
लुम्बिनी बौद्ध विश्वविद्यालयले १७औं विश्वविद्यालय दिवसको अवसरमा प्रथम त्रियान प्रज्ञा सम्मेलन गर्ने भएको छ ।
बौद्ध संस्कृति र समृद्धि तथा बौद्ध शिक्षा शिक्षण पद्धतिमा केन्द्रित रहेर त्रियान सम्मेलन गर्न लागिएको हो ।
विक्रम संवत् २०६१ सालमा स्थापना भएको विश्वविद्यालयले मंसिर १३ गतेदेखि १७औं विश्वविद्यालय दिवस मनाउने भएको हो ।
विश्वविद्यालयले शुक्रवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा त्रियान प्रज्ञा सम्मेलन सहितका कार्यक्रमको विषयमा विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यले जानकारी दिए ।
उनले नेपालमा अभ्यास भइरहेका बौद्ध दर्शनका ३ बाटोको संस्कृतिलाई समृद्धिसँग कसरी जोडेर लैजाने भन्ने विषयमा सम्मेलन गर्न लागिएको जानकारी दिए । ‘थेरवाद र महायान बौद्ध दर्शनका २ पाटा हुन्, नेपालमा महायानभित्र पनि बज्रयानको संस्कृति छ । त्यो सबैलाई समृद्धिसँग जोड्न कसरी सकिन्छ भन्ने कुरा विज्ञमार्फत सम्मेलनमा मन्थन हुनेछन्,’ उनले भने ।
त्रियान प्रज्ञा सम्मेलनमा थेरवाद, महायान र बज्रयानको संस्कृति र समृद्धि विषयमा ६ जना विज्ञले कार्यपत्र प्रस्तुत गर्नेछन् । मंसिर १५ गते विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सम्मेलन हुनेछ ।
सम्मेलको दोस्रो खण्डमा बौद्ध शिक्षा र शिक्षण पद्धतिको विषयमा ३ विज्ञले कार्यपत्र प्रस्तुत गर्ने र सम्मेलनको घोषणापत्र मंसिर १६ मा जारी हुनेछ ।
स्थापना दिवसको मुख्य कार्यक्रम मंसिर १६ गते हुने र कार्यक्रममा राष्ट्रपतिको प्रमुख आतिथ्यता रहने रजिस्ट्रार आचार्यले जानकारी दिए । केन्द्रीय पुस्तकालयको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
पुस्तकालय ९ करोड २० लाखको लागतमा विश्वविद्यालयले निर्माण गरेको छ ।
विश्वविद्यालयका सूचना अधिकृत चुरामणि पोखरेलका अनुसार ३ तले पुस्तकालय भवनमा बैठक कक्ष, इ लाइब्रेरी, पुस्तक कक्ष, आइटी रुम, भिडियो कन्फ्रेन्स रुम र ५०० क्षमताको सभाहल रहेका छन् । सो अवसरमा विश्वविद्यालयले प्रकाशन गरेका ६ वटा पुस्तक लोकार्पण गर्ने कार्यक्रम रहेको छ ।
बुद्ध मूर्तिको अनावरण र सम्मान कार्यक्रम राखिएको छ । बौद्ध अध्ययन संकाय, मानविकी तथा सामाजिक शास्त्र र विकास अध्ययन तथा प्रायोगिक विज्ञान संकायअन्तर्गत विभिन्न विषय सञ्चालन भइरहेको छ ।