०३ असार २०८३, बुधबार

विशिष्ट आख्यानकार रमेश विकलको स्मृतिसभामा स्रष्टाहरू पुरस्कृत

विशिष्ट आख्यानकार रमेश विकलको स्मृतिसभामा स्रष्टाहरू पुरस्कृत

विशिष्ट आख्यानकार रमेश विकलको १४ औं स्मृति सभाका अवसरमा शनिवार राजधानीमा स्रष्टाहरूलाई  पुरस्कृत गरिएको छ । 

रमेश विकल साहित्य प्रतिष्ठानले गरेको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार भैरव रिसालले साहित्यसहित विविध क्षेत्रमा योगदान दिने स्रष्टाहरूलाई पुरस्कृत गरे । 

५० हजार रूपैयाँ राशिको विकल वाङ्‍मय पुरस्कार साहित्यकार प्राध्यापक डाक्टर चुडामणि बन्धुलाई प्रदान गरिएको छ । १५ हजार रूपैयाँ राशिको विकल समाजसेवा पुरस्कार डाक्टर रविन्द्र समीरलाई प्रदान गरियो । 

विकल सृजना पुरस्कार विमल निभा, विकल—सुशीला संघर्षशील नारी पुरस्कार लक्ष्मी प्रतिष्ठान, विकल बालसाहित्य पुरस्कार कार्तिकेय घिमिरे तथा विकल कलासंगीत पुरस्कार पूर्ण हेजुलाई प्रदान गरियो । यी सबै पुरस्कारको राशि नगद १० हजार रूपैयाँ हो । 

प्रतिष्ठानले विकलका रचनामा आधारित रही ‘बाल साहित्यमा नैतिक चेतना’ शीर्षकमा नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गर्ने देवकी आचार्यलाई ‘चन्द्र शेखर विकल शोध सम्मान’ अर्पण गरेको छ । 

त्यस्तै त्रिभुवन विश्वविद्यालयबाट दर्शनाचार्य (एमफिल) तहमा ‘विकलका कथामा अनुभूतिको संरचना’ शीर्षकका शोधकर्ता योगेश काफ्ले र ‘विकलका कथामा समाख्यानात्मक वाच्यत्व’ शीर्षककी शोधकर्ता शान्ति न्यौपाने (रिसाल) लाई पनि ‘चन्द्र शेखर विकल शोध सम्मान’ अर्पण गरिएको छ । 

सोही अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रिसालसहित वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष के के कर्माचार्य, उपाध्यक्ष प्राध्यापक डाक्टर हेमनाथ पौडेल, महासचिव विजय चालिसे, एमालेका नेता रामेश्वर फुयाल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, पुरस्कृत स्रष्टा प्राध्यापक डाक्टर चुडामणि बन्धु लगायतले विकलको बहुआयामिक व्यक्तित्वबारे चर्चा गरेका थिए । 

साथै उनीहरूले विकलको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए । 

 यसैबीच आजै सम्पन्न प्रतिष्ठानको १५ औं साधारण सभाले वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको अध्यक्षतामा रहेको अघिल्लो कार्य समितिलाई नै आगामी दुई वर्षका लागि निर्विरोध चयन गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्