३० जेठ २०८३, शनिबार
पर्यटन

हौसिएर ‘ट्रेकिङ गाइड’ बनेका बाबुराम मुस्कानभित्र निराशा लुकाएर बिदा हुने तरखरमा

कात्तिक ६, २०७८
हौसिएर ‘ट्रेकिङ गाइड’ बनेका बाबुराम मुस्कानभित्र निराशा लुकाएर बिदा हुने तरखरमा

फेवाताल किनारमा घुम्दै जाने क्रममा बाबुराम विकलाई कसैले सोध्यो – भाइ ! ट्रेकिङ जाने हो ?

पोखराको एउटा कम्पनीमा मासिक १५ सय रुपैयाँमा मात्र सुरक्षा गार्डको रूपमा दैनिक १२ घण्टासम्म खटिने बाबुरामले ट्रेकिङ अर्थात् पदयात्रा शब्द सुने पनि के कस्तो हुन्छ भन्ने अनुभव थिएन । गोराहरू (विदेशी पर्यटक) सँग घुम्न पाइने, अंग्रेजीमा बातचित गर्नुपर्ने, नयाँ–नयाँ ठाउँ घुम्न पाइने र पैसा पनि मनग्ये कमाउन सकिनेसम्म उनले बुझेका थिए । 

प्रश्न भूइँमा खस्न नपाउँदै बाबुरामले भने, ‘हुन्छ नि ! बरु कहाँ जाने होला ?’ 

त्यसबेला अन्नपूर्ण बेस क्याम्प (एबीसी) ट्रेकिङ जानुपर्ने रहेछ चिनियाँ ८ जनाको समूहलाई लिएर । पोर्टर (हाल सपोर्टर भनिने) बनेर २६ वर्षीय उनी एबीसी जाने भए । 

१५ वर्षअघि पोर्टर बनेर ट्रेकिङ क्षेत्रमा छिरेका बाबुराम अहिले चल्तीका ट्रेकिङ गाइड हुन् । दुःखमा पनि मुस्काउन नछोड्ने उनी अंग्रेजी राम्रै बोल्छन् । नजानेको, नगएको ठाउँ सायदै होला ।

उनी ट्रेकिङ गाडइ मात्र होइनन्, लेकसाइडस्थित ट्रेकिङ कम्पनी ट्रेकिङ टाइमका सञ्चालक समेत हुन् । मासिक एक–डेढ लाख रुपैयाँ सजिलै कमाउने उनी २ वर्षदेखि पूर्ण रूपमा बेरोजगार छन् । 

उनी जसरी सहजै रूपमा यो पेसामा छिरे, उसैगरी निस्कनेवाला छन् ।

‘ट्रेकिङ व्यवसाय चौपट भयो नि !’ हालैको एक बिहान लोकान्तरसँगको कुराकानीमा उनले दुःखेसो पोखे, ‘२ वर्षदेखि कोरोना महामारीले सबैतिर प्रभाव पार्‍यो । आज होला कि भोलि होला कि भनी पर्खिंदै बसियो । अब यस्तै हो भने २ वर्षसम्म ट्रेकिङ पहिलेकै अवस्थामा फर्किनेवाला छैन । अब विकल्प खोज्दैछु ।’ 

डेढ दशक श्रम र पसिना खर्चिएको ट्रेकिङ क्षेत्र छाडेर उनले कुन विकल्प रोज्दैछन् त ?

जिज्ञासामा उनले तुरुन्तै विकल्प पनि रोजिसकेको सुनाए – विदेश जाने वा नेपालमै कृषि कर्म थाल्ने ।

... ... ...

दाङ जिल्लाको बिजौरी गाविस–२ (हाल तुलसीपुर–१९) मा २०३५ सालमा जन्मिएका हुन् बाबुराम । घरको आयस्रोत कमजोर भएकाले उनी कामको खोजीमा सन् २००४ मा पोखरा आए । त्यसबेला हातमुख जोर्न घर बनाउने काममा लागे । ढुंगा, सिमेन्ट, बालुवा सकी–नसकी बोके । अलिअलि पैसा जोहो गर्दै दाङमा रहेको घरपरिवारलाई पठाउने गर्थे । त्यसको २ वर्षपछि २००६ सालमा उनले पोखराको एक कम्पनीमा सुरक्षा गार्डको काम पाए । मासिक १५ सय रुपैयाँमा दैनिक १२ घण्टासम्म खटिनुपर्थ्यो । महिनाभर काम गरेर आउने तलब कोठाभाडा, रासनपानीमा ठिक्क हुन्थ्यो । त्यति चित्तबुझ्दो लागेन उनका लागि । जसोतसो २ वर्ष धकेले । त्यसपछि ट्रेकिङ क्षेत्रतिर छिरेका हुन् । पोखरा बस्दै आएका पत्नी, १ छोरा र १ छोरीका सहारा हुन् उनी । 

ट्रेकिङ क्षेत्रमा पोर्टर बनेर धेरै भारी बोकेका उनले पछि ट्रेकिङ एजेन्ट्स् एशोसिएशन अफ नेपाल (टान) को संयोजनमा भएको ३५ दिने ट्रेकिङ गाइडको तालिम लिने अवसर पाए । सशुल्क तालिमका लागि उनले ८ हजार रुपैयाँ तिरेका थिए ।

सन् २०१४ मा तालिम लिएपछि उनी ट्रेकिङ गाइड बने । विश्वको सर्वोच्च शिखर सगरमाथा, गोरखाको मनास्लु, रसुवाको लाङटाङ, म्याग्दीको धौलागिरी, मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुण्डो, कास्कीको माछापुच्छ्रे लगायत प्रमुख क्षेत्रमा उनले कैयौं पटक ट्रेक गएको बताए । 

