२६ असार २०८३, शुक्रबार
सर्वाेच्च विवाद

यसरी कति दिन चल्छ सर्वाेच्च न्यायालय ?

कात्तिक १०, २०७८
यसरी कति दिन चल्छ सर्वाेच्च न्यायालय ?

सहकर्मी न्यायाधीशहरूले इजलास बहिष्कार गरेको अवस्थामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले एकल इजलासमा बुधवार ५ थान मुद्दाको सुनुवाइ गरे ।

गत सोमवार र मंगलवार आफूबाहेक उनले इजलासको पेशी तोक्दै आएका थिए तर सहकर्मी न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका थिए ।

सुनुवाइ नै ठप्प भएको अवस्थामा उनी आफैंले एकल इजलास तोकेर बुधवार ५ वटा मुद्दामा आदेश गरेर न्यायालय ठप्प नरहेको सन्देश दिन खोजेका छन् ।

जबराको इजलासमा सन्तोषकुमार पाण्डेको मुद्दा तामेलीमा राख्ने निर्णय गरिएको छ । उनले लुम्बिनी प्रदेशका सभामुखविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए ।
 
भुवनकुमार दाहालले मधुकुमारी चौधरीलाई विपक्षी बनाएर दर्ता गरेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा निवेदन फिर्ताको आदेश जबराको इजलासबाट भएको छ । प्रधानन्यायाधीश जबराले अर्को २ वटा बन्दीप्रत्यक्षीकरण मुद्दामा कारण देखाऊ आदेश जारी गरेका छन् ।
 
कालोबजारी तथा अन्य केही सामाजिक अपराधसम्बन्धी मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश जबराको इजलासबाट भएको छ । प्रधानन्यायाधीश राणाले बुधवार ११ वटा इजलास तोकेका थिए । 

सहकर्मी सम्पूर्ण न्यायाधीशहरू, नेपाल बार एशोसिएसन, सर्वोच्च बार एशोसिएसन, पूर्व न्यायाधीश फोरम, बहालवाला न्यायाधीश समाजसहित न्याय तथा कानून क्षेत्रका सबै सरोकार राख्ने संस्थाले जबराको राजीनामा माग गरिरहेको अवस्थामा उनले एक्लै भए पनि न्यायालय सञ्चालन गर्ने प्रयत्न गरेका छन् । के उनी एक्लै इजलास तोकेर सर्वाेच्च न्यायालय सञ्चालन गर्न सक्छन् ?

महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की त्यो प्रश्न प्रधानन्यायाधीशलाई नै सोध्नुपर्ने बताउँछन् । ‘प्रधानन्यायाधीशको पद भनेको सम्पूर्ण न्यायालय, न्यायाधीश, न्यायिक जगतकै पनि प्रधानन्यायाधीश हो, त्यसकारण नियमित रूपमा सबैलाई विश्वासमा लिएर सबैको चित्त बुझाएर न्यायालय सञ्चालन गर्नुपर्ने दायित्व संविधानले नै प्रधानन्यायाधीशलाई सुम्पिएको छ,’ उनले भने, ‘अहिले सम्माननीय प्रधानन्यायाधीशज्यूले के गरिरहनुभएको छ वा गराइरहनुभएको छ, त्यसबाट उहाँले प्रधानन्यायाधीशको सम्पूर्ण जिम्मेवारी र दायित्व पूरा गर्नुभएको छ कि छैन भन्ने कुरा त उहाँ स्वयम्ले भन्नुपर्छ,’ वरिष्ठ अधिवक्ता कार्कीले लोकान्तरसँग भने, ‘उहाँले आफ्नो मात्र इजलास चलाएको भरमा प्रधानन्यायाधीशको जिम्मेवारी पूरा हुँदैन । यसरी नै एक्लै इजलास सञ्चालन गरेर सम्पूर्ण न्यायालय चल्ने हो भने त चलाउनुस् न, चलाएर देखाउनुपर्‍यो नि ! के अहिले जसरी उहाँले न्यायालय चलाए, यसरी नै चलाउँछु भनेर भन्ने हो भने के संविधान बमोजिम न्यायालय अहिले चलेको छ त भन्ने प्रश्नको पनि उहाँले जवाफ दिनुपर्छ ।’

