कोरोना भाइरस न्यून हुँदै आएको बेला कपिलवस्तुमा झाडापखाला देखा पर्यो । गत असोज १८ गतेबाट शुरू भएको झाडापखाला अझै पूर्ण रूपमा नियन्त्रणमा भने आउन सकेको छैन ।
कृष्णनगर नगरपालिका–९ बाट शुरू भएको झाडापखाला शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकाका नागरिकमा समेत लक्षण देखा परी अस्पतालमा भर्ना भएका थिए । प्रयोगशालामा परीक्षण गर्दा उनीहरूमा हैजा भएको प्रमाणित भएको थियो ।
हालसम्म जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार शिवराज अस्पताल बहादुरगञ्जमा १ हजार ३३२, वैदौली अस्पतालमा ६१ र शिवराज आधारभूत अस्पतालमा ६ जना उपचारको लागि भर्ना भएका थिए ।
अहिले पनि दैनिक १० जनाभन्दा बढी उपचारत रहेका शिवराज अस्पताल बहादुरगञ्जका स्वास्थ्यकर्मीको भनाइ छ । हालसम्म जिल्लामा ६ जनाको झाडापखालाकै कारण मृत्यु समेत भएको छ ।
अस्पतालमा हालसम्म कसैको ज्यान नगएको स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्यांकमा छ ।
‘केही दिन कम भएको थियो, पछिल्लो समय फेरि दैनिक ८–१० जना बिरामी आउने गरेका छन्,’ शिवराज अस्पतालका डा. मुकेश चौधरीले भने, ‘अझै पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन, पहिलाको तुलनामा केही कम भएको छ ।’
गाउँमा बान्ता र पखलाका बिरामी अहिले पनि रहेका छन् । शिवराज नगरपालिका–७, ८ का गाउँमा झाडापखाला देखा परे पनि अहिले नियन्त्रण रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चूडामणि भट्टराईले बताए ।
स्वास्थ्य कार्यालय कपिलवस्तुले खोपको लागि तयारी गरिरहेको जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले बताए । साढे २ लाख खोप विश्व स्वास्थ्य संगठनले दिने निर्णय भइसकेको र खोप आउनासाथ कार्यक्रम लागू गरिने पाण्डेले बताए ।