०४ असार २०८३, बिहीबार

‘निर्माण क्षेत्र मूल्यवृद्धिको ठूलो मारमा छ, मूल्य समायोजन गरिनुपर्छ’

असार ३, २०८३
बुटवल
‘निर्माण क्षेत्र मूल्यवृद्धिको ठूलो मारमा छ, मूल्य समायोजन गरिनुपर्छ’

पश्चिमा देशमा चलेको युद्वका कारण निर्माण क्षेत्र मूल्यवृद्धिको ठूलो मारमा परेको भन्दै आयोजनाको मूल्य समायोजन गर्न निर्माण व्यवसायीले माग गरेका छन् । 

लुम्बिनी निर्माण व्यवसायी संघ, रूपन्देहीले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी विकास आयोजनाको मूल्य समायोजन गर्दै म्याद थप काम सकेर भुक्तानी नपाएका आयोजनको छिटो भुक्तानी गर्न माग गरेको हो । 

‘इस्टमेन्ट’ लागत भन्दा इन्धन, बिटुमिनजस्ता अत्यावश्यक निर्माण सामग्रीको मूल्य शत प्रतिशतसम्म वृद्धि भएको संघको दाबी छ । सँगै आयोजनाको काम सकेको एक वर्षसम्म समेत भुक्तानी सरकारले गर्न नसकेको उनीहरूको भनाइ छ । 

संघका कार्यवाहाक अध्यक्ष रमेश बेल्बासेले इन्धनसँगै बिटुमिन, सिमेन्ट, डण्डी लगायत निर्माण कार्यमा व्यापक प्रयोग हुने सामग्रीमा समेत मूल्यवृद्धि भएकाले व्यवसायी काम गर्न नसक्ने अवस्थामा पुगेको उल्लेख गरे । 

‘आयोजनाको इस्टमेन्टभन्दा दुई गुणा बढी मूल्य भयो, १०/२० प्रतिशत भएको भए हामीले कन्ट्रोल गर्थ्यौं’, बेल्बासेले भने, ‘यस्तो अवस्थामा मन्त्रीले व्यवसायीको खुट्टा भाँच्नुपर्छ भन्ने अभिव्यक्तिले निर्माण क्षेत्र त्रसित र आतंकित बन्न पुग्यो ।’ 

व्यवसायीहरू चरम आर्थिक तथा मानसिक दबाबमा परेका बेला भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालबाट व्यवसायीलाई धम्काउने अभिव्यक्ति आउनु दु:खद् भएको उनले बताए ।

निर्माण व्यवसायी महासंघका पूर्व केन्द्रीय अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद ऐनका कारण देशका विकास आयोजना समयमा नसकिने गरेको बताए । 

‘सरकारले सार्वजनिक खरिद ऐनलाई संशोधन गर्ने प्रयास गरेको छ । तर, त्यो पर्याप्त भएन । तयारीविनाको संशोधनको कामले गर्दा जुन उद्देश्यका साथ संशोधन गर्न खोजिएको हो त्यसको पनि तदारुकता देखिएन’, उनले भने ।

मन्त्रीको अभिव्यक्तिले निर्माण व्यवसायीलाई आतंकित बनाउने काम भएको सिंहको भनाइ छ । 

लुम्बिनी निर्माण व्यवसायी संघका सल्लाहकार जीवन कक्षपतिले आयोजनाको काम सकेको ८ महिनासम्म समेत सरकारी भुक्तानी पाउन नसकिएको बताए । 

‘हामीले आशा गरेका थियौं, अहिलेको सरकारले राहत पुर्‍याउनेछ । प्रधानमन्त्री र भौतिक पूर्वाधारमन्त्री इन्जिनियर भएकाले राहत पुग्ने आशा गरेका थियौं तर त्यसको उल्टो भइरहेको छ’, कक्षपतिले भने ।

रूपन्देहीमा राष्ट्रिय गौरव र ठूलो विकास आयोजना निर्माणाधीन छन् । आयोजनाहरूका लागि नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा, माटो) नपाएर बाहिरी जिल्लामा पुगेर महँगो मूल्य तिरेर ल्याउनुपर्ने अवस्था रहेको कक्षपतिले बताए ।

salt training

कमेन्ट गर्नुहोस्