
एकआपसमा दही छ्यापाछ्याप गरेर मनाइने जात्रा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५ स्थित तौथलीमा सम्पन्न भएको छ ।
विजयादशमीको भोलिपल्ट एकादशीका दिन दशैं सकिएको संकेत गर्दै खड्ग जात्रासँगै त्रिपुरासुन्दरी भगवतीलाई दही चढाएपछि एकआपसमा दही छ्यापाछ्याप गरेर हर्षोल्लासका साथ जात्रा मनाउने गरिन्छ ।
बडादशैंको नवमीको रात मीन अर्थात माछाको पूजा गरी मनाइने र एकादशीका दिन खड्ग जात्रापछि अन्तिममा दही छ्यापेर मनाइने जात्रा अन्यत्र कतै नमनाइने गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताए ।
तेह्रौं शताब्दीमा मल्लकालदेखि शुरू भएको जात्रा गत वर्ष कोरोना महामारीका कारण बन्द गरिएको थियो । जात्रामा निकै टाढाबाट आएका करीब ६ हजार मानिसको उपस्थिति थियो ।
विगतका वर्षमा १ लाख ५० हजार रुपैयाँको दही खरीद गरी दहीको भल बग्ने गरी मनाइएकामा यस वर्ष ५० हजार रुपैयाँको दही खरीद गररेर त्यही दही छ्यापाछ्याप गरेर मनाइएको अध्यक्ष श्रेष्ठले बताए ।
द्वापरयुगमा कौरव र पाण्डवको कलहका कारण पाण्डवहरुले जुवा हारेपछि १२ वर्ष वनबास र १ वर्ष गुप्तवास बसेका महाभारतमा उल्लेख छ । उनीहरू गुप्तवास बसेको ठाउँ दोलखा भएको पनि बताइन्छ । गुप्तवास बस्दा अरुले चिन्ने डरले उनीहरूले सांकेतिक भाषा प्रयोग गर्ने गरेका ऐतिहासिक तथ्यहरूमा भेटिन्छ ।
दोलखा र तौथली डाँडावारि र पारि पर्ने हुँदा दुवै स्थानका नेवारले बोल्ने भाषा प्रायः मिल्दोजुल्दो छ । दोलखाका नेवार समुदायले बोल्ने भाषा तौथलीबाहेक नेपालका कुनै पनि स्थानमा बोलिदैन र बुझ्न पनि कठिन पर्ने स्थानीयको धारणा रहेको पाइन्छ । त्यसैले त्यसै समयदेखि यो जात्राको पनि परम्परा जोडिँदै आएको बताइन्छ । – राम केसी/रासस