युक्रेनको विषयमा रुस र पश्चिमबीच तनाव बढिरहँदा परम्परागत युद्ध मात्र नभई आणविक युद्ध समेत हुने आशंका व्यक्त गरिएको छ । रुस आणविक हतियारसम्पन्न मुलुक भएकाले पश्चिमले यस्तो आशंका गरेको हो ।
पश्चिमले रुसमाथि आणविक हतियार प्रयोगको शंका गरिरहेको बेलामा अमेरिकाका रिपब्लिकन सिनेटर रोजर विकरलेरुसमाथि आणविक आक्रमण समेतको विकल्पलाई अमेरिकाले बेवास्ता गर्न नहुने गत साता बताए । सिनेट आर्म्ड सर्भिसेस कमिटीका दोस्रा सबभन्दा प्रभावशाली सदस्य विकरले अमेरिकी सैनिकहरूलाई रुसका छिमेकी मुलुकहरूको जमीनमा उतार्ने काम अनि आणविक कारवाही समेतलाई ‘रुल आउट’ गर्न नहुने भनाइ राखेका हुन् ।
अमेरिकाले स्पष्ट रूपमा आणविक हतियारको प्रथम प्रयोग नगर्ने (नो फर्स्ट युज) नीति लिएको छैन । यस विषयमा अमेरिकी अधिकारीहरूले विचार विमर्श चाहिँ गरिरहेका छन् ।
अमेरिकी संसद्को अनुसन्धान शाखा कंग्रेसनल रिसर्च सर्भिसको वेबसाइटमा उल्लेख गरिएअनुसार, बाइडन प्रशासनले गत जुलाई महिनादेखि न्युक्लीयर पोस्चर रिभ्यु अर्थात् आणविक हतियारको प्रयोग विषयक समीक्षा थालेको थियो । अध्ययनलाई सन् २०२२ को आरम्भसम्ममा टुंग्याउने बताइएको छ ।
यसमा अमेरिकाले शत्रुहरूलाई आक्रमण गर्नबाट रोक्न (डिटरेन्स) तथा साझेदारहरूलाई प्रतिरक्षाको प्रतिबद्धता व्यक्त गर्न कहिले, कसरी र किन आणविक हतियार प्रयोग गर्ने विषयमा समीक्षा गर्नेछ । युद्धको स्थितिमा अमेरिकाले आणविक हतियारको प्रथम प्रयोग कहिल्यै नगर्ने भनी प्रतिज्ञा गर्ने कि नगर्ने विषयमा समीक्षाले जोड दिएको छ ।
भनाइको मतलब, अमेरिकाले रुस र चीन जस्ता आणविक हतियारसम्पन्न मुलुकलाई रोक्नका लागि आफैं आणविक हतियार उपयोग गर्न सक्ने सम्भावना जीवितै छ । यस्तो स्थितिमा सिनेटर विकरको बयानलाई उनको निजी अभिव्यक्ति भनी सामान्य ठान्न मिल्दैन किनकि अमेरिकाको संस्थापन पक्ष नै आणविक हतियारको उपयोगलाई परहेज गर्ने सोच राख्दैन ।
लगभग दुई वर्षअघि अमेरिकाले रुससँग युद्धको स्थितिमा आणविक हतियार उपयोग गरिने नक्कली युद्ध (सिमुलेटेड) अभ्यास गरेको कुरा यहाँ स्मरणीय छ । द गार्डियन पत्रिकामा छापिएको खबरअनुसार, अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले पत्रकारहरूलाई सीमित दायरामा गरिने आणविक युद्ध (लिमिटेड न्युक्लीयर एक्सचेन्ज) का विषयमा त्यतिखेर जानकारी दिएको थियो ।