त्यसको केही वर्षपछि उनले आफ्नै नाममा ट्रेकिङ कम्पनी खोलेर सोही कम्पनीमार्फत विभिन्न मुलुकका पर्यटकलाई पदयात्रामा लगेको बताए । यसरी उनले मासिक एक–डेढ लाख रुपैयाँ सहजै कमाइ गर्दै आएका थिए । छोराछोरीलाई पोखराकै एक निजी स्कूलमा पढाउन थालेका थिए भने सानोतिनो जग्गाजमिन पनि जोडेका थिए । हाल पोखरामा भाडामा बस्दै आएका बाबुराम कोरोनाका कारण व्यवसाय नराम्ररी प्रभावित हुँदा पूर्ण रूपमा बेरोजगार बनेका हुन् । स्वदेशी पर्यटक दशैंको लामो बिदाको मौका पारेर विभिन्न पर्यटकीय क्षेत्र घुम्न निस्के पनि विदेशी पर्यटक कहिले आउँछन् ठेगान छैन । 

उनको ट्रेकिङ कम्पनी हाल बन्द छ । ट्रेकिङ कम्पनी रहेको घरभाडा समेत तिर्न नसकेर सामान उठाएर आफू बस्ने कोठामै ल्याएको उनले बताए । घर व्यवहार चलाउन ५ लाख रुपैयाँ ऋण काढिसकेका छन् । संक्रमणकालीन अवस्थामा रहेका बाबुराम भन्छन्, ‘जीवन आधा सन्चो, आधा बिसन्चो अवस्थामा छ ।’

बिसन्चोको कुरा त ट्रेकिङ नै रह्यो तर आधा सन्चो के हो ? 

मनभरी दुःख सहेर पनि हाँस्न नछाडेका बाबुरामले भने, ‘परिवारलाई समय दिन सकिएको छ । बच्चाहरूको केयर गर्न सकिएको छ ।’

बाबुराम जस्तै ट्रेकिङ गाइडको तालिमप्राप्त व्यक्ति पोखरा क्षेत्रमा १ हजार हाराहारीमा छन् तर अधिकांशले वैकल्पिक पेसा रोजिसकेको पाइन्छ ।

बाबुराम भन्छन्, ‘लकडाउन हटिसकेपछि अहिले आन्तरिक पर्यटक भने बढेका छन् तर आन्तरिक पर्यटक होटल, रेस्टुरेन्टहरूको लागि मात्र हो । आन्तरिक पर्यटकलाई अनिवार्य गाइड चाहिँदैन । विदेशीका लागि नौलो ठाउँ भएकाले गाइड लैजान चाहन्छन् र उनीहरू पैसा तिर्ने क्षमता पनि राख्छन् । विदेशी पर्यटक नआएसम्म ट्रेकिङ चल्दैन ।’

उनले भने, ‘नेपालमा पर्यटन प्रवद्र्धनका लागि कोरोना लगायतका महामारी हुनु हुँदैन । शान्तिपूर्ण वातावरण तथा राजनीतिक स्थायित्व आवश्यक छ साथै नेपालको सन्दर्भमा सडक एकदमै राम्रो र यातायातको व्यवस्था हुनुपर्छ ।’

‘अर्को सिजन कुर्नुको विकल्प छैन’

टान गण्डकी अध्यक्ष सुशीलराज पौडेल अब चालू सिजन पनि खेरै गएको बताउँछन् । उनले आगामी सिजन कुर्नुको विकल्प नरहेको बताए । ‘ट्रेकिङ व्यवसाय नहुनु भनेको ट्रेकिङ को सबै जना म्यानपावर बेरोजगार बस्नु हो । लगानीको कुरा आफ्नै ठाउँमा छ । टर्न ओभर (कारोबार) नहुँदा कर तिर्न समेत धौंधौं हुने अवस्था छ,’ पौडेल भन्छन्, ‘घरभाडा समेत तिर्न नसक्दा पोखरा क्षेत्रबाट २५ प्रतिशत व्यवसायी विस्थापित भइसकेका छन् । आफ्ना स्टाफ पाल्ने त कुरै छाडौं, आफू नै कसरी पालिने भन्ने अवस्था छ ।’ टान गण्डकीमा १७० जना सदस्य आबद्ध छन् ।

‘अब व्यवसायमा टिकिरहने कसरी गर्ने भन्ने उपाय महत्त्वपूर्ण हो । टिक्नका लागि मौद्रिक नीति, वित्तीय संस्थाको समन्वयमा काम हुनुपर्छ,’ उनले भने, ‘आगामी दिनमा व्यवसाय पूर्ववत् रूपमा फर्कियो भयो त्यसबेला मानव संशाधन (दक्ष जनशक्ति) को अभाव रहन सक्छ । जनशक्ति विनाको व्यवसाय हुँदैन । पर्यटन क्षेत्र पुनर्जागित भए जनशक्ति चाहिन्छ ।’

टानले दशैंको अवसरमा टान क्षेत्रका २०० जना बेरोजगार मजदुरलाई पदयात्रा क्षेत्रको मर्मत सम्भार गर्ने भनी १० दिन बराबरको काम दिएको थियो । उनीहरूलाई नेपाल पर्यटन बोर्ड र यूएनडीपीको सहयोगमा दैनिक २ हजार रुपैयाँसम्म कमाउने गरी रोजगार दिइएको हो । 

salt training

कमेन्ट गर्नुहोस्