बेलायतमा रहेकी एक महिला एभी टूम्ब्सले आफूलाई जन्मन दिएको भन्दै आमाकी चिकित्सकविरुद्ध अदालतमा मुद्दा दायर गरेकी छन् ।
लन्डन उच्च अदालतले टूम्ब्सको पक्षमा फैसला गर्दै चिकित्सकको लापरवाहीका कारण उनको शरीरमा समस्या रहेकाले लाखौं पाउन्ड बराबरको क्षतिपूर्ति तिराउन आदेश दिएको छ ।
२० वर्षीया घोडचढी महिला टूम्ब्सलाई स्पाइना बाइफिडा नामक रोग छ । उक्त रोग लागेको व्यक्तिको मेरुदण्ड जन्मको बेलामा राम्ररी विकसित भइसकेको हुँदैन ।
यस अवस्थाका कारण टूम्ब्सको शरीरमा दिनको चौबीसै घन्टा ट्युब राखिन्छ र उनले धेरै हिँडडुल गर्न पाउँदिनन् । उमेर बढ्दै जाँदा उनी ह्वीलचेयरमा आश्रित हुनुपर्नेछ ।
आफूलाई रोगी अवस्थामा पुर्याउनका लागि चिकित्सक जिम्मेवार रहेको भन्दै टूम्ब्सले मुद्दा दायर गरेकी हुन् । सन् २००१ मा जन्मेकी एभी आमाको गर्भमा रहँदा उनको स्वास्थ्यका विषयमा डा फिलिप मिचेलले उनकी आमालाई राम्ररी नबताएको आरोप टूम्ब्सले लगाएकी छन् ।
डा मिचेलले आमालाई फोलिक एसिड सप्लिमेन्टहरू लिनका लागि सल्लाह दिएनन् । त्यो लिएको भए स्पाइना बाइफिडाको जोखि कम हुने थियो ।
आमालाई सही सल्लाह दिएको भए बच्चा पाउने कामलाई स्थगित गर्ने वा बच्चा नै नजन्माउने निर्णय लिन सक्ने दाबी एभीले गरेकी छन् ।