यसलाई अझै स्पष्ट पारौं । आणविक हतियारहरू दुई किसिमका हुन्छन् : ट्याक्टिकल र स्ट्राटेजिक । ट्याक्टिल हतियारले शत्रुको सीमित क्षेत्रमा विनाश मच्चाउँछन् भने स्ट्राटेजिक हतियारको दायरा विशाल हुन्छ । स्ट्राटेजिक हतियारलाई दुवै पक्षले उपयोग गरेमा यो ग्रहलाई नै समेत ध्वस्त पार्न पनि सक्छ ।
दुई वर्षअघि अमेरिकी सैनिकहरूले नेब्रास्कामा रहेको यूएस स्ट्राटेजिक कमान्डमा सीमित दायराको आणविक हतियार सहितको युद्ध अभ्यास गरेका थिए । त्यसमा तत्कालीन रक्षामन्त्री मार्क एस्पर समेत सहभागी थिए ।
रुससँगको युद्धको परिस्थिति कल्पना गर्दै रुसले नेटो सदस्य मुलुकको भूभागमा सीमित दायराको आणविक हतियार उपयोग गरेको खण्डमा अमेरिकाले आणविक हतियारमार्फत नै जवाफ फर्काउने अभ्यास त्यतिखेर गरिएको थियो ।
सीमित दायरामा प्रभाव पार्ने गरी आणविक हतियारमार्फत जवाफ फर्काउने भनी यहाँ सानो संख्याका आणविक हतियारको उपयोगलाई इंगित गर्न खोजिएको हो । त्यही प्रयोजनका लागि आन्ध्र महासागरमा अमेरिकाले सन् २०१९ मा पनडुब्बीबाट प्रक्षेपण गरिने डब्ल्यू७६–२ आणविक क्षेप्यास्त्र समेत तैनाथ गरेको छ ।
रुसले सीमित दायराको आणविक हतियार प्रयोग गर्न सक्ने आकलन गरेर अमेरिकाले उक्त तैनाथीलाई जायज ठहर्याएको छ ।
सन् १९८२ देखि १९९३ सम्म आणविक हतियारको प्रथम प्रयोग नगर्ने नीति रुसले अपनाएको थियो । तर सोभियत संघको पतनपछि परम्परागत शक्ति कमजोर बनेको अवस्थामा अमेरिकाले आफूलाई सिध्याइदेला भन्ने डरले गर्दा रुसले आणविक हतियारको प्रथम उपयोग गर्न सकिने नीति अपनायो ।
सन् २०२० को जुन २ मा रुस सरकारले आणविक निवारणका विषयमा एउटा दस्तावेज जारी गरेको थियो ।
प्रिन्सिपल्स अफ स्टेट पोलिसी अफ द रसियन फेडरेसन इन द स्फियर अफ न्युक्लीयर डिटरेन्स नामक ६ पृष्ठ लामो उक्त दस्तावेजमा रुसले विशेष परिस्थितिमा आणविक हतियारको उपयोग गर्न सक्ने उल्लेख गरिएको छ । रुसको भूमिमा ब्यालिस्टिक क्षेप्यास्त्र वा आणविक हतियार प्रयोग गरिएको खण्डमा वा रुसका हतियार प्रणालीलाई बेकामे बनाउने गरी आक्रमण गरिएमा रुसले आणविक हतियार उपयोग गर्ने स्पष्ट लेखिएको छ ।
रुससँग ४३ सयभन्दा बढी आणविक वारहेडहरू रहेको अनुमान गरिन्छ । अहिले रुस र पश्चिमबीच तनाव चर्किरहेको अवस्थामा जानाजान वा भूलवश आणविक हतियारको उपयोग गरिन सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।
हुन पनि रुसका परराष्ट्र राज्यमन्त्री सर्गे र्याबकोभले मंगलवार रुसको आरआईए समाचार संस्थासँग कुराकानी गर्दै पश्चिमले युरोपमा मध्यम दूरीको आणविक हतियारमाथि रोक नलगाएमा रुसले आणविक हतियार उपयोग गर्न सक्ने बताए । युक्रेन सीमाको तनाव घटाउनका लागि रुसले चाहेमुताबिक पश्चिमले गर्नुपर्ने विभिन्न पहलमध्ये यो हतियार प्रणालीमाथिको रोक पनि हो ।
