
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान तोडेका छन्। सोमबार राति अमेरिकाको टेक्ससस्थित डलास स्टेडियममा अस्ट्रियाविरुद्ध २–० को जित निकाल्ने क्रममा दुई गोल गर्दै मेस्सीले यो ऐतिहासिक सफलता हात पारेका हुन्।
यो दुई गोलसँगै मेस्सीको विश्वकपमा कुल गोल सङ्ख्या १८ पुगेको छ। यसअघि क्लोजको नाममा १६ गोलको कीर्तिमान थियो। जारी विश्वकपका मात्र दुई खेलमा मेस्सीले ५ गोल गरिसकेका छन्।
नयाँ इतिहास रचेपछि र टोलीलाई अन्तिम १६ मा पुर्याएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मेस्सीले आफ्नो व्यक्तिगत रेकर्डभन्दा टोलीको जित र समर्थकको खुसी महत्त्वपूर्ण भएको बताए ।
मेस्सीले भने, 'म धेरै खुसी छु, विशेष गरी टोलीको जितका कारण। यो निकै कडा प्रतिस्पर्धात्मक खेल थियो। अस्ट्रियाले निकै उच्च गतिमा खेलिरहेको थियो, त्यसैले हामीले एक सेकेन्ड पनि ध्यान हटाउन सक्ने अवस्था थिएन। छ अङ्क जोड्दै नकआउट चरणमा छनोट हुन पाउनु हाम्रो लागि ठूलो उपलब्धि हो।'
प्रत्येक खेल विशेष लाग्ने बताउँदै मेस्सीले थपे, 'यो पूरै समूहले सँगै हुनु र प्रतिस्पर्धा गर्नुको आनन्द लिइरहेको छ। प्रशंसकहरूको आशालाई खुसीमा बदल्न पाउनु हाम्रा लागि ईश्वरको आशीर्वाद जस्तै हो। यो लामो र कठिन यात्रा हो, हामी एक–एक पाइला गरेर अघि बढ्नेछौँ।'
खेलको क्रममा एक पेनाल्टी चुकाएको प्रसङ्गमा मेस्सीले इमानदारीपूर्वक स्वीकार गरे । भने, 'मैले पेनाल्टी मिस गर्दा र खराब सट प्रहार गर्दा म आफैँसँग निकै निराश भएको थिएँ। तर सौभाग्यवश, हामीले स्थितिलाई सम्हाल्यौँ र तीन अङ्क जोड्न सफल भयौँ, जुन सबैभन्दा महत्त्वपूर्ण कुरा हो।'
अस्ट्रियामाथि जित हात पारेसँगै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा प्रवेश गरिसकेको छ।