१४ असार २०८३, आइतबार

एमालेको महाधिवेशन नारायणी किनारमा, सौराहामा बन्द सत्र हुने

कात्तिक ८, २०७८
एमालेको महाधिवेशन नारायणी किनारमा, सौराहामा बन्द सत्र हुने

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । आगामी मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले दुई स्थान सिफारिस गरेको हो । 

एमाले चितवनका अध्यक्ष पार्वती रावलले महाधिवेशनको तयारी शुरुआत भएको जानकारी दिइन् । यसका लागि स्थानको स्थलगत अवलोकन गर्ने काम भइरहेको उनले बताए । ‘महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहामा गर्ने गरी केन्द्रलाई आज सिफारिस पठाउँदैछौँ,’ उनले भनिन् । 

उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने भएकोले नारायणी नदी किनारको खुल्ला ठाउँ छनोट गरिएको उनको भनाइ छ । सर्वसाधारणलाई सहज हुने गरी उक्त ठाउँ उद्घाटन सत्रका लागि उपयुक्त हुने रावलले बताइन् । 

यस्तै महाधिवेशन प्रतिनिधि अधिकांशलाई सौराहामा आवासको व्यवस्था हुने भएकाले बन्द सत्र सोही ठाउँमा गर्न सहज हुने गरी सिफारिस गर्न लागिएको उनले बताइन् । उनले भनिन्, ‘महाधिवेशन प्रतिनिधि अधिकांशलाई हामीले सौराहामा आवासको व्यवस्था गर्दैछौँ, त्यही बन्द सत्र भयो भने सहज हुन्छ ।’

अधिवेशनकै सन्दर्भमा आइतवार नारायणी नदी किनार र सौराहाको स्थलगत अवलोकन गरिएको अध्यक्ष रावलले जानकारी दिइन् । 

एमाले नेता सुरेन्द्र पाण्डे, काशीनाथ अधिकारीलगायतकाको उपस्थितिमा अवलोकन गरिएको हो । यस्तै पार्टीका नेताले सौराहाका होटल व्यवसायीसँग महाधिवेशनको उपयुक्त ठाउँको बारेमा छलफल भएको जनाइएको छ । 

व्यवसायी सकारात्मक रहेको र सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको उनको भनाइ छ । यसैगरी आइतवार नै जिल्लाका सुरक्षा निकायका प्रमुखसँग पनि महाधिवेशनका सन्दर्भमा छलफल भएको छ । 

९० वडामा सर्वसम्मत अधिवेशन

यसैबीच एमाले चितवनले जिल्लाका ९८ मध्ये ९० वडा वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । आठ वडामा सर्वसम्मत हुन सकेको छैन । ती वडामा पनि सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न गृहकार्य भइरहेको अध्यक्ष रावलले बताउनुभयो । 

यही कात्तिक ५ गते सम्पन्न वडा अधिवेशनमा भरतपुर महानगरका तीन वडा, खैरहनी नगरपालिकामा तीन, कालिका नगरपालिका दुई वडाबाहेक अन्य वडामा सर्वसम्मत भएको हो । उनका अनुसार यही कात्तिक ९ गते जिल्लाका सात पालिकामध्ये ६ पालिकाको अधिवेशन हुनेछ । भरतपुर महानगरपालिकाको भने केही दिनपछि अधिवेशन गर्ने तयारी गरिएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्