
‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई बिहीवार बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर ल्याइएको छ ।
मच्छिन्द्रनाथलाई ६ महिना पाटन र अर्काे ६ महिना बुङ्मती राखिने चलन अनुसार दिउँसो तःबहाल ल्याइएको हो ।
मच्छिन्द्रनाथलाई ५ बजे मन्दिर भित्र्याइएको ३२ पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्यले बताए । उनले भने, ‘हामीले पौने ३ बजे बुङ्मतीबाट करुणामयलाई बोकेर हिडेका थियौं ।’
गुरुज्यूको पल्टनले सलामी दिएपछि ८ जना पूजारी अर्थात पानेजुले मच्छिन्द्रनाथलाई केही सुरक्षाकर्मीसहित बाजागाजा गरेर पाटन ल्याइएको मच्छिन्द्रनाथका मूल पुजारी कमलराज बज्राचार्यले बताए । उनले भने, ‘भगवानलाई पाटन ल्याउने ४ दिनअघिदेखि हामीले एक छाक चोखो खाएर आवश्यक नियम पालना गरेर बसेका थियौं ।’
मंसिर ९ गते आफूहरू बसेर हेरेको साइतअनुसार बिहीवार मच्छिन्द्रनाथलाई पाटन ल्याइएको मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले बताए । किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोंकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए ।
यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।