०९ असार २०८३, मंगलबार

लुम्बिनी गुरुयोजनाले ४३ वर्षपछि मूर्तरूप लिँदै

असोज ८, २०७८
लुम्बिनी गुरुयोजनाले ४३ वर्षपछि मूर्तरूप लिँदै
फाइल फोटो

लुम्बिनी गुरुयोजनाको अन्तिम कामको शुरूआत भएको छ ।

लुम्बिनी विकास कोषले बिहीवार एक समारोहबीच अबका २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेको छ ।

विकास कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार कोषले लुम्बिनी अनक खड्का कृष्ण जेभी, लामा एपेक्स कमलजीत जेभी, रमन गजुरमुखी रामजानकी जेभी र खानी अर्घाखाँची बाबुल जेभीसँग अलग–अलग ठेक्का सम्झौता गरेको छ ।

सदस्यसचिव शाक्यले भने, ‘गुणस्तरीय काम समयमै सक्ने गरी हामीले ठेक्का सम्झौता गरेका छौं, विश्वका ११५ देशका नागरिकले भ्रमण गर्ने लुम्बिनीको काम अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुनुपर्छ, कुनै कैफियत हुन दिने छैनौं ।’

गुरुयोजनाको अन्तिम कामको शुरूआत भएसँगै लुम्बिनीमा अबका २ वर्षभित्र अस्पताल, सडक १४ किलोमिटर, ड्रेनेज ५५ किलोमिटर, ब्लकरोड २३ किलोमिटर, सडकको दुवैतर्फ ८/८ मिटरको ग्रिनरी, १३ ठाउँमा आकर्षक गेट, पर्सा र लखरियामा मूर्तिसहित भव्य आकर्षक प्रवेशद्वार, ४ वटा पञ्चधातु पार्क, एक सारस सिद्धार्थ पार्क, १ हजार ७०० सडकबत्ती, ८ वटा पार्किङस्थल र आन्तरिक लिङ्केज सडक बनाइने विकास कोषका योजना प्रमुख सरोज भट्टाराईले बताए ।

टीसीआईएल सीआईएफ जेभी प्राविधिक परामर्शदाता रहेको काम ३ अर्ब ५० करोड लागतमा सम्पन्न गर्ने गरी अगाडि बढाइएको योजना प्रमुख भट्टराईले बताए । उनले भने, ‘७ अर्ब रकम बराबरको काम बाँकी थियो, त्यसमध्ये साढे ३ अर्बको कामको ठेक्का सम्झौता भई काम शुरू भयो, अब अझै साढे ३ अर्बको कामको ठेक्का लगाउने प्रक्रिया शुरू भएको छ, फोहर व्यवस्थापन, नदी नियन्त्रण, उत्थान्त अडिटेरियम हल तथा अन्य भवन र हरियालीको काम बाँकी छ ।’

निर्माण व्यवसायीसँग कामको शुरूआत गर्ने गरी सम्झौतामा हस्ताक्षरपश्चात लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले भने, ‘यो सामान्यखाले ठेक्का परियोजना होइन, आजभन्दा ४३ वर्ष अगाडि नेपाल सरकारले तत्कालीन समयमा ७ गाउँ हटाएर शुरू गरेको आयोजना हो, यसले अब मूर्तरूप लिँदैछ ।’

उपाध्यक्ष मेत्तेयाले नेपाल सरकार र नेपालीले सोचेको संसारकै बौद्ध शहरको रूपमा विकास गर्ने परिकल्पनाले साकार रूप लिँदै गर्दा धेरै खुशी लागेको बताए । टुक्रे योजनामा काम गर्दा समयमै गुरुयोजनाको काम नसकिएको जनाउँदै उहाँले दुई वर्षसम्मको मेहेनत र प्रयास तथा सबैको सहयोगले एउटै प्याकेजमा गुरुयोजनाको अन्तिम कामको शुरूआत समेत गरिएको जानकारी दिए ।

उनले निर्माण व्यवसायीसँग भने, ‘नेपालीहरूले पनि अन्तर्राष्ट्रियस्तरको काम गर्न सक्छन् भनेर देखाउने अवसर यहाँहरुलाई प्राप्त भएको छ, भगवान्को आशीर्वाद लिने काम गर्दै हुनुहुन्छ, समय, फिनिङसिङ, गुणस्तर, वन वातावरण, पुरातत्वलाई ध्यान दिएर काम गर्नुहोला ।’

सम्झौतापश्चात निर्माण व्यसायीका तर्फबाट रमन कन्सट्रक्सनका प्रबन्ध निर्देशक पवन महतोले समयमै गुणस्तरीय काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले तयार पारेको लुम्बिनी गुरुयोजना ४३ वर्ष बितिसक्दा समेत अधुरो रहँदै आएको थियो । ४ दशकमा ८० प्रतिशत मात्र काम भएको छ । 

