
अमेरिकाका राष्ट्रपति जो बाइडनले कार्यकाल सम्हालेको एक वर्ष पनि पूरा नहुँदै उनको लोकप्रियता स्वाट्टै घटेको छ ।
हालैका दिनमा गरिएका विभिन्न सर्वेक्षणमा बाइडनको लोकप्रियतामा ह्रास देखिएको हो । ग्यालप र ग्रिनेल कलेजले सार्वजनिक गरेको सर्वेक्षणमा उनको समर्थक सूचकांक क्रमशः ४२ र ३७ प्रतिशत छ । राष्ट्रपतिको ५० प्रतिशतभन्दा कम समर्थन सूचकांक हुनु भनेको चिन्ताजनक कुरा हो ।
त्यस्तै सीएनबीसीले ८०० जना अमेरिकीमाझ गरेको सर्वेक्षणमा जम्मा ४१ प्रतिशतले बाइडनको समर्थन गरे भने ५२ प्रतिशतले उनको हालसम्मको कार्यकालप्रति असन्तुष्टि जनाए ।
त्यस्तै दी एसोसिएटेड प्रेस–एनओआरसी सेन्टर फर पब्लिक अफेयर्स रिसर्चले गरेको सर्वेक्षणमा ५० प्रतिशतले बाइडनलाई समर्थन गरेको पाइएको छ भने ४९ प्रतिशतले उनको विरोध गरेका छन् ।
गत सेप्टेम्बर महिनामा प्यु नामक संस्थाले गराएको सर्वेक्षणमा बाइडनको समर्थन सूचकांक ४४ प्रतिशत देखिएको छ भने उनको हालसम्मको प्रदर्शनमा असन्तुष्टि जनाउनेहरूको संख्या ५३ प्रतिशत छ ।
अर्थात्, प्रमुख सर्वेक्षण संस्थाहरूको निष्कर्ष बाइडनको पक्षमा छैन । पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको बहुलट्ठीपूर्ण शासनशैली तथा कोरोनाभाइरस नियन्त्रणमा उनले गरेको लापरवाहीका कारण अमेरिकी मतदाताले पोहोर साल दण्ड दिँदै हराएका थिए ।
ट्रम्पलाई पराजित गरेका जो बाइडन लामो समयदेखि राजनीतिमा रहेका अनुभवी तथा सुझबुझपूर्ण प्रशासक मानिन्थे । तर बाइडनले विगत नौ महिनामा ट्रम्पको भन्दा गतिलो काम गरेर देखाउन सकेनन् ।
सीएनएनमा ह्यारी एन्टनले गरेको विश्लेषणअनुसार, बाइडनको पतनमा विभिन्न कारण छन् ।
कोरोना महामारी व्यवस्थापन बाइडनले पनि राम्ररी गर्न नसकेकाले जनताको विश्वास उनीप्रति घटेको एन्टन लेख्छन् । बाइडनको शासनकालमा पनि कोरोनाबाट मृत्यु हुने मानिसको संख्या लगातार बढिरहेको छ । अहिलेसम्म अमेरिकामा सात लाख ५६ हजार २०५ जनाको मृत्यु कोरोनाका कारण भइसकेको छ ।
महामारी व्यवस्थापन गर्न व्यापक खोप अभियान आवश्यक हुन्छ । तर अतिशय स्वतन्त्रताका हिमायती ठूलो संख्याका अमेरिकीहरू खोप लगाउन इच्छुक छैनन् । अझ धार्मिक कट्टरता अपनाउने रिपब्लिकनहरू त खोप अभियानको सशक्त विरोध नै गरिरहेका छन् । राजनीतिक ध्रुवीकरणका कारण पनि कोरोना व्यवस्थापनमा असहजता छ ।