५०० देखि ५५ सय किलोमिटर दायराका मध्यम दूरीका आणविक हतियारमा सन् १९८७ मा प्रतिबन्ध लगाइएको थियो । तत्कालीन सोभियत संघका नेता मिखाइल गोर्भाचोभ र अमेरिकाका राष्ट्रपति रोनल्ड रेगनले शीतयुद्धकालीन तनाव घटाउनका लागि प्रतिबन्ध सम्झौता गरेका थिए ।
तर सन् २०१९ मा अमेरिका उक्त सम्झौताबाट पछि हटेको थियो । रुसले जमीनबाट मार हान्ने क्रुज क्षेप्यास्त्रहरू विकसित गरिरहेको आरोप लगाउँदै अमेरिका सम्झौताबाट बाहिरिएको थियो ।
उक्त सम्झौतामा अमेरिका पुनः फर्किनुपर्ने र युरोपबाट मध्यम दूरीका क्षेप्यास्त्र हटाउनुपर्ने माग रुसले गरेको छ । अन्यथा आफूले परिस्थितिबमोजिम आणविक हतियार उपयोग गर्न सक्ने उसको भनाइ छ ।
आणविक हतियारको उपयोग आफैंमा भयावह हुन्छ । सीमित दायरामा प्रभाव पार्ने हतियारको असर पनि विशाल नै हुन्छ ।
आरटीमा प्रकाशित इस्तानबुलस्थित कोच विश्वविद्यालयका इतिहासकार तारिक सिसिल अमारको विश्लेषणमा उल्लेख भएअनुसार, आणविक हतियारको उपयोगले जनधनको ठूलो क्षति गर्नेछ र अहिले नै निकै बिग्रिसकेको वायुमण्डललाई दीर्घकालीन असर पर्ने गरी थप बिगार्नेछ । आणविक हतियारका कारण सीमित क्षेत्रमा नभई विश्वव्यापी रूपमा नै वातावरणीय क्षति पुग्ने तथ्यलाई विश्वका वैज्ञानिकहरूले औंल्याएका छन् ।
सीमित दायरको आणविक युद्धको अवधारणा नै मूर्खतापूर्ण रहेको अमार लेख्छन् । उनका अनुसार, आणविक हतियारहरूले शत्रु मुलुकका हतियार प्रणाली, सैन्य जत्था र शहरहरूलाई ध्वस्त पार्नेछ ।
त्यसपछि त्यो युद्ध कुनै दायरामा सीमित रहनेछैन । आक्रमण गरिएको मुलुकका अधिकारीहरूले अस्तव्यस्तता तथा आक्रोशको स्थितिमा आफ्ना हतियारहरू उपयोग गर्नेछन् अनि पूर्ण आणविक युद्ध चर्किनेछ ।
ठ्याक्कै यस्तै किसिमको परिस्थितिको परिकल्पना गत मार्च महिनामा प्रकाशित उपन्यास ‘२०३४ : ए नोभल अफ द नेक्स्ट वर्ल्ड वार’मा गरिएको छ । एलियट एकरम्यान र जेम्स जी स्टाभरिडिसले लेखेको उपन्यासमा अमेरिकाले चीनविरुद्ध परम्परागत हतियारमार्फत दबाब कायम गर्न नसकेपछि सीमित दायराको आणविक हतियार उपयोग गरेको अनि त्यसले अमेरिका आफैं र संसारमा विनाश मच्चाएको वर्णन गरिएको छ ।
रुस र पश्चिमबीचको तनाव कूटनीतिक माध्यमले अन्त्य नगरिएमा त्यस्तै परिदृश्य सन् २०२२ मा देख्न सकिने सम्भावना छ ।
अमेरिका र रुस जस्ता जिम्मेवार महाशक्तिहरूले त्यस्तो परिस्थितिको निर्माण नगर्लान् भन्ने अपेक्षा संसारले गरिरहेको छ ।