०७ असार २०८३, आइतबार

सुदूरपश्चिममा नेकपा (एस) पहिलो बन्दा फाइदा त्रिलोचन सरकारलाई

भदौ २२, २०७८
सुदूरपश्चिममा नेकपा (एस) पहिलो बन्दा फाइदा त्रिलोचन सरकारलाई

सुदूरपश्चिममा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पहिलो दल बनेको छ । यससँगै त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकार अझ बलियो बन्दै गएको छ । 

प्रदेश सरकारमै सहभागी नेकपा (एस) पहिलो दल बनेपछि प्रदेश सरकार सुरक्षित देखिएको हो । 

नेकपा एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीमा सुदूरपश्चिममा हालसम्म १४ जना प्रदेश सभा सदस्यहरूले सनाखत गरेका छन्, जसबाट सबभन्दा ठूलो दल रहेको नेकपा एमालेलाई ठूलो धक्का लागेको छ । अब नेकपा एमाले प्रदेश सभामा चौथो दलमा खुम्चिएको छ । 

नेकपा एमालेका सभामुखबाहेक २४ मध्ये १४ जनाले एकीकृत समाजवादी रोजेपछि नेकपा एमाले ११ जना प्रदेश सभा सदस्यमा सीमित भएको हो । 

अब ५२ सदस्यीय प्रदेश सभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, कांग्रेसका १२, एमालेका १० र जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका १–१ जना प्रदेश सभा सदस्य छन् ।

यसअघि जनता समाजवादी पार्टीमा रहेको भनिएका संसदीय दलका नेता कृष्णबहादुर चौधरीले पनि भदौ २१ गते महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल रोजेका छन् । योसँगै २ जना मात्रै प्रदेश सभा सदस्य रहेको जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरू दुईतिर लागेका हुन् । 

बलियो बन्यो त्रिलोचन सरकार

अन्य प्रदेश सरकारका नेतृत्वहरू परिवर्तन हुँदै आएको र परिवर्तनको संघारमा रहेको बेला नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकार भने झन् बलियो बनेको छ । 

प्रदेश सभामा बलियो पकड बनाएका एकीकृत समाजवादीका नेता तथा प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारीले प्रदेश सरकारलाई थप सशक्त बनाएर लैजाने बताए । सरकार परिवर्तन भन्दा पनि सुदृढ बनाएर लैजाने उनको भनाइ छ । 

नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका प्रमुख सचेतक अक्कल रावलले भने, ‘वाम गठबन्धनभित्रको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी ठूलो दल भएसँगै प्रदेश सरकार र गठबन्धन थप सुदृढ भयो ।’

सरकार बाहिर रहेको नेपाली कांग्रेस पनि चाँडैमा आउने सम्भावना रहेको बताउँदै प्रमुख सचेतक रावलले केन्द्रको राजनीतिक गतिविधिले फरक पार्ने उल्लेख गरे ।

salt training

कमेन्ट गर्नुहोस्