प्रधानन्यायाधीशले दिएको अन्तर्वार्ता हेर्दा र सुन्दा प्रधानन्यायाधीश नभएर एउटा व्यक्ति चोलेन्द्र शमशेर जबराले मात्र बोलेको टिप्पणी उनले गरे । ‘त्यो अन्तर्वार्ता सुन्दा देशको सम्माननीय प्रधानन्यायाधीशले जिम्मेवारी पूरा गरेको कुनै पनि हालतमा देखिन्न,’ उनले थपे, ‘यसरी त यसअघिका कुनै पूर्ववर्ति प्रधानन्यायाधीशले न्यायालय चलाएका थिएनन्, मैले देखिनँ पनि ।’

अहिलेको स्थिति हुनु अत्यन्त दुर्भाग्यपूर्ण रहेको उनले प्रतिक्रिया दिए । ‘उहाँले जतिसक्दो छिटो निकास दिनुहुन्छ, त्यसैमा उहाँले धारण गरेको पदको मर्यादा रहन्छ, न्यायपालिकाको प्रतिष्ठा पनि कायम रहन्छ,’ कार्कीले भने ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गरेको सर्वोच्च अदालत बारका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य एक जना न्यायाधीशको भरमा मात्र न्यायालय सञ्चालन नहुने बताउँछन् । ‘प्रधानन्यायाधीश एक जनाले मात्र एकल इजलास सञ्चालन गरेर न्यायालय सञ्चालन गर्न सक्नुहुन्न,’ शाक्यले लोकान्तरसँग भने, ‘कारण देखाऊ आदेश र सो कजबाहेक उहाँले केही गर्न सक्नुहुन्न, यसरी न्यायालय चल्दैन ।’

जबराले निकास नदिए नेपाल बार एशोसिएसनले थप आन्दोलनको कार्यक्रम ल्याउने उनले बताए । यसरी कहिलेसम्म न्यायालय चल्ने हो भन्ने प्रश्नमा उनले भने, ‘यो त हामीले कसरी अनुमान गर्ने हो, प्रधानन्यायाधीशले जुन बेला राजीनामा दिएर निकास दिनुहुन्छ त्यही दिनदेखि सबै कुरा ठीक हुन्छ ।’

जतिचाँडो राजनीतिक दलले जिम्मेवारी लिने हो, त्यति छिटो निकास निस्किने उनले बताए । ‘हामीले दिएको दबाबले पनि काम गरिरहेको छैन भने दलले जिम्मेवारी लिनुपर्छ,’ उनले थपे, ‘कि त दलले भन्नुपर्‍यो कि प्रधानन्यायाधीश एक जना मात्र ठीक छन् र बाँकी सबै न्यायाधीश र हामी सबै वकिल बेठीक छौं ।’ नभए निकासको लागि दलहरूले नै पहल गर्नुपर्ने उनको कथन छ ।

नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शम्भु थापा भने प्रधानन्यायाधीशको व्यक्तिगत कुरा रहेको बताउँछन् । ‘उहाँले आज एकल इजलास तोकेर ५ वटा मुद्दाको सुनुवाइ गर्नुभयो वा अन्य डिभिजनल बेन्च तोक्नुभयो भन्ने भन्दा पनि के सर्वोच्च अदालतको सबै इजलास सञ्चालन भयो त भन्ने प्रश्न महत्त्वपूर्ण छ,’ थापाले लोकान्तरसँग भने, ‘उहाँमाथि लागेको गम्भीर आरोपको जवाफ उहाँले सहकर्मी न्यायाधीशलाई दिन सक्नुभएको छैन, न त वकिललाई नै दिनुभएको छ ।’ उनले एक्लै इजलास सञ्चालन गर्नु ठूलो कुरा नभएको उनले बताए ।

पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले भने, ‘सबैले अविलम्ब राजीनामा मागेको छ, सहकर्मी न्यायाधीशहरूले बेन्च बहिष्कार गरेको छ । नेपाल बार, सर्वोच्च बार समेतले राजीनामा माग गरेर आन्दोलन गर्ने घोषणा गरिसकेको अवस्थामा एकल इजलास सञ्चालन गरेर जान्छु भन्नु उहाँको लागि नै प्रत्युत्पादक हुनेछ ।’

अहिले तत्काल राजीनामा गरेर मार्गप्रशस्त गर्न सबैले भनिरहेका र राजीनामा लम्बिँदा वकिलले पनि बेन्च बहिष्कार गर्ने अवस्था आउन सक्ने बताउँदै श्रेष्ठले लोकान्तरसँग भने, ‘आज जस्तै फेरि आगामी दिनमा उहाँले एकल इजलास सञ्चालन गर्न खोज्नुभयो भने कर्मचारीले नै असहयोग गर्ने अवस्था पनि आयो भने उहाँले कसरी सुनुवाइ गर्न सक्नुहोला र ?’

जबराको बलमिच्याइँ तथा ढिपीले उनको व्यक्तित्वलाई नै थप क्षति पुर्‍याउने र त्यसले न्यायालयलाई पनि झन् झन् क्षतिग्रस्त बनाउने हुँदा तत्काल राजीनामा गरेर आफ्नो बाँचेको प्रतिष्ठा जोगाउनतर्फ लाग्नुपर्ने उनको सुझाव छ । ‘उहाँको ढिपी तथा जिद्दीका कारण भोलि देशैभरका अदालतको काम कारवाही ठप्प हुन सक्छ भनेर नेपाल बारले घोषणा नै गरिसक्यो,’ उनले थपे, ‘उहाँलाई जस्तोसुकै अवस्थामा पनि प्रधानन्यायाधीश पद नै चाहिएको छ ।’

न्याय परिषद्मा न्यायाधीशउपर परेको उजुरीमाथि छानबिन शुरू हुन लाग्दा नै कतिपय न्यायाधीशले राजीनामा गर्ने गरेका बताउँदै उनले जबरामाथि धेरै प्रश्न उठेका आधारमा राजीनामा मागिएको बताए ।

‘न्यायाधीश पदको नै लोभ हो भने पनि उहाँले ३० वर्ष जति न्यायाधीश पदमा जागिर खाइसक्नुभयो, प्रधानन्यायाधीशमै पनि ३ वर्ष त खाइसक्नुभयो, अब बाँकीको समय त दीपकराज जोशीको भागको न जागिर खाइरहनुभएको छ,’ श्रेष्ठले भने, ‘जागिर नै खानुछ भने राजीनामा उहाँले नै भागबण्डा लिएर अरुलाई संवैधानिक निकायमा नियुक्ति सिफारिस गरे जस्तै सेवा निवृत्त भएपछि राष्ट्रिय मानव अधिकार आयोगको प्रमुख आयुक्त पदको जागिर खान सक्नुहुन्छ ।’

अहिले उनको विरोधमा केही मात्र कुराहरू सतहमा आएका र आगामी दिनमा झन् झन् भित्री कुराहरू बाहिर आयो भने समाजमा मुख देखाउन पनि लाज लाग्ने अवस्था आउनसक्ने तर्फ उनले संकेत गरे । ‘बलपूर्वक एक्लै पदमा जबरजस्ती बस्छु भनेर समय व्यतित गर्न खोजे भोलि उहाँकै लागि झन् नकारात्मक माहोल बन्दै जानेछ, त्यस्तो अवस्थामा उहाँकै लागि पनि थप प्रत्युत्पादक स्थिति बन्ने निश्चित छ,’ श्रेष्ठले लोकान्तरसँग भने ।

salt training

कमेन्ट गर्नुहोस्