अहिलेसम्म गुरुयोजनाअनुसार विहार क्षेत्रमा सबैभन्दा बढी डेढ अर्ब खर्च भएको छ । १२ वटा विहार नेपालले निर्माण गरेको छ । सबैभन्दा आकर्षक मानिने चिनियाँ र जर्मनीका विहार निर्माणका लागि दुवै मुलुकले ५२ करोड ८० लाख लगानी गरेका छन् । अर्को थाइल्याण्डले १० करोड २५ लाख लागतमा विहार बनाएको छ ।

लुम्बिनीग्राम क्षेत्रमा १ अर्ब २७ लाखभन्दा बढी खर्च भएको छ । त्यस क्षेत्रमा निर्माण भएका होक्के र कासाई होटलले ३० करोड ७० लाख लगानी गरेका छन् । यस क्षेत्रका आकर्षक संरचना मानिने लुम्बिनी संग्रहालय भारत सरकारको ३१ करोड ६८ लाख सहयोगमा निर्माण भएको छ ।

जापानी संस्था रेयुकाईले ३० करोड ८० लाख लागतमा अन्तर्राष्ट्रिय बौद्ध अनुसन्धान केन्द्र निर्माण गरेको छ । यस क्षेत्रमा अझै करीब ३ अर्ब लागतमा विभिन्न भौतिक संरचना निर्माण हुनेछन् । 

लुम्बिनीको सबैभन्दा बढी सुन्दर, आकर्षक र महत्त्वपूर्ण मानिने पवित्र उद्यान क्षेत्रमा ४० करोड लगानी भएको छ । त्यस क्षेत्रमा परिक्रमा पोखरी निर्माणका लागि १३ करोड ३७ लाख खर्च भएको छ । मायादेवी मन्दिर निर्माणका लागि ७ करोड लागेको थियो । लुम्बिनीको मेरुदण्ड मानिने केन्द्रीय नहर क्षेत्रमा २९ करोड ७३ लाख लगानी भएको छ । नहर निर्माणमा मात्रै २४ करोड खर्च भएको छ । 

कोषका अनुसार ४३ वर्षअघि टाँगेले प्रस्ताव गरेको गुरुयोजनाअनुसार लुम्बिनीका प्रमुख भू–भागका रूपमा रहेका ३ वर्गमाइलभित्र उद्यान, अन्तर्राष्ट्रिय विहार र लुम्बिनीग्राम गरी ३ वटा क्षेत्र समावेश छन् । त्यसलाई १/१ वर्गमाइलमा विभाजन गरी उत्तरतर्फ लुम्बिनीग्राम, दोस्रो खण्ड अन्तर्राष्ट्रिय विहार र गुम्बा क्षेत्र नामाकरण गरिएको छ ।

बाँकी १ वर्ग माइलको दक्षिणतर्फ पवित्र उद्यान नाम दिइएको छ । पवित्र उद्यानलाई गुरुयोजनाले सर्वाधिक महत्व दिएको छ । जहाँ बुद्धले धर्तीमा पहिलो पाइला टेकेका थिए । लुम्बिनी ग्राममा विश्वशान्ति स्तुपा, उच्चस्तरीय आवासका लागि होक्के होटल, सारस फाउन्डेसन, मध्यमस्तरीय होटल कासाइ र श्रीलंकाको पिलग्रिमेज हाउस अवस्थित छन् ।

पर्सा–तौलिहवा सडकको दक्षिणपट्टि सांस्कृतिक केन्द्रमा लुम्बिनी अन्तर्राष्ट्रिय अनुसन्धान संस्था, लुम्बिनी संग्रहालय र बसपार्क तथा विकास कोषको कार्यालय समेतका भाग छन् । विहार क्षेत्रलाई २ भागमा विभाजन गरिएको छ । केन्द्रीय नहरको पूर्वपट्टि थेरवादी र पश्चिमपट्टि महायानीहरूका लागि प्लट छुट्याइएका छन् । पूर्वपट्टि नेपाल, भारत, श्रीलंका, म्यानमार, कम्बोडिया र थाइल्याण्डले आ–आफ्नो राष्ट्रिय पहिचानमा विहार तथा अतिथिगृह निर्माण गरेका छन् । 

पश्चिमपट्टि नेपाल, कोरिया, चीन, जापान, फ्रान्स, भुटान, जर्मनीका सरकार तथा संस्थाले पनि आ–आफ्नो अस्तित्व पुष्टि गर्ने विहार एवं स्तुप तयार गरेका छन् । नहर तथा आन्तरिक सडकको दायाँ–बायाँपट्टि योजनाअनुरूप पंक्तिबद्ध ढंगले वृक्षरोपण गरिएको छ । केन्द्रीय नहरको दक्षिण र दक्षिण–पूर्व कुनामा क्रमशः विश्वशान्ति दीप र शान्ति घण्ट अवस्थित छन् । 

