२० असार २०८३, शनिबार

यसरी सम्पन्न भयो थिमिको खाँः जात्रा

असोज ३०, २०७८
यसरी सम्पन्न भयो थिमिको खाँः जात्रा

दशैंको अवसरमा मध्यपुर थिमिस्थित बालकुमारीमा मनाइने कुभिण्डे जात्रा (नेवार भाषामा खाँः भनेर चिनिने) घटस्थापनाको दिन थिमिको लायकूस्थित तलेजू मन्दिरमा जमरा राखी शुरू भई शनिवार सम्पन्न भएको छ । 

जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपाती ल्याई तलेजू दशैंघरमा भित्र्याएपछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा छ । 

नवमीका दिन कोतमा काटिएको राँगोको टाउको र दशमीको दिनदेखि पूजा गरेको कुभिण्डोलाई एकादशीमा बाजागाजासाथ विगुल फुक्दै लायकू दरबारबाट दिगु भैरव परिक्रमा गरी बालकुमारी ल्याइएको थियो । 

शनिवार ३ जना पमा (थकाली), बाजा बजाउने कुस्ले, कपाली, मुकुण्डो लगाएर तरबार बोक्ने र माला बोक्ने कुटु, विगुल फुक्ने, राजदण्ड समाउने नाइके, राजोपाध्याय सहितको संलग्नतामा जात्रा सम्पन्न गरिएकोे हो । 

बाजागाजासहित लायकूबाट ल्याइएको कुभिण्डोलाई बालकुमारी अगाडि कर्माचार्यले पूजा गरी थकाली (पमा) ले कुभिण्डो काटेका थिए ।

कुभिण्डोको टुक्रा टिपेर लान सक्नेको घरमा सुखशान्ति हुने र ती टुक्राले औषधि समेतको काम गर्ने जनविश्वास छ ।

salt training

कमेन्ट गर्नुहोस्