२० असार २०८३, शनिबार

एमालेले सबै पदाधिकारी महाधिवेशनबाटै निर्वाचित गर्ने, ७० वर्षे उमेर हद कायमै

असोज ३, २०७८
एमालेले सबै पदाधिकारी महाधिवेशनबाटै निर्वाचित गर्ने, ७० वर्षे उमेर हद कायमै

नेकपा एमालेले महाधिवेशनबाट नै केन्द्रीय कमिटीका पदाधिकारी निर्वाचित गर्ने गरी संगठन संरचनाको प्रस्ताव स्थायी कमिटीको बैठकमा पेश गरेको छ । 

आज ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा आगामी विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमा छलफल शुरू भएको छ ।

यसअघि केन्द्रीय सदस्य र अध्यक्ष मात्रै महाधिवेशनबाट निर्वाचित हुने र पदाधिकारी भने अध्यक्षले मनोनयन गर्ने गरी संगठन संरचनाको प्रस्ताव गरिएको थियो । पार्टीभित्र उक्त प्रस्तावको तीव्र आलोचना भएपछि एमालेले त्यसलाई संशोधन गरेर स्थायी कमिटीमा प्रस्ताव आएको बैठकमा सहभागी एक नेताले बताए ।

एमाले अध्यक्ष केपी ओलीको चाहनामा उक्त प्रस्ताव आएको भन्दै नेता कार्यकर्ताहरूले विरोध गरेका थिए । तर, ओलीको चाहनामा मनोनयन गर्ने प्रस्ताव नआएको स्थायी कमिटीका एक नेताले बताए ।

‘त्यसबेला पार्टी अध्यक्षको चाहनामा पदाधिकारी मनोनयन गर्ने प्रस्ताव आएको होइन । स्थायी समितिका केही साथीहरूको त्यस्तो चाहना थियो । प्रस्ताव गरौँ न त प्रतिक्रिया के हुँदो रहेछ भनेर त्यस्तो प्रस्ताव ल्याइएको हो । यसमा अहिले परिमार्जन भइसकेको छ,’ बैठकमा सहभागी एक नेताले भने । 

‘पार्टीलाई प्रादेशिक संरचनामा लैजाने गरी संगठन संरचनाको प्रस्ताव आएको छ । सबै पदाधिकारी महाधिवेशनबाटै निर्वाचित हुने व्यवस्था उल्लेख गरिएको छ । उक्त प्रस्तावमा स्थायी कमिटीका नेताहरूले सुझाव दिने क्रम शुरू भएको छ,’ एक नेताले भने । 

एमालेले केन्द्रीय कमिटीमा उपाध्यक्षको संख्या घटाउने र सचिवको संख्या बढाउने प्रस्ताव गरेको छ । सबै प्रदेश र समावेशी समानुपातिक प्रतिनिधित्वलाई ध्यान दिएर सचिवको संख्या बढाउने प्रस्ताव गरिएको एमाले स्थायी कमिटी स्रोतले बताएको छ । 

धेरैजसो नवौँ महाधिवेशनले पारित गरेअनुसारकै संगठन संरचना रहेको स्रोतले बतायो ।

त्यसबाहेक नेताहरूको उमेर हद पनि ७० वर्ष नै कायम गरिएको छ । ‘आगामी दशौं महाधिवेशनमा उम्मेदवार बन्न ७० वर्षे उमेर हदले कसैलाई रोक्दैनन् । त्यसो हुँदा उमेर हद ठूलो बहसको विषय छैन । त्यसपछिको महाधिवेशनमा पनि ७० वर्ष उमेर पुगेका नेता उम्मेदवार बन्न चाहे भने त्यतिबेला फेरि छलफल हुन सक्छ,’ स्रोतले भन्यो । 

एउटै पदमा दुई पटक भन्दा बढी दोहोरिन नमिल्ने व्यवस्था पनि यथावत् राखिएको छ । 

स्थायी कमिटीमा पेश भएको प्रस्तावमा आज अमृत बोहोरा, केशव बडाल, पुष्प कँडेल, घनश्याम भुसाल, युवराज ज्ञवालीले आफ्नो विचार प्रस्तुत गरेका थिए ।

स्थायी कमिटीमा सबै सदस्यको सुझावसहित पारित भएको दस्तावेज केन्द्रीय कमिटीमा पेश हुन्छ । एमालेले असोजको ८ र ९ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । 

त्यसैगरी एमालेले असोजको १५ देखि १७ सम्म विधान महाधिवेशन बोलाएको छ । विधान महाधिवेशनमा पेश हुने विधान संशोधन, राजनीतिक प्रतिवेदन र संगठनात्मक प्रतिवेदनमा एमालेका स्थायी कमिटी बैठकमा छलफल भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्