२५ असार २०८३, बिहीबार
सीको रणनीति

चिनियाँ कम्युनिस्ट पार्टीको तेस्रो ऐतिहासिक संकल्पको तयारीमा सी, बढाउलान् आफ्नो कार्यकाल ?

कात्तिक १०, २०७८
चिनियाँ कम्युनिस्ट पार्टीको तेस्रो ऐतिहासिक संकल्पको तयारीमा सी, बढाउलान् आफ्नो कार्यकाल ?

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको छैटौं प्लेनरी सत्र नोभेम्बर ८ देखि ११ सम्म आयोजना गरिने कार्यक्रम छ । उक्त सत्रमा ‘तेस्रो ऐतिहासिक संकल्प’ लिइने र त्यसले राष्ट्रपति सी चिनपिङको नेतृत्व र विरासतलाई थप बलियो बनाउने अपेक्षा छ । 

पार्टीले पहिलो दुईवटा ऐतिहासिक संकल्प सन् १९४५ र १९८१ मा लिएको थियो । त्यतिखेर माओ चतोङले चीनलाई दह्रो गरी उभ्याउने र तङ स्याओपिङले चीनलाई धनी बनाउने संकल्प लिएका थिए । 

पर्यवेक्षक तथा विश्लेषकहरूले तेस्रो ऐतिहासिक संकल्पमार्फत सांस्कृतिक क्रान्तिको आधिकारिक ऐतिहासिक भाष्यलाई पुनःस्थापना गरिने अपेक्षा गरेका छन् । त्यसले सीको ‘साझा समृद्धि’ अभियानलाई मार्गनिर्देश गर्ने अपेक्षा छ । कतिपयले त्यसलाई सांस्कृतिक क्रान्ति भाग दुई भनिरहेका छन् । 

चीनमा घरजग्गा व्यवसाय समस्यामा परेको, आर्थिक वृद्धि सुस्त भएको, विद्युत् आपूर्ति कटौती भएको र प्रविधि तथा अन्य कम्पनीमा नियामक संस्थाले लगाम कसिरहेको स्थितिमा यो महत्त्वपूर्ण योजना सत्र राखिन लागेको हो । 

यी पछिल्ला संकटहरूले सीको सुदृढ नेतृत्व तथा शक्तिमा पकडका विषयमा प्रश्न उठाएका छन् । यसैको मद्देनजर सीले चिनियाँ कम्युनिस्ट पार्टीका पुराना नेताहरूसँग जोडिएका गुटसँग निश्चित सम्झौता गरेका छन् । सीको ऐतिहासिक संकल्पको घोषणामा समर्थन जुटाउनका लागि यस्ता सम्झौता गरिएका हुन् । 

च्याङ चमिन वा हु चिन्ताओको नेतृत्वमा ऐतिहासिक संकल्प नलिइएको कुरालाई टिप्पणीकारहरूले विचार गरेका छन् । तर यी दुई पुराना नेताको प्रभाव चिनियाँ कम्युनिस्ट पार्टीमा अझैसम्म कायम छ । 

पार्टीले राष्ट्रिय महाधिवेशन पाँच वर्षमा एकपटक बेइजिङमा गर्ने गरेको छ । त्यसमा पार्टीका दुई हजारभन्दा बढी प्रमुख सदस्यहरू उपस्थित हुन्छन् । त्यसको एक वर्षअघि लगभग २०० सदस्य सहितको केन्द्रीय कमिटीको छैटौं प्लेनरी सत्र बस्ने गर्छ । राष्ट्रिय महाधिवेशनभन्दा अघि महत्त्वपूर्ण व्यक्ति तथा नीतिका विषयमा निर्णय लिन उक्त सत्र राखिन्छ । 

अक्टोबर १८ मा सीले अध्यक्षता गरेको केन्द्रीय कमिटीको पोलिटब्युरो बैठकले पार्टीको तेस्रो ऐतिहासिक संकल्पको मस्यौदा तयार पार्नका लागि विचारहरू संकलन गर्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यसलगत्तै आगामी प्लेनरी सत्रमा विचारविमर्शका लागि एक मस्यौदा बुझाइएको सरकारी सञ्चारमाध्यमहरूले खबर दिएका छन् । 

चीनका कम्युनिस्ट नेताहरू माओ, तङ, च्याङ र हु सबैले पार्टीको लामो संघर्षका क्रममा भएका क्रान्ति, निर्माण तथा सुधारमा विशाल उपलब्धि हासिल गरेको भनी बैठकले जोड दिएको छ । 

सन् २०१२ को नोभेम्बर महिनामा चिनियाँ कम्युनिस्ट पार्टीको १८औं महाधिवेशनदेखि सी केन्द्रमा रहेको केन्द्रीय कमिटीले पार्टी तथा जनतालाई एकताबद्ध गरेको र नेतृत्व लिएको अनि चिनियाँ विशेषताको समाजवादको शक्तिलाई विश्वसामु प्रस्तुत गरेको अक्टोबर १८ को बैठकले निष्कर्ष निकालेको छ । 

पार्टीको पहिलो ऐतहासिक संकल्प माओले सन् १९४५ को अप्रिल महिनामा लिएका थिए । त्यसको दुई वर्षअघि उनी वाङ मिङ र बो गु लगायतका राजनीतिक प्रतिस्पर्धीलाई पन्छाएर पार्टीको सर्वोच्च नेता बनेका थिए । उक्त संकल्पमा माओले सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको समयदेखि नेताहरूले वामपन्थी र दक्षिणपन्थी निर्णय लिएको विषयलाई आलोचना गरेका थिए । 