बाइडनले सबै सरकारी निकायसँग ठेक्का लिएका कम्पनीका कर्मचारीलाई अनिवार्य खोप लगाउनका लागि बाध्य बनाउने आदेश दिएको भए पनि त्यसो गर्दा कामदारहरूले संस्था छोडेर जाने चेतावनी कम्पनीहरूले सरकारलाई दिएका छन् ।
नेसनल एसोसिएसन अफ होलसेलर–डिस्ट्रिब्युटर्सका अध्यक्ष तथा सीईओ एरिक होप्लिनले अनिवार्य खोप लगाउने आदेशलाई फिर्ता लिन आग्रह गरेका छन् । उक्त नियम लागू गर्दा हजारौं कामदार जागिरबाट हट्ने र आपूर्ति शृंखलामा आइरहेको समस्या थप बल्झिने उनको भनाइ छ ।
कोरोना कुव्यवस्थापन बाहेक बाइडनले अफगानिस्तानबाट सेना फिर्ता लैजाने प्रक्रियामा गरेको चुकले पनि उनको लोकप्रियतामा आँच आएको छ ।
वाशिङटन पोस्ट–एबीसी न्युज पोल सर्वेक्षणमा तीनचौथाइभन्दा बढी अमेरिकीहरूले अफगानिस्तानबाट सेना फिर्ता बोलाउने बाइडनको निर्णयलाई समर्थन गरे । तर बहिर्गमन प्रक्रियामा अपनाइएको हतारो अनि अव्यस्थित बहिर्गमनका कारण १३ जना अमेरिकी सैनिकले ज्यान गुमाउनुपरेको स्थितिले गर्दा अमेरिकीहरू बाइडनसँग आक्रोशित भए ।
बर्हिगमन प्रक्रियाको व्यवस्थापनका विषयमा सोधिएको प्रश्नमा कुल १ हजार ६ जनामध्ये ५२ प्रतिशत अमेरिकीहरूले बाइडनको आलोचना गरे ।
बाइडनले सुव्यवस्थित तरिकाले अमेरिकी सैनिक तथा नागरिकको बहिर्गमन गराउन नसक्दा तालिबानले सोचेभन्दा छिटो गतिमा काबुल कब्जा गरेको थियो । त्यसपछि अमेरिकाका सहयोगी अफगानीहरूलाई सुरक्षित बाहिर ल्याउन अप्ठ्यारो परेको थियो । अमेरिका तथा नेटो गठबन्धनलाई सहयोग गर्ने अफगानीहरूलाई तालिबानले क्रूर तरिकाले हत्या गरेको खबर आउँदा बाइडनप्रतिको आक्रोश झनै चुलियो ।
त्यसबाहेक अमेरिकाले बेहोरिरहेको आर्थिक समस्यामा बाइडनले राम्रो ध्यान दिन नसकेकाले अमेरिकीहरूमा उनीप्रति असन्तुष्टि बढेको एन्टन लेख्छन् । सरकारको आर्थिक नीतिमा मानिसहरूको विश्वास विगत ६ महिनामा नराम्ररी खस्किएको मिशिगन विश्वविद्यालयको तथ्यांकले देखाएको उल्लेख एन्टनले गरेका छन् । उनका अनुसार, ट्रम्पलाई निर्वाचनमा पराजित गराउँदाखेरी जनता अर्थतन्त्रका विषयमा जति निराश थिए त्यसभन्दा बढी निराश अहिले छन् ।
हुन पनि अमेरिकाको अर्थतन्त्र अहिले सामान्य मानिसका लागि कष्टकर छ । कोभिडका कारण विश्वको आपूर्ति शृंखलामा समस्या आएकाले अमेरिकामा पनि वस्तुहरूको मूल्य बढेको छ । वस्तुको माग भने ह्वात्तै बढिरहेको अनि त्यस अनुपातमा आपूर्ति चाहिँ हुन नसकेको स्थितिले गर्दा महंगी बढेको हो ।
विश्व अर्थतन्त्रमा १०० खर्ब डलरभन्दा बढीको स्टिमुलस प्रवाह गरिएकाले विभिन्न मुलुकहरू कोभिडको असरबाट क्रमशः उक्सिँदैछन् । तर त्यसले वस्तुको माग भयंकर धेरै बढाएको छ ।
