०२ असार २०८३, मंगलबार

दिदीबहिनीको दीर्घायूका लागि दाजुभाइको निराहार व्रत, घरघर पुगेर ‘अग्रासन’ दान

भदौ २८, २०७८
दिदीबहिनीको दीर्घायूका लागि दाजुभाइको निराहार व्रत, घरघर पुगेर ‘अग्रासन’ दान

कैलालीको कैलारी गाउँपालिका–६ बेनौलीका ठागुराम डंगौरा (६३) विगतलाई निरन्तरता दिँदै खानेकुराको कोशेली बोकेर आफ्नी बहिनी कहाँ गए ।

पुस्तौं–पुस्तादेखि चल्दै आएको संस्कार अनुसार डंगौराले अघिल्लो दिन दिदीबहिनीको दीघार्यू तथा सु–स्वास्थ्यको कामना गर्दै निराहार व्रत बसेका थिए । त्यसको भोलिपल्ट भदौ २८ गते खानेकुराको कोशेली स्वरूप अग्रासन दिन पुगेका छन् । 

बेनौलीका अर्का स्थानीय फागुराम डंगौरा (४७) पनि आफ्नी बहिनीलाई अग्रासन दिन गए । दिदीबहिनीहरू अग्रसनको आशामा बसेका हुने बताउने फागुरामले पुस्तौंदेखि चल्दै आएको रीतिअनुसार अग्रासन दिन जान लागेको बताए । 

पश्चिम नेपालको कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ जिल्लामा बसोबास गर्ने थारु समुदायले भदौ २७ गते आइतवार र २८ गते सोमवार अट्वारी पर्व मनाएका छन् । पर्वअन्तर्गत दाजुभाइले आफ्ना दिदीबहिनीलाई कोशेली दिन जाने प्रचलन थारु समुदायमा रहिआएको छ । 

विवाहित चेलीबेटीहरू माइती घरको अग्रासनको पर्खाइमा बसेका हुन्छन् । भनिन्छ, विवाहित चेलीहरू माइती घरबाट दाजुभाइले दिन जाने अग्रासनले नै आफ्नो भोक मेट्ने गर्छन् । विभिन्न परिकारको पोकोसहित अग्रासन दिन जाने दाजुभाइलाई विवाहित चेलीहरूले मानसम्मान गर्ने चलन थारु समुदायमा रहेको बताउँछिन् कञ्चनपुरकी लक्ष्मी चौधरी ।

थारु समुदायमा अट्वारी पर्वलाई नारी सम्मान र भाइचाराको प्रतीकको रूपमा लिने गरिएको बताउँदै उनले पुरुषहरू महिलाको दीघायूको कामना गर्दै व्रत बस्ने गरेको सुनाइन् ।

अग्रासनको पोकोमा अण्डिक चामलको रोटी, खरिया, फुलौरी, खुर्मा, भात, माछाको पक्ली (सिद्रा) परिकारसहित विभिन्न तरकारी र फलफूल रहेको हुन्छ । धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्त्व बोकेको अट्वारी पर्व धुमधामसँग मनाइएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकारले आइतवार तराईका जिल्लामा सार्वजनिक बिदा समेत दिएको थियो ।

अट्वारी पर्व थारु समुदायको मौलिक पर्व हो । अट्वारी पर्वमा थारु जातिले महाभारतका प्रमुख पात्र ५ पाण्डवमध्येका माइला भाइ भीमको श्रद्धापूर्वक पूजाआजा गर्दछन् । ‘भेवा’को नामले थारु जातिले पुकारेर थारु समुदायमा पूजा गरिन्छ । 

ऐतिहासिक पक्ष

कुनै बेला भेवा (भीम) घुम्दै जाँदा तराई (थारु बसोबास गरेको ठाउँ) मा पुगेको किंवदन्ती रहेको छ । सो किंवदन्ती अनुसार तराई क्षेत्रमा एउटा राक्षसले उत्पात मचाउने, दुःख दिने, चेलीहरूमाथि जबरजस्ती गर्ने कुकर्मलाई तीव्रता दिएको थियो । ती सबै समस्याबाट भीमले मुक्त गरेको हुँदा उनको सम्झनामा अट्वारी पर्व मनाउने प्रचलन थारु समुदायमा रहिआएको छ ।

अर्को किंवदन्ती अनुसार एक समयमा द्रोपतिसहित ५ पाण्डवहरू सुर्खेतको काक्रेबिहार घुम्न पुगेका थिए । थारू राजा दंगीशरण र ५ पाण्डवबीच निकै घनिष्टता बढेको थियो । एक समय भीमले रोटी पकाइरहँदा राजा दंगीशरणको राज्यमाथि शत्रुले आक्रमण गरे । बलवान र पराक्रमी भीमले तावामा रोटी हालेर सहयोग गर्न जाँदा गाउँभरका मानिसहरूले तावामा हालेको उनको रोटी पल्टाउने प्रयास गरे तर सकेन । अन्ततः भीमले राजा दंगीशरणलाई सहयोगपश्चात फर्केपछि मात्रै तावाको रोटी झिकेको भनाइ छ । उक्त सहयोग गरेको दिन आइतवार परेकाले पनि अट्वारी पर्व आइतवार मनाउने प्रचलन कायम भएको थारु बुढापाकाहरू बताउँछन् ।

मनाउने विधि र अग्रासनको महत्त्व

सामान्यतया अट्वारी पर्व कृष्ण जन्माष्टमी पर्वपछिको दोस्रो आइतवार पर्दछ । आइतवारभन्दा अघिल्लो राति (शनिवार) दर खाने र आइतवार आधा दिनसम्म व्रत बस्ने गरिन्छ । व्रत बसेको दिन पूजा सकेर फलफूल मात्रै भोग गरिन्छ तर सूर्यास्तपछि खानपान पूरै बन्द गर्नुपर्ने हुन्छ । त्यसपछि सोमवार बिहानै पूजापाठ अर्थात ‘फरहार’ गरिन्छ । बनाइएका विभिन्न परिकारलाई २ भागमा छुट्टाछुट्टै छुट्याइन्छ । छुट्याएको भाग चेलीबेटीलाई अग्रासन (कोशेली) स्वरूप दिनका लागि राखिन्छ भने १ भाग व्रतालुले भोग गर्नुपर्छ, जसलाई फरहार भन्ने गरिन्छ ।

विधिपूर्वक सोमवार बिहानै पनि पूजापाठ गरेपछि फरहार गरेर भोजन ग्रहणपश्चात अग्रासन दिन जाने प्रचलन रहेको छ ।

पर्वमा अन्डी धानको चामलबाट रोटी, खुर्मा, फुलौरी, बरियालगायत परिकार अनिवार्य बनाइने र सगुनकै रूपमा प्रयोग गर्ने प्रचलन थारु समुदायमा रहिआएको छ । 

salt training

कमेन्ट गर्नुहोस्