दोस्रो ऐतिहासिक संकल्प तङले सन् १९८१ को जुन महिनामा लिएका थिए । माओका उत्तराधिकारी ह्वा क्वोफङलाई हटाएर तङ सन् १९७८ को डिसेम्बर महिनामा शीर्ष नेता बनेका थिए । त्यसक्रममा कुनै नेताको आजीवन कार्यकालको प्रावधान हटाइएको थियो र पार्टीका वरिष्ठ सदस्यहरूका लागि निवृत्तिभरणको व्यवस्था मिलाइएको थियो । 

तङको संकल्पमा नयाँ चीनको संस्थापनामा माओको योगदानको प्रशंसा गरिएको थियो तर उनले सन् १९६६ मा सांस्कृतिक क्रान्ति शुरू गर्ने माआको ‘गलत निर्णय’ को आलोचना पनि गरेका थिए । 

सीको शासनकालमा तेस्रो संकल्प जारी गर्ने प्रस्ताव मिन्जु विश्वविद्यालयका विद्वान् चाङ होङल्याङले पहिलोपटक सन् २०१५ को जनवरी महिनामा प्रकाशित एक लेखमा गरेका थिए । 

‘पहिलो ऐतिहासिक संकल्पपछि चिनियाँ कम्युनिस्ट पार्टीले नयाँ चीन र समाजवादी व्यवस्थाको स्थापना गरेको थियो । दोस्रो संकल्पपछि चीनले सुधार र खुलापन अपनायो,’ चाङले लेखे । उनी माओवादप्रति सकारात्मक धारणा राख्छन् । ‘चीन अहिले राष्ट्रिय पुनर्जागरणको तेस्रो चरणमा प्रवेश गरेकाले पार्टीले तेस्रो ऐतिहासिक संकल्प जारी गर्नुपर्छ ।’

चिनियाँ कम्युनिस्ट पार्टीको अतिवादी दक्षिणपन्थी गुटले सांस्कृतिक, शैक्षिक र सञ्चारमाध्यम क्षेत्रलाई नियन्त्रणमा लिएको र सीसँग राम्रो सहकार्य नगरेको चाङले लेखे । दक्षिणपन्थी गुटले केही अवसरवादीहरूसँग साँठगाँठ गरेर वामपन्थी गुटलाई कठोर दमन गरेको उनको भनाइ छ । अवसरवादीहरूले जनतामा उग्रवादी सोच उत्पन्न गराएको आरोप पनि उनले लगाए । 

मार्क्सवादमा आधारित ऐतिहासिक संकल्प पार्टीले त्यसबेलामा पारित गर्न नसकेको किनकि दक्षिणपन्थीहरूले त्यसमा आपत्ति जनाएको उनले लेखे । तर यस्तो संकल्प जारी गर्नका लागि परिस्थिति निर्माण गर्नु लागिरहनुपर्ने उनको भनाइ छ । चाङको आह्वानलाई त्यतिखेर कसैले पनि वास्ता गरेन तर नोभेम्बर महिनामा छैटौं प्लेनरी सत्रले तेस्रो ऐतिहासिक संकल्प जारी गर्ने घोषणा गत अगस्ट ३१ मा आयोजित पोलिटब्युरो बैठकले गरेको थियो । 

विश्लेषक तथा टिप्पणीकारहरूले तेस्रो ऐतिहासिक संकल्पमा चारवटा महत्त्वपूर्ण बुँदाहरू समावेश गरिने अपेक्षा राखेका छन् : माओका उपलब्धिहरूको पुनरावृत्ति, चीनको सुधार तथा खुलापनमा तङले पाएको सफलताको पुष्टि, सांस्कृतिक क्रान्तिलाई वामपन्थी विफलता नभनी पार्टीले महत्त्वपूर्ण अनुभव हासिल गर्न उठाएको मेहनती कदमका रूपमा पुनर्परिभाषित गर्ने काम र चिनियाँ विशेषतासहितको समाजवादी यात्रामा सीको उपलब्धिको पुष्टि । 

अरूभन्दा पनि चौथो बुँदा बढी महत्त्वपूर्ण छ र त्यसले सीलाई आफ्नो कार्यकाल पाँच वर्ष थपेर सन् २०२८ सम्म पुर्‍याउनका लागि आधार दिनेछ । उनले हालै ल्याएको साझा समृद्धि नीतिमार्फत आफ्नै किसिमको सांस्कृतिक क्रान्ति लागू गर्न यसले आधार दिनेछ । 

सीले तेस्रो ऐतिहासिक संकल्प जारी गर्न तथा आफ्नो कार्यकाल थप पाँच वर्षका लागि बढाउन पार्टीका पुराना नेताहरूको गुटसँग उल्लेख्य सम्झौता गरेको टिप्पणीकारहरू बताउँछन् । व्यापारी ज्याक मालाई देशबाहिर जान दिने अनुमति पनि उनले ती गुटहरूलाई खुशी बनाउनका लागि दिएको बताइएको छ । 

अगस्ट १७ मा सीले चिनियाँ कम्युनिस्ट पार्टीको वित्तीय तथा आर्थिक मामिला समितिको बैठकमा सम्बोधन गर्दै सीले एक एक कदम चाल्दै साझा समृद्धिको अभियानलाई अघि बढाउने अनि औद्योगिकीकरणपछि केही विकसित मुलुकहरूमा देखिएको आयमा असमानताको समस्यालाई नदोहोर्‍याउने बताएका थिए । 

एसिया टाइम्समा प्रकाशित जेफ पाओको लेखलाई लोकान्तरका लागि विन्देश दहालले अनुवाद गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्