अनि महामारीका कारण संसारभरि कामदारहरूको अभाव भएकाले कच्चा पदार्थ उत्पादनका लागि तथा कारखानाबाट ग्राहकसम्म वस्तु पुर्याउनका लागि समस्या आएकाले महंगी बढेको हो ।
अमेरिकीहरूले खाद्यान्न, घरभाडा र अन्य उपभोग्य वस्तुहरूमा पहिलेको भन्दा बढी पैसा तिर्नु परिरहेको छ । एकातिर रोजगारी गुमेर बेरोजगारी भत्ता थाप्नु परिरहेको अनि अर्कातिर दैनिक उपभोगका वस्तुको भाउ पनि बढिरहेको हुनाले सरकारप्रति जनताको आक्रोश स्वाभाविक छ ।
अमरिकाको श्रम मन्त्रालयले दुई साताअघि प्रकाशन गरेको प्रतिवेदनमा ऊर्जासम्बन्धी उत्पादनहरूको मूल्यमा भएको वृद्धिका कारण अन्य वस्तुको मूल्य बढ्ने सम्भावना रहेको तथ्यतर्फ इंगित गरेको छ । बाइडनले लस एन्जलस बन्दरगाह लगायतका प्रमुख बन्दरगाहलाई चौबीसै घन्टा काममा लगाएर आपूर्ति शृंखला सहज बनाउने भनी घोषणा गरेको भए पनि त्यो सोचे जति सजिलो छैन । अझै केही समय अमेरिकीहरूले महंगीको मार सहनुपर्ने अर्थशास्त्रीहरूले पूर्वानुमान गरेका छन् ।
अझ त्यसभन्दा खतरनाक कुरा त, अमेरिकाको अर्थतन्त्र नै मन्दीको मारमा पर्ने जोखिम देखिएको छ । भोक्सईयू नामक वेबसाइटमा एलेक्स ब्राइसन र डेभिड ब्लान्चफ्लावरले प्रकाशन गरेको विश्लेषणमा उल्लेख गरिएअनुसार, कोभिडले अर्थतन्त्रमा दिएको धक्काका कारण आगामी महिनाहरूमा अर्थतन्त्र पुनः समस्यामा पर्ने देखिएको छ ।
परम्परागत श्रम बजारका सूचकांकहरूमा सुधार देखिएको भए पनि अर्थतन्त्रको भविष्यका विषयमा उपभोक्ताहरूले खासै सकारात्मक अपेक्षा गरेका छैनन् । त्यसले मन्दीतर्फ अमेरिकी अर्थतन्त्रलाई धकेल्ने प्रबल सम्भावना देखिन्छ ।
अर्थतन्त्रलाई उकास्नका लागि बाइडन प्रशासनले ३५ खर्ब डलर बराबरको बिल्ड ब्याक बेटर योजना ल्याएर त्यसको विधेयक समेत सदनसमक्ष प्रस्तुत गरिसकेको छ । उक्त विधेयकले अमेरिकाका व्यापक संख्यामा पूर्वाधार निर्माण गर्नुका साथै शिक्षा, स्वास्थ्य, आवास, जलवायु, श्रमसुविधा लगायतका विषयमा खर्च गर्न खोजेको छ । त्यसका लागि धनीहरूसँग कर उठाउने योजना प्रशासनले बनाएको छ ।
विपक्षी रिपब्लिकनहरूले यस प्याकेजका लागि कर उठाउने कुरामा र यसको विशाल आकारमा आपत्ति जनाएर यसलाई रोक्ने प्रयास गरिरहेका छन् । उनीहरूको आपत्तिका कारण यसको आकारलाई घटाएर लगभग ११ खर्ब डलरमा झार्ने बाइडन प्रशासनको योजना छ । त्यस्तो स्थितिमा जनताको जीवनलाई सहज बनाउने विभिन्न कार्यक्रमहरूलाई यसले समेट्न नसक्ने भएको छ र बाइडन प्रशासनप्रतिको आक्रोश मत्थर पार्न गाह्रो हुने भएको छ ।
राष्ट्रिय अर्थतन्त्रमा यस्तो चुनौतीको सामना गरिरहेका बाइडनले परराष्ट्र सम्बन्धमा पनि समुचित कदम चालिरहेका छैनन् । पूर्व राष्ट्रपति ट्रम्पले चीनसँग थालेको व्यापारयुद्ध अन्त्य गर्न बाइडन प्रशासनले ठोस कदम चालेको छैन । बाइडनले पनि चीनलाई चिढ्याउनका लागि ताइवानको समर्थनदेखि लिएर बेलायत र अस्ट्रेलियासँग अकस सम्झौता गरेका छन् । फ्रान्सले अस्ट्रेलियासँग गरेको पनडुब्बी सम्झौतालाई निर्ममतापूर्वक खोसेर अकस सम्झौता गरेका कारण युरोप पनि अमेरिकासँग चिढिएको छ ।
अमेरिकाका व्यापारिक संस्थाहरूले बाइडन प्रशासनलाई चीनसँगको सम्बन्ध सुधार्नका लागि बारम्बार दबाब दिइरहेका छन् । अमेरिकाकी व्यापार प्रतिनिधि क्याथरिकन ताईले चीनसँग सम्बन्ध विच्छेद नगर्ने तर अमेरिकालाई बलियो स्थितिमा राख्ने गरी सम्झौता गर्ने बताएकी छन् । तर राज्यकेन्द्रित आर्थिक मोडल अपनाएको चीनसँग अमेरिका तलै पर्नुपर्ने स्थिति देखिन्छ ।
चीनबाट आउने सस्तो सामानमार्फत अर्थतन्त्र चलायमान राख्ने अमेरिकाले चीनप्रतिको निर्भरता कम गर्ने विकल्पहरूमा पनि उल्लेख्य काम गर्न नसकेको काउन्सिल अन फरेन रिलेसन्स नामक थिंकट्यांकको वेबसाइटमा जेनिफर हिलम्यान र एलेक्स टिप्पेटले लेखेका छन् ।
कम्प्रिहेन्सिभ यान्ड प्रोग्रेसिभ अग्रीमेन्ट फर ट्रान्स–प्यासिफिक पार्टनरशिप (सीपीटीपीपी) मा सहभागी हुने संकेत अमेरिकाले दिएको छैन जबकि चीनले त्यसको सदस्य बन्न निवेदन दिइसकेको छ । त्यसबाहेकका अन्य क्षेत्रीय आर्थिक साझेदारीका लागि बाइडन प्रशासनले धेरै चासो दिएको देखिँदैन । त्यसले गर्दा पनि अमेरिकाको अर्थतन्त्रमा सुधार ल्याउनका लागि अप्ठ्यारो भइरहेको छ ।
कोरोनाभाइरस, जलवायु परिवर्तन, अर्थतन्त्र तथा जातीय समानता– यी चारवटा समस्याको समाधान गर्ने प्रतिज्ञा गर्दै बाइडनले प्रशासन सम्हालेका थिए । तर यी कुनैमा पनि उनले देखिने गरी उल्लेख्य परिणाम दिन नसकेकाले अमेरिकी जनता उनीबाट निराश बनेको देखिन्छ ।
बाइडनले क्रान्तिकारी कदम नचालेमा जनताको यो निराशा आगामी वर्ष हुने मध्यावधि निर्वाचनमा समेत झल्किने र डेमोक्रेटिक पार्टीलाई क्षति गर्ने सम्भावना छ ।
बाइडनले कमजोर प्रदर्शन गरिरहेकाले पूर्व राष्ट्रपति ट्रम्प पनि सन् २०२४ को राष्ट्रपति निर्वाचन लड्नका लागि उत्साहित देखिएका छन् ।