
गुरुङ जातिको बाहुल्य रहेको गण्डकीमा आजभन्दा १ दशकअघि दशैं बहिष्कार अभियान चल्यो । अभियान चलाउने गुरुङ समुदाय नै थिए ।
त्यत्तिमै सीमित रहेन अभियान, दशैं जनजातिको होइन, हिन्दूहरूको हो भनी बहिष्कार हुँदा सम्भावित जातीय खललको डर उत्पन्न समेत भयो ।
त्यसैबीचमा संस्कृतिविद् डा. जगमान गुरुङले सम्झाउने प्रयास गरे । उनले नेपालमा हिन्दू, बौद्ध, आदिवासी, जनजाति लगायतमा भेद नभएको, एकअर्काको आन्द्रा गाँसिएको तर्क प्रस्तुत गर्दै सबै समुदायको पर्व दशैं हो भनी आफ्नै गुरुङ समुदायलाई सम्झाएका थिए ।
उनी अझै पनि दाबीका साथ भन्छन्, ‘दशैं जनजातिको पर्व होइन भन्ने क्रिस्चियनले प्रचार गरेका हुन् । हिन्दू धर्मलाई विनाश गर्न गलत प्रचार गरिएको हो ।’
उनी भन्छन्, ‘नेपालमा हिन्दू, बौद्ध, आदिवासी, जनजाति लगायतको बीचमा भेद छैन । हिन्दू, जनजाति, आदिवासी लगायतको बीचमा भेद गराइदिएपछि हिन्दू धर्म पतन हुनुका साथै आदिवासी जनजातिको पनि संस्कृति पतन हुन्छ भन्ने उद्देश्यले गलत प्रचार गरिएको मात्र हो ।’
दशैं पर्व घरघरमा भित्रिँदा गुरुङ समुदायमा अझै पनि भिन्नभिन्न धारणा कायमै छ । कोही दशैंलाई परम्परागत रूपमा मान्दै टीका थाप्दै आएका छन् भने कोही यो पर्वलाई मात्र भेटघाट, दुःखसुख साटासाट, भाइचारा सम्बन्ध विकासको अवसरको रूपमा मात्र लिने गरेका छन् ।
पोखरामा बसोबास गर्ने लमजुङकी पवित्रा गुरुङ अघिल्ला वर्षमा झैं यस वर्ष पनि दशैं मनाउने तयारीमा छन् । घटनास्थापनाको दिन उनले जमरा राखिसकेकी छन् भने नवदुर्गा अवसरमा विभिन्न देवीको पूजाआजा नियमित गर्दै आएकी छन् ।
आफूहरूले पाँचै दिन दशैं मान्ने गरेको र त्यसका लागि गाउँ भुजुङ पुगिसकेको लोकान्तरलाई टेलिफोनमा बताइन् ।
तर गुरुङ समुदायकै केहीमा दशैं बहिष्कारमै छ । तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमु दशैं सबैको साझा पर्व भए पनि गुरुङ समुदायको पर्व होइन भन्दै ३२ वर्षदेखि टीका नथापेको बताउँछन् । ४८ वर्षीय हुमले दशैंमा टीका नलगाए पनि पारिवारिक भेटघाट तथा सद्भावको रूपमा मात्र मनाउने गर्दै आएको प्रस्ट पारे । उनलाई निधारमा टीका थुपारेर मात्र सबै कुरा ठीकठाक हुन्छ भन्नेमा विश्वास रहेनछ ।
गुरुङ समुदायले भिन्नभिन्न ढंगले दशैं पर्वलाई मान्दै आए पनि आपसी भेटघाट, सद्भाव, खानपिन, नाचगान, दुःखसुख साटासाटको अवसरको रूपमा दशैंलाई लिने गरेको पाइन्छ । खासगरी बुद्ध तथा क्रिस्चियन धर्म मान्नेहरू दशैंलाई महत्त्व दिँदैनन् । गुरुङ समुदायमा दशैंलाई मुख्य चाड नमाने पनि उनीहरू पुस १५ अर्थात् ल्होसारलाई मुख्य चाडको रूपमा मान्ने प्रचलन छ ।
गुरुङ तथा तामाङ समुदायमा सेतो टीका लगाउने प्रचलन छ । उनीहरू विवाह, ल्होसार लगायत शुभकार्यमा दहीमा चामल मिसाएर अबिर विनै सेतो टीका लगाउने गर्दछन् । लमजुङको मुख्य बसोबास रहेको घले गाउँ, भुजुङ, गिलुङका गुरुङ समुदायमा यो प्रचलन अझै छ ।

शुरूमा सबै जनजाति तथा क्षेत्री ब्राह्मणले सेतै टीका लाउने चलन थियो । पछिल्लो समय रातो रंग पाइन थालेपछि मात्रै रातो टीका लाउन थालिएको बूढापाका बताउँछन् । उनीहरूका अनुसार व्यापार व्यवसायमा बढी संलग्न नेवार जातिले सबैभन्दा पहिले दशैंमा रातो टीका लाउन थालेका हुन् तर अचेल आदिवासी जनजातिमा पनि हिन्दूको कतिपय कुरामा प्रभाव परेको छ ।
आदिवासी जनजातिको कतिपय कुरामा हिन्दूको पनि प्रभाव परेको छ । घटस्थापनामा जमरा राख्ने, घरघरमा गएर टीका लगाउने, आशिर्वाद ग्रहण गर्ने, एकअर्काको घरमा पाकेका मीठामीठा परिकार बाँडेर खाने प्रचलन गुरुङलगायत प्रायः सबै जातजातिमा छ । यसरी यस प्रदेशका विभिन्न धर्म संस्कृति, रहनसहन मान्ने भए पनि विभिन्न जातजातिले दशैंलाई धार्मिक तथा सांस्कृतिक पर्वको रूपमा मनाउने गर्दछन् ।
पोखरा विश्वविद्यालयका पूर्व उपकूलपति डा. केशरजंग बराल दशैं पर्व आपसी सद्भावको रूपमा मनाउनुपर्नेमा जोड दिन्छन् । उनी मगर समुदायबाट हुर्की बढेको भए पनि दशैं सबैको साझा पर्व बन्नुपर्ने तर्क गर्दछन् ।
देशका ७ प्रदेशमध्ये गण्डकीमा गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, कास्की, लमजुङ, तनहुँ, नवलपुर, स्याङ्जा, पर्वत र बागलुङ जिल्ला पर्दछन् । प्रदेशमा ८५ स्थानीय तह छन् । पछिल्ला जनगणना २०६८ अनुसार प्रदेशको जनसंख्या कूल २४ लाख ३ हजार ७५७ जना छ । गण्डकीमा करीब ९० जातजातिहरू सूचीकृत छन् । प्रदेशमा ब्राह्मण, मगर क्षेत्री पछि सबैभन्दा बढी (११.४ प्रतिशत) गुरुङ जातिको बसोबास छ ।