संख्यामा श्रमिकको माग हुँदैछ ।
कतारमा आगामी वर्ष (२०२२) मा फिफा विश्वकप आयोजना हुँदैछ ।
यसका लागि पनि कतारले ठूलो संख्यामा मागपत्र जारी गर्नसक्ने महासचिव श्रेष्ठको भनाइ छ ।
अहिले कतारपछि श्रमिकका लागि साउदी अरबबाट पनि मागपत्र आएको छ ।
साउन १ देखि भदौ १ गतेसम्मको अवधिमा मात्रै साउदी अरबबाट करीब १५ हजार मागपत्र आएको महासचिव श्रेष्ठले बताए ।
दैनिक ५ सय नेपाली श्रमका लागि बाहिरिन्छन्
कोरोना महामारीकै बीचमा अहिले मुलुकबाट दैनिक करीब ५ सय श्रमिक विदेश जाने गरेका छन् । कोरोना महामारीअघि यो संख्या दैनिक सरदर १ हजार ५ सय थियो ।
हाल विदेशिनेमध्ये अधिकांश कतार र साउदी अरब गइरहेका छन् ।
‘यो संख्या विस्तारै बढ्ने क्रममा छ, तर बढिसकेको भन्ने अवस्था भने छैन,’ विभागका निर्देशक एवं सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले लोकान्तरसँग भने ।
विगतमा दैनिक सरदर १ हजार ५ सय वा सो भन्दा बढी संख्यामा नेपाली श्रमिक श्रम गन्तव्यमा जाने गरेको विभागको तथ्यांक छ ।
यस आर्थिक वर्षको पहिलो १ महिनामा १ लाख १७ हजार जनाले श्रम स्वीकृति पाएको विभागले जनाएको छ ।
वैदेशिक रोजगारीमा कोरोनाको प्रभाव
विश्वका अधिकांश मुलुकमा डिसेम्बर २०२० देखि कोरोना महामारी शुरू भएको थियो । तर नेपालमा भने त्यसको केही समयपछि मात्रै महामारी प्रवेश गर्यो ।
नेपालमा आर्थिक वर्ष २०७६/७७ को पछिल्लो ६ महिना (फागुन)देखि कोरोना महामारी शुरू भएको थियो ।
त्यसको एक महिना ११ दिन अर्थात चैत ११ गतेदेखि सरकारले मुलुकभर बन्दाबन्दीको घोषणा गर्यो ।
२०७७ साउनदेखि बन्दाबन्दी केही खुकुलो भएपनि ठाउँ विशेषको निषेधाज्ञाले निरन्तरता पाइ नै रहेको थियो ।
यसबीचमा वैदेशिक रोजगारका कामहरू पनि ठप्प भए । विस्तारै बजार खुल्दै जाँदा वैदेशिक रोजगारीमा जाने काम शुरू भएको थियो ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा नेपालबाट विभिन्न मुलुकमा करीब ३ लाख ६८ हजार जना वैदेशिक रोजगारीका लागि विभिन्न श्रम गन्तव्य गएका छन् ।
यसअघि आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५ लाख ८ हजार थियो ।
कोरोना महामारीका कारण विभिन्न मुलुक प्रभावित हुँदा आर्थिक वर्ष २०७६/७७ मा २०७५/७६ को तुलनामा १ लाख ४० हजार कम श्रमिक वैदेशिक रोजगारीमा गएका छन् ।
महामारीको क्रम नरोकिँदा वैदेशिक रोजगारीमा जानेको संख्या पनि घट्दै गयो ।
आर्थिक वर्ष २०७७/७८ यो संख्या घट्दै १ लाख ६६ हजारमा सीमित भएको विभागको तथ्यांक छ ।