
कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)मा बिहीवारदेखि कोभिड–१९ का बिरामीलाई लक्षित गरी ‘नेसनल टेलिकल्सन्टेसन सेन्टर’ शुरू गरिएको छ ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको टेलिकल्सन्टेसन सेन्टर बिहीवार युनिफाइड अस्पतालदेखि शुरू गरिएको हो ।
विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा टेलिकल्सन्टेसन सेन्टर शुरू गरिएको हो ।
अस्पतालमा निमित्त प्रमुख प्रशासकीय अधिकृत डा. भूपेन्द्रकुमार बस्नेतले कोभिड–१९ का बिरामीलाई फोनबाट नै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले टेलिकल्सन्टेसन सेन्टर शुरू गरिएको बताए ।
उनले कोभिड–१९ सम्बन्धी समस्या र जिज्ञासा सुनेर फोनबाटै परामर्श गर्नका लागि टेलिकल्सन्टेसन सेन्टर शुरू गरिएको जानकारी दिए । सेन्टरबाट स्वास्थ्य सेवा लिनका लागि ११३३ मा फोन गर्नुपर्ने हुन्छ ।
सेन्टरमा आएका समस्यालाई चिकित्सकले फोनबाट समाधान गर्नुका साथै बिरामीको मोबाइल नम्बरमा समस्याको उपाय लेखेरसमेत पठाउने छन् । चिकित्सकले बिरामीलाई कस्तो समस्या रहेको छ सोहीअनुसार अस्पताल जान वा घरमै बसेर उपचार गर्न सल्लाह दिन्छन् ।
टेलिकल्सन्टेसन सेन्टरमा २४ घण्टा सञ्चालन हुनेछ । ३ सिफ्टमा सञ्चालन हुने टेलिकल्सन्टेसन सेन्टरमा अहिले १ सिफ्टमा १ जना चिकित्सक र २ जना पारामेडिसिने छन् । टेलिकल्सन्टेसन सेन्टरमा अहिले एकैपटकमा ३ जना व्यक्तिले फोन गरी सेवा लिनसक्ने छन् ।
टेलिकल्सन्टेसन सेन्टर शुभारम्भ समारोहमा विश्व स्वास्थ्य संगठन नेपालमा प्रमुख राजेश पाण्डवले अस्पताल आउन नसक्ने बिरामीलाई टेलिकल्सन्टेसन सेन्टरले सहयोग पुर्याउने बताए ।
मन्त्रालयमा २०७६ चैत ११ गतेदेखि कोभिड–१९ लाई लक्षित गरी कलसेन्टर सञ्चालन गरिएको थियो । कोभिड–१९ सँग सम्बन्धित दैनिक ७ हजार जिज्ञासा आउने गरेको चिकित्सक डा. नवराज जोशीले जानकारी दिए ।