सर्कुलर लेभीको बीचमा अवस्थित पुरातात्विक बगैँचामा अशोकस्तम्भ, मायादेवीको मन्दिर, पुष्करिणी तलाऊ, स्तुप र विहारका स्मारकहरू छन् । यो क्षेत्र विशेष संवेदनशील भएकाले वर्षाको बाढीबाट बचाउन वरिपरि चारवटा पोखरी बनाइएका छन् । ३ वर्गमाइलको बाहिरपट्टि मध्यवर्ती क्षेत्र र निषेधित क्षेत्र भए पनि व्यक्तिगत भवन बनाइएको देखिन्छ । सन् १९९७ मा विश्व सम्पदामा सूचीकृत भएको हो, लुम्बिनी । ‘स्मार्टसिटी’का रूपमा विकास गर्ने गरी सरकारले गृहकार्य समेत थालेको छ । 

प्राध्यापक टाँगेको गुरुयोजना पूरा नहुँदै थप २ गुरुयोजनाको विषयमा पनि अभ्यास हुन थालेको छ । कोरियाली प्राध्यापक डा. योङ हुन क्वाकले लुम्बिनी विश्व शान्तिग्रामको गुरुयोजना तयार पारेका छन् । नेपाल सरकारले पनि रूपन्देही, कपिलवस्तु र नवलपरासीलाई जोडेर बृहत्तर लुम्बिनी गुरुयोजनाको योजना प्रस्ताव गरी काम अगाडि बढाएको छ ।

लुम्बिनी गुरूयोजनाको कार्यान्वयन तथा सुपरीवेक्षणका लागि सन् १९७१ मा लुम्बिनी विकास समिति गठन गरियो । इसापूर्व तेस्रो शताब्दीदेखि हालसम्म लाखौं धर्मावलम्बी तथा पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन् । त्यतिबेला सम्राट अशोक आफ्ना गुरू उपगुप्तको नेतृत्वमा बुद्ध जन्मस्थल लुम्बिनी आएको तथ्य कुण्डलवदन तथा अशोकस्तम्भको अभिलेखले पुष्टि गरेका छन् ।

अभिलेखमा शाक्यमुनि भनी स्पष्टरूपमा किटान गरिएको छ । अशोकले लुम्बिनीमा १ लाख असर्फी वितरण गर्नाका साथै एउटा चैत्यसमेत स्थापना गरेका थिए । मौर्य, शुङ्ग, कुषाण र गुप्तकालमा पनि विभिन्न महानुभाव आएर विहार, मन्दिर वा स्तुपा निर्माण गर्ने र कलावस्तु समर्पण गरी श्रद्धा प्रकट गर्दै आएका थिए । त्यतिबेलाका अवशेष लुम्बिनीमा फेला परिसकेका छन् । चिनियाँ यात्रीमध्ये पाँचौं र सातौं शताब्दीमा लुम्बिनी आएका सुई चिङ–चु, फाहियान र हु एन–साङले यहाँको वस्तुस्थिति तथा परिवेशबारे उल्लेख गरेका छन् ।

मायादेवीले स्नान गरेको पोखरी, उत्तरपट्टि २० पाइला हिँडेको र रूखको हाँगा समातेको जस्ता घटनाक्रम उनले फाहियान उल्लेख गरेका थिए । हु एन–साङले ऐनाजस्तो सफा फूल फुलेको स्नान तलाऊ (पुष्करिणी पोखरी), लडेको अशोकवृक्ष, स्तुप आदि देखेको विवरण यात्रा वृत्तान्तमा समावेश गरेका छन् । प्राप्त कलावस्तु एवं पुरावशेषले प्राचीनकालदेखि पालसेनकलाको प्रभावसमेत रहेको पुष्टि गरिएको छ । पूर्व मध्यकालमा खसान प्रदेशका रिपु मल्ल यहाँ आई अशोकस्तम्भमा आफ्नो नाम उत्कीर्ण गराएका थिए । सिकन्दर लोदी (१४८९–१५१७) र औरंगजेव (१६६८–१७०७) को आक्रमणले कपिलवस्तु तथा देवदहमा जस्तै लुम्बिनीमा पनि विभिन्न कलावस्तु विनाश गरिएको तथ्य लुम्बिनी बौद्ध विश्वविद्यालयका अनुसन्धान निर्देशक समेत रहेका प्राध्यापक डा. गितु गिरी बताउँछन् । – नरेश केसी/रासस

salt training

कमेन्ट गर्